विराटनगर ।गोल्छा अर्गनाइजेसनका राजकुमार गोल्छा पनि अटोमोबाइलको व्यवसायमा प्रवेश गरेका छन्।उनले भारतमा निर्मित ‘सामे’ ब्रान्डका ट्र्याक्टर नेपाली बजारमा ल्याएका औपचारिक रुपमा सवारी साधनको व्यापारमा हात हालेका हुन्।
यही फागुन ११ गतेदेखि सुरु भएको सात दिने विराट एक्स्पोमा व्यवसायी गोल्छाले अरिहन्त कमर्सियल प्रालिका माध्यमबाट ‘सामे’ ब्रान्डका ट्र्याक्टर ल्याएका हुन्।खेत जोत्ने र सम्याउनेजस्ता कृषिकर्मदेखि मालसामान ढुवानीका लागिसमेत ‘सामे’ ब्रान्डका ट्र्याक्टर चर्चित रहेको उल्लेख गर्दै गोल्छाले यी ट्र्याक्टरलाई पहाडको राजा भन्ने गरिएको बताए ।
‘सामे’ ब्रान्डका फोर ह्विल ट्र्याक्टरमा ८ देखि १० मेट्रिक टनसम्म मालसामान राखेर पहाडी मार्गमा सजिलै ढुवानी गर्न सकिने उनको दाबी छ । अन्य ट्र्याक्टरका तुलनामा डिजल पनि कम खपत हुने गोल्छाको भनाइ थियो ।
व्यवसायी गोल्छाले विराटनगरको कञ्चनवारीस्थित शोरुममा ३५ देखि ४ सय ५० एचपी सम्मका ट्र्याक्टर विक्रीका लागि राखिएको जानकारी दिए ।
‘सामे’का नेपालस्थित प्रमुख अम्बु चौधरीका अनुसार विश्वप्रसिद्ध इटालियन प्रविधिअनुसार बनाइएका ‘सामे’ ट्र्याक्टरमा मल्टिपल डिस्क ब्रेक जडान गरिएको छ ।यस्तो ब्रेक तेलमा डुबाएर राखिने हुँदा लामो समयसम्म टिकाउ हुने चौधरीले दाबी गरे। गियर पनि कारको जस्तै ‘सिङ्क्रोमेस सिस्टम’को रहेको उनले दाबी गरे।
अन्य ब्रान्डका ट्र्याक्टरलाई २ सय घण्टा चलाएपछि सर्भिसिङ गर्नुपर्छ भने ‘सामे’ ट्र्याक्टरलाई ३ सय घण्टा चलाएर सर्भिसिङ गरे हुन्छ ।एक्स्पोमा ‘टु ह्विल ड्राइभ’ भएका ३५ र ५० एचपीका ट्र्याक्टरलाई क्रमशः १२ र १८ लाख तथा ‘फोर ह्विल ड्राइभ’ भएको ७० एचपीको ट्र्याक्टरलाई २२ लाख ५० हजार मूल्य तोकिएको छ ।एक्स्पोमा ट्र्याक्टर बुक गर्नेलाई ३२ इन्चको एलसिडी टेलिभिजन र खेत जोत्ने कल्टिभेटर उपहार दिइने गोल्छाले जानकारी दिए।