बजार १८०० अंक नाघ्दा शेयर किन्नेहरु ‘बढ्छ र बेचौँला’ मा मार्जिनकल थप्दै, कोही ऋण खोजेर किन्दै

बिजमाण्डू
२०७३ फागुन ११ गते २०:५२ | Feb 22, 2017
काठमाडौँ । गएको साउन १२ गते नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ऐतिहासिक १८८१.४५  अंकमा पुग्यो। १८८१ अंकमा पुगेको दिन बजार पूँजिकरण १८ खर्ब ९३ अर्ब दुई करोड ४९ लाख रुपैयाँ पुगेको थियो। त्यसयता सात महिना बजार लगातार झरी रहेको छ। अहिलेसम्ममा नेप्से ५२३.८८  अंकले घटेको छ भने पूँजीकरणबाट तिन खर्ब ६३ अर्ब ४३ करोड १० लाख रुपैयाँ गुमेको छ। 
 
मंगलबार नेप्से १३५७.५७ अंक आइपुग्दा बजार बन्द भयो। जस अनुरुप बजार पूँजीकरण १५ खर्ब २९ अर्ब ५९ करोड ३९ लाख रुपैयाँमा झरेको छ। 
 
बजारले साढे तीन खर्ब रुपैयाँ गुमाउँदा आम लगानीकर्ताको सम्पत्ति पनि त्यसै गरि खुम्चिएको छ। १८८१ अंकको सेरोफेरोमा पुगेको बेला शेयर किन्नेहरु अहिले घाटामा छन्। उनीहरु मध्ये केहीले बेचि सके भने कतिपय अझै होल्ड गरेर राखेको बताउँछन्।
 
बैंकबाट ऋण लिएर लगानी गर्नेलाई मार्जिन कलले सताएको छ। उनीहरु मध्ये कतिपयले आफुसँग रहेको पुरानो शेयर बेचेर समेत बैंकमा पैसा थपेका छन्। 

Tata
GBIME
Nepal Life


 

आफ्नै पैसामा लगानी गरे अनुपातमा बैंकबाट लिएको कर्जाबाट शेयर किन्दा कैयौँ गुणा बढी चिन्ता थपिने लगानीकर्ता प्रकाश दाहालको अनुभव छ। उनले चिलिमे हाइड्रो कित्ताको १४००, नेशनल लाइफ ३४००, एलआइसिएन ३५५०, छिमेक लघुवित्त २३००, सानिमा हाइड्रो ११२० रुपैयाँको दरमा खरिद गरेका थिए। अहिले यी सबै कम्पनीको शेयर मूल्य उनले किनेको भन्दा तल आइ सकेका छन्। 
 
बैंक ऋण लिएर लगानी गरेका दाहाललाई मार्जिन कलले हैरान पारेपछि पहिल्यै किनेका र केही नाफामा रहेका शेयर बेचेर बैंकलाई १५ लाख जति तिर्दा मार्जिन सीमा पुगेको उनले सुनाए। अहिलेको मूल्यमा आफुलाई करिब २५ लाख रुपैयाँ घाटा छ। बजार केही बढ्छ र बेचौँला भनेर दैनिक ब्रोकर अफिस आउने गरेको उनले बताए।
 
दाहालको जस्तै अनुभव छबी अधिकारीले पनि सुनाए। बजारमा उनको करिब १० करोड रुपैयाँ लगानी छ। त्यसमा ५० प्रतिशत बैंक कर्जा लिएको उनले सुनाए। अहिले बैंकले उनलाई एक करोड रुपैयाँ जति मार्जिन थप्न तारन्तार फोन गरि रहेको छ।
 
पछिल्लो सात महिनामा ५० लाख रुपैयाँ जतिको शेयर घाटा खाएरै बेचेको उनले सुनाए। अहिलेको बजारमा उनको पोर्टफोलियो करिब तीन करोड रुपैयाँ जतिको घाटामा छ।
 
सुमन खरेलले नेको इन्स्योरेन्स प्रतिकित्ता २२००, एभरेस्ट इन्स्योरेन्स २२००, साना किसान लघुवित्त विकास बैंक २८५०, नेपाल ग्रामीण विकास बैंक ११३६ र फस्ट माइक्रो फाइनान्स १७४० रुपैयाँको दरले किनेका थिए। 
 
करिब एक करोड रुपैयाँ लगानी गरेका खरेलले ‘राम्रो भविश्य भएका कम्पनी’को शेयर ‘होल्ड’ गरेका छन् भने केहि घाटामै बेचेका छन्। अहिलेसम्म सात लाख रुपैयाँ जति नगद घाटा व्यहोरी सकेको उनले सुनाए। थप शेयर भने सावाँ उक्सेपछि मात्र बेच्ने मनस्थितीमा खरेल रहेका छन्।
 
नेप्से परिसूचक १५०० अंकबाट उकालो लागेपछि शेयर बजार छिरेकी सरु कार्कीको अनुभव फरक छ। उनले बढेको मूल्यमा शेयर खरिद गरेर आफुसँग भएको करिब ३ करोड रुपैयाँ लगानी गरिन्। घाटा खाएर बेच्न मन लागेन। त्यसपछि ६० लाख रुपैयाँ ऋण लिएर अहिलेको बजारमा किन्न सुरु गरेकी छिन्। बजार न्युन बिन्दुढमा ओर्लिएको हुँदा अहिलेको खरिदबाट पुरानो घाटालाई सन्तुलन गर्न सकिने उनको विश्वास छ।
 
उनले प्रभु इन्स्योरेन्स कित्ताको १७००, गुराँश लाइफ इन्स्योरेन्स १०३०, सुर्य लाइफ इन्स्योरेन्स १३५०, एभरेस्ट इन्स्योरेन्स २०९०, लुम्बिनी जनरल इन्स्योरेन्स १७७० रुपैयाँका किनेकी थिइन्। यी सबै कम्पनीको शेयर मूल्य घटेको हुँदा उनलाई राम्रै घाटा भएको छ। तर, अहिलेसम्म पुरानो शेयर नबेचेको र बजार बढ्न आशमा होल्ड गरेर बसेको उनले सुनाइन्।
 
‘२०/२५ लाख रुपैयाँ घाटा खाएरै बेचि सकियो अझै कति नोक्सानु खप्नु, बजारमा भेटिएका लगानीकर्ता शिशिर चौलागाईँले केही आत्मविश्वास भरिएको आवाजमा सुनाए- अब होल्ड गरेर बस्छु, तत्काल नबढे पनि घाटा खाएरै थेग्छु, फेरी बढी हाल्छ नी।’ अहिलेको मूल्यमा उनलाई डेड करोड रुपैयाँ घाटा छ।
 
१८०० अंक नाघेपछि शेयर किन्न बजार छिरेकी सावित्री सुवेदीले लुम्बिनी जनरल इन्स्योरेन्समा कित्ताको १७००, नेपाल बैंक ६०० रुपैयाँका दरले लगानी गरिन्। त्यस बाहेक अरु केही कम्पनीको पनि शेयर मूल्य आफुले किने भन्दा तल आइ सकेको उनले सुनाइन्। 
 
आफु बजारमा नयाँ हुँदा सहि सल्लाह दिनुको साटो केहीले किन्न मात्र प्रेरित गरेको उनको गुनासो छ। ‘बेच्न जाँदा समेत अहिल्यै किन बेच्ने?  अझै बढ्छ भनेर सुनाए, उनले भनिन्- म त नयाँ थिएँ, होला ता नि भनेर पत्याएँ।’
 
यस्तो सल्लाह मान्दा आफुलाई नगद डेढ लाख घाटा भएको उनले सुनाइन्। अझै पनि केही शेयर घाटामा रहेको तर अत्तालिए नबेच्ने उनले बताइन्। ‘अब त म आफैं बजारबारे केही बुझ्ने भइ सकेकी छु, उनले भनिन्- अहिले पनि कोही कोही अब बेच्नुस् भनेर हौस्याउँदै आउँछन् तर म बेच्दिन बरु थप केही लगानी गर्छु।’  आफुले महङ्गोमा किनेको हुँदा सस्तोमा नबेच्ने उनको अडान छ।
 
बजारमा भेटिएका मध्ये सबैभन्दा भाग्यमानी लगानीको रुपमा भेटिए- दिपक पौडेल। उनले बजार उच्चतम बिन्दुसम्ममा पुग्दा आफुले पहिले किनेको सबै शेयर बेचि सकेका थिए। त्यसबेला धेरैले ‘बजार अझै बढ्छ, किन्नु पर्छ’ भन्दा भन्दै आफुले बेचेको उनले सुनाए। उनले आफुसँग भएको सबै शेयर करिब २० लाख रुपैयाँमा बेच्दा ७ लाख कमाएका थिए।
 
शेयर बेचि सकेर चुपचाप बसेका पौडेलले बजार अहिले न्युन बिन्दुमा आइ सकेको र फेरि बढ्ने क्रम सुरु हुने भन्दै लगानी गर्न थालेका छन्।
आफुले त्यस बेला गरेको निर्णय सही सावित भएको भन्दै अहिले बजार छिर्ने उपयुक्त समय रहेकोमा उनी विश्वस्त छन्। तीन लाख रुपैयाँ लगानी गरेर केही शेयर किनेको उनले जानकारी दिए।