एनसेलको कारण एक्जियटाको मुनाफामा आयो ठूलो गिरावट, साढे १६ अर्ब रुपैयाँको ‘एक्सचेञ्ज लस’

बिजमाण्डू
२०७३ फागुन १२ गते १७:४७ | Feb 23, 2017
काठमाडौं । एनसेलको प्यारेन्ट कम्पनी एक्जियटाको सन् २०१६ को मुनाफामा ७५ प्रतिशतले गिरावट आएको छ। एनसेल खरीद गर्दा भएको एक्सजेञ्ज घाटाले एक्जियटाको मुनाफामा ठूलो गिरावट आएको कम्पनीले विहिवार सार्वजनिक वित्तीय विवरणमा उल्लेख छ।

Tata
GBIME
Nepal Life


 

एक्जियटाले एक अर्ब ३० करोड डलर तिरेर एनसेल खरीद गर्दा विनिमय भुक्तानीमा ६८ करोड ५० लाख रिंगिट(१६ अर्व ५० करोड)भन्दा बढी घाटा लागेको हो। यो घाटा एक्जियटाले एनसेलमा गर्ने एक वर्षको खुद मुनाफा बराबरको रकम हो।
 
सन् २०१५ मा दुई अर्व ६३ करोड रिंगिट खुद मुनाफा गरेको एक्जियटाले सन् २०१६ मा ६५ करोड ७० लाख रिंगिट मात्रै मुनाफा गरेको छ। एनसेलसँगै जियोका कारण सुस्त परेको भारतीय सब्सिडरी आइडिया, बंगलादेशमा रोबी र एयरटेलवीचको मर्जर र मलेसियामा फोरजी सेवा विस्तार गर्दा सेलकममा बढेको खर्चका कारण मुनाफामा ठूलो गिरावट आएको कम्पनीका अध्यक्ष जमालुद्दिन इब्राहिमले पत्रकारहरुलाई बताए। 
 
एक्जियटाले एनसेल खरीद गर्नका लागि डलरमा ऋण लिएको छ। ऋण लिँदाको तुलनामा अहिले मलेसियाली मुद्रा रिंगिट ठूलो मात्रामा अवमूल्यन भएको छ। गतवर्ष डलरमा लिएको त्यही ऋण भुक्तानी गर्नका लागि अहिलेको विनिमयदरमा एक्जियटाले ६८ करोड ५० लाख बढी रिंगिट तिर्नुपर्छ।
एक्जियटाको मुनाफामा ठूलो गिरावट आएपछि विहिवार यसको सेयर कारोवार हुने ब्रुसा मलेसिया बजारमा सेयर भाउ झण्डै ६ प्रतिशतले घटेको छ। कम्पनीले दिने बोनस दर घट्ने भएपछि सेयर मूल्यमा गिरावट आएको हो।
 
स्विडेनको कम्पनी टेलियासँग एक्जियटाले एनसेलको सेयर स्वामित्व किनेको हो। यो कारोवारमा समेत अहिले नेपालमा पूँजीगत लाभकर विवाद चलिरहेको छ। गतवर्ष एनसेलले पुँजीगत लाभकरवापत दश अर्व रुपैयाँ भुक्तानी गरेको थियो। एक्जियटाले प्रेस विज्ञप्ती जारी गर्दै विक्रेताको तर्फबाट नेपाल सरकारलाई लाभकर भुक्तानी गरेको जानकारी दिएको थियो। 
 
एनसेलको नाफा २० अर्ब
टेलिकम सेवा प्रदायक एनसेलले सन् २०१६ मा ५८ अर्ब ६५ करोड रुपैयाँको कारोवार गरेर २० अर्ब २९ करोड रुपैयाँ खुद नाफा गरेको छ।

विहिवार एनसेलको प्यारेन्ट कम्पनी एक्जियटाले चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै अघिल्लो वर्षभन्दा एक अर्ब ४० करोड रुपैयाँ आम्दानी बढाएको विवरण दिएको हो। कम्पनीले अघिल्लो वर्षभन्दा एक अर्ब ४० करोडले कारोवार बढाए पनि खुद नाफा भने एक अर्ब ४६ करोडले बढाएको छ।

 
एनसेलले सन् २०१५ मा ५७ अर्ब २६ करोडको कारोवारबाट १८ अर्ब ८३ करोड रुपैयाँ मुनाफा गरेको थियो। एनसेलले व्याज खर्च, कर र ह्रासकट्टी अघि  (इबिडिटा) सन् २०१६ मा ३७ अर्ब रुपैयाँ मुनाफा गरेको थियो।   एनसेलको सन् २०१५ मा इबिडिटा ३६ अर्ब ८२ करोड रुपैयाँ थियो।
 
एनसेलले कम्पनी सञ्चालनका क्रममा कुल आम्दानीको ३५ दशमलव आठ प्रतिशत मात्रै खर्च गर्छ। कम्पनीले डाइरेक्ट एक्सपेन्सेसका रुपमा आठ दशमलव छ प्रतिशत, सेल्स एण्ड मार्केटिङमा पाँच दशमलव नौ प्रतिशत, नेटवर्क खर्चमा सात दशमलव छ प्रतिशत, कर्मचारी खर्चमा पाँच प्रतिशत र अन्य खर्च नौ प्रतिशत गर्छ। 
 
एनसेलको कुल आम्दानीको ६४ दशमलव दुई प्रतिशत रकम व्याज खर्च, कर र ह्रासकट्टि अघि जोगिन्छ। यही आम्दानीबाट ह्रासकट्टी तथा आयकर तिरेपछि एनसेलको कुल नाफा निस्किन्छ।
 
वित्तीय विवरणअनुसार एनसेलसँग ३८ अर्ब ८५ करोड रुपैयाँ नगदमा छ। त्यसैगरी कम्पनीसँग कुल सम्पत्ती ७८ अर्ब रुपैयाँको छ। ३० सेप्टेम्वर २०१६ मा एनसेलसँग नगदमा ४७ अर्ब ९७ करोड रुपैयाँ र कुल सम्पत्ती ८३ अर्ब ४५ करोड रुपैयाँको थियो।  
 
घट्न थाल्यो आइएलडी आम्दानी
एनसेलको स्वामित्व मलेसियाको कम्पनी एक्जियटाले खरीद गरेपछि विदेशबाट कल ल्याए(इन्टरनेशनल लङ डिस्ट्यान्स)वापतको आइएलडि आम्दानी भने सन् २०१६ मा घटेको छ। 
 
एक्जियटाले सन् २०१६ मा एनसेलको आइएलडि आम्दानी १७.३ प्रतिशतले घटेको जानकारी दिएको छ। विदेशबाट आएको फोन एनसेलको नेटवर्कबाट रिसिभ गरेवापत विदेशमा तिरेको रकममध्ये केही रकम एनसेलले प्राप्त गर्छ। 
 
नेपालका टेलिकम कम्पनीले आइएलडिमा खासगरी मलेसिया तथा खाडी मुलुकबाट बढी राजस्व प्राप्त गर्दै आएका छन्। एक्जियटाको मलेसियामा पनि टेलिकम कम्पनी सेलकम छ। 
 
 
खतराको घण्टी: घट्न थाल्यो आरपु
 
एनसेलको ग्राहक आधार साढे १४ प्रतिशतले बढ्दा पनि सन् २०१६ मा एनसेलको आम्दानीमा खास वृद्धि भएन। त्यसको कारण हो एनसेलको प्रति ग्राहक आम्दानी(एभरेज रेभेन्यु पर युजर)मा आएको ठूलो गिरावट। 
 
सन् २०१६ मा एनसेलले औषतमा एक जना सीम प्रयोगकर्ताबाट ३७० रुपैयाँ प्रतिमहिना आम्दानी गर्दथ्यो। तर अहिले त्यो आम्दानी २४ रुपैयाँले घटेर ३४६ रुपैयाँमा झरेको छ। पोस्टपेडमा प्रति ग्राहक मासिक आम्दानी ५० रुपैयाँले गुमाएको एनसेलले प्रिपेडमा २४ रुपैयाँले गुमाएको छ।
 
एनसेलको सन् २०१६ मा एक करोड ४९ लाख १७ हजार सीम सञ्चालनमा छन्। त्यसमध्ये चार लाख ९० हजार ग्राहक पोस्टपेडका हुन्। सन् २०१५ मा एनसेलका एक करोड ३० लाख सिम सञ्चालनमा थिए।
 
एनसेलको प्रति ग्राहक आम्दानी घटे पनि डेटा ग्राहकमा भने उत्साहजनक वृद्धि हुन थालेको छ। सन् २०१६ मा डेटा आम्दानी ७० प्रतिशतले वृद्धि भएर कुल आम्दानीमा डेटा आम्दानीको हिस्सा १६ प्रतिशत पुगेको जानकारी कम्पनीले दिएको छ।