अन्नपूर्ण केवलकारको फाइनान्सियल क्लोजर, सनरार्इज र राष्ट्रिय बाणिज्य बैंकले ६६ करोड ऋण दिने

बिजमाण्डू
२०७३ फागुन १२ गते १७:२५ | Feb 23, 2017
अन्नपूर्ण केवलकारको फाइनान्सियल क्लोजर, सनरार्इज र राष्ट्रिय बाणिज्य बैंकले ६६ करोड ऋण दिने


काठमाडौं।पोखरामा निर्माणाधिन अन्नपूर्ण केवलकारमा सनरार्इज बैंक र राष्ट्रिय वाणिज्य बैंकको सहवित्तियकरणमा ६६ करोड रुपैयाँ लगानी गर्ने भएका छन्।

Tata
GBIME
Nepal Life

कास्कीको सराङकोट गाविसमा निर्माण हुन लागेको यो केवलकारको भूमीपूजा भएर निर्माण सुरु भइसकेको छ।विहिवार ऋण लगानीका लागि अन्नपूर्ण केवलकार प्रालि र बैंकबीच सम्झौंता भयो।८९ करोड ६० लाख रुपैयाँमा व्यवसायी कालु गुरुङ र जापानी मूलका नेपाली नागरिक टाकासी मियाहाराले निर्माण सुरु गरेका हुन्।
 

दुर्इ महिनाअघि भूमीपूजापछिको कार्यक्रममा बौल्दै अन्नपूर्ण केवलकारका अध्यक्ष कालु गुरुङ
पोखराको सेदीबगरदेखि सराङकोटसम्म साढे दुर्इ किलोमिटर लामो केबलकार चल्नेछ। गुरुङ समूहको ८५ र जापानी समूह मियाहराको १५ प्रतिशत लगानी छ।जापानी समूहमा टाकासी मियाहराको लगानी छ। पहिले मियाहरा जापानी नागरिक थिए तर धेरै बर्ष अगाडी जापानी नागरिकता त्यागेर उनी नेपाली नागरिक भएका थिए।

मियाहरा ललितपुरमा रहेको होटल हिमालयका संचालक हुन् । उनले साराङकोटमा समेत सुविधा सम्पन्न होटल निर्माण गरिरहेका छन्  । स्थिर पुँजी ५८ करोड ५० लाख र चालु पुँजी एक करोड ५० लाख गरी कुल ६० करोड रुपैंयाँ कुल पुँजीमा केबलकार निर्माण गर्न लागिएको हो ।

 
 १० प्रतिशत लगानी स्थानीय समुदायको रहने र भविष्यमा पब्लिक लिमिटेडमा परिणत गरिने गुरुङले बताए। उनका अनुसार बोर्डको बैठक बसेर ४९ प्रतिशत सेयर सर्वसाधारणलाई दिइनेछ । 
 
जापानी कम्पनी निप्पोनको प्रविधिबाट बन्ने केबलकारमा १६ देखि ३६ डिब्बा रहनेछन् । २ हजार १ सय मिटर दुरीमा १४ वटा पोल रहने केबलकारमा ७ देखि ९ मिनेटसम्मको यात्रा हुनेछ। केबलकार यात्रामा हिमाल, ताल र  पोखराको उत्कृष्ट दृश्यावलोकन हुने भएकाले पर्यटकका लागि नयाँ गन्तब्य बन्ने अध्यक्ष गुरुङले बताए । 
 
केबलकारको यात्रामार्फत एकैपटक फेवाताल, शान्ति स्तूपा, हिमश्रृंखला र पोखराबजारसँगै आसपासका स्थान अवलोकन गर्न सकिनेछ । यात्राकै बेलामा यात्रुले केबलकारको डिब्बाबाटै सूर्यौदय र सूर्यास्त  सहज रुपमा देख्न सकिने अध्यक्ष गुरुङले बताए । सराङकोट सूर्योदय दृश्यावलोकनका लागि प्रख्यात भएकाले बिहान साढे ५ बजेबाट नै केबलकार सञ्चालन गरिने उनले बताए।
 
केबलकार निर्माणको जिम्मा चितवन कोर्इले पाएको छ।सराङकोटमा दैनिक ३ हजार ५ सय देखि ४ हजार पर्यटक पुग्ने गर्छन् । पोखराबाट सराङकोट पुग्न ट्याक्सीले कम्तीमा १५ सय रुपैयाँ भाडा लिन्छ भने समय ४५ मिनेट लाग्छ ।