५ वर्षपछि कोसीबाट बर्षे बाढी नभइ विजुलीको बाढी आउने उर्जामन्त्रीको उद्घोष

बिजमाण्डू
२०७३ फागुन ११ गते २०:३१ | Feb 22, 2017
विराटनगर।‘अब पाँच वर्षपछि कोसीमा बाढी आउने छैन बरु कोसीका सहायक नदीबाट निकालिएको बिजुलीको बाढी उर्लनेछ । यसपछि पुर्वी नेपालको सुनसरी र सप्तरी अनि भारतको विहार राज्यले बाढीको सन्त्रास खेप्नुपर्ने छैन ।’ऊर्जा मन्त्री जनार्दन शर्माले बुधबार विराटनगरमा विराट एक्स्पोको उद्घाटन समारोह उद्घाटन गर्दै भने।

Tata
GBIME
Nepal Life


‘कोसी नदी मधेसका नेपाली जनताका लागि आतङ्कका रूपमा छ’, मन्त्री शर्माले भने, ‘हाम्रै इच्छाशक्ति र योजनाको असफलताले यस्तो आतङ्क भएको हो । अब कोसीका मुख्य चार सहायक नदीहरू भोटेकोसी, तामाकोसी, अरुण र तमोरको पानीलाई त्यहीँ ताल्चा लगाएर बन्द गरिनेछ । त्यहाँबाट बिजुली निकालेर आतङ्कित पुर्वी नेपाललाई उज्यालो र समृद्ध बनाइनेछ ।’
 
पाँच वर्षपछि पूर्वाञ्चलले कम्तीमा पनि तीन हजार मेगावाट बिजुली पाउने घोषणा गर्दै ऊर्जा मन्त्रीले यसको खपतका लागि औद्योगिक परियोजना ल्याउन आग्रह गरे ।‘२/४ हजार मेगावाट विजुली खर्च गर्न तपाईंहरू तयार रहनु होस्’, शर्माले भने, ‘यसबाट तपाईंहरूको जीवनस्तर एक हजार गुना माथि उठ्नेछ ।’
 
कोसीका सहायक नदीमा निर्माण गरिने जलविद्युत् परियोजनाका लागि नेपाली जनताले नै लगानी गर्ने स्पष्ट पार्दै उनले नेपालीको लगानीले पुगेन भने मात्र अन्तर्राष्ट्रिय लगानीकर्तालाई आह्वान गरिने जानकारी दिए ।

कुनै पनि योजनाको सम्भाव्यता अध्ययन गर्न ७ र डिपिआर बनाउन ५ वर्ष अनि टेन्डर गर्न ५ र निर्माण पूरा गर्न १२ वर्ष गरी एउटा आयोजनालाई ३० वर्ष लागेको छ, उनले  भने, तर अब हामी पर्खने अवस्था छैनौँ।‘अब सम्भाव्यता अध्ययन र डिपिआरको काम १ वर्षमा पूरा गरिनेछ’, शर्माको दावी, ‘योजनाको काम पाँच वर्षमा सम्पन्न गरिने छ । संसार कहाँबाट कहाँ पुगिसक्यो । अब हामी पर्खने अवस्थामा छैनौँ ।’
 

उनले वैदेशिक रोजगारमा गएका नेपालका ५० लाख युवाले पठाएको रेमिट्यान्सलाई जलविद्युत्मा लगानी गरेर घुमाउरो पाराले उनीहरूलाई नेपालमै फर्काउने रणनीति आफूले तयार पारेको जानकारी दिए ।
 
नेपालको संविधान समाजवाद उन्मुख भएको र औद्योगिक क्रान्तिबिना समाजवाद सम्भव नहुने चर्चा गर्दै मन्त्री शर्माले ऊर्जाको विकास नभई औद्योगिकरण पनि नहुने विचार व्यक्त गरे ।
 
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले डेढ महिनायता बैङ्कहरूले चार पटक ब्याज बढाइसकेको गुनासो गर्दै सात प्रतिशतमा निर्धारण गरिएको ऋणको ब्याज १४ प्रतिशत पुगेको बताए।
 
महासंघ उपाध्यक्ष शेखर गोल्छाले सरकारले रोजगारी र उत्पादन होइन राजस्व मात्र बढाउने सोच राखेको हुँदा उद्योगको भन्दा आयातमुखी व्यापारको मात्रा बढेको बताए ।
 
सरकारले हालसम्म २ खर्बमध्ये ४० अर्बमात्र खर्च गरेको हुँदा तरलताको अभाव भएको उल्लेख गर्दै सरकारको कार्यशैली नै सङ्कटको मुहान भएको टिप्पणी गरे ।एक्स्पो एक साता दिनसम्म चल्नेछ।