लोकमानसिंह कार्कीले दिएको दुख यसरी सम्झिए युवराज खतिवडाले, ‘ऋणीको फाइल मैले बुझाइन’

बिजमाण्डू
२०७३ फागुन १६ गते १०:४८ | Feb 27, 2017
काठमाडौं। नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. युवराज खतिवडाले लोकमानसिंह कार्कीलाई कानुनी दायराभित्र ल्याउन माग गरेका छन्। अख्तियार दूरुपयोग अनुसन्धान आयोगमा हुँदा कार्कीले राम्रा र इमान्दार व्यक्तिहरुलाई प्रताडित गरेर संस्थाहरु विगार्न खोजेको भन्दै उनको पनि सम्पतिको स्रोत खोजिनु पर्ने बताए।

Tata
GBIME
Nepal Life

खतिवडाले आफ्ना पालामा राष्ट्र बैंकका राम्रा दुई दर्जन कर्मचारीले बिना कसुर सम्पति विवरण देखाउनु परेको बताए।

राष्ट्र बैंकको वालुवाटार प्राङगणमा पूर्वगभर्नर खतिवडाले अख्तियारबाट कसरी प्रताडित हुनुपर्यो भनेर आफ्नो अनुभव यसरी सुनाए।

हाम्रा दुई दर्जन कर्मचारीहरुको सम्पति विवरण मागियो। १३ पान्ने भराइयो। यसले गर्दा हाम्रा कर्मचारीहरुको मनोबल गिर्यो।  आखिर उहाँहरु निस्कलङ्क र स्वच्छ छविको निक्लनु भयो। यसमा मलाई गौरव पनि छ। तर त्यसमा साथीहरुले जस्तो खालको पीडा भोग्नु भयो त्यो पीडाले  अहिलेसम्म पनि मलाई सताइरहेकै छ।

साथीहरुले पाएको पिडाका कारणले होला पिडकले अहिले मुलुकै छाड्नु पर्यो। त्यसैले अधिक पीडा दिने कार्य पनि ठिक हुँदैन। पीडक आफै कुनै दिन पीडाको सिकार हुनु पर्छ। पीडकहरुकै सम्पतिको छानविन हुनु पर्छ भन्ने मेरो माग छ। सांसदज्यु (कार्यक्रममा एमाले नेता एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे पनि थिए) पनि यहीँ हुनु हुन्छ।

अख्तियार प्रमुख हुँदा उहाँ (लोकमानसिंह कार्की) ले धेरैको सम्पति खोज्नु भयो, विवरण माग्नु भयो। अब सायद पीडकहरुको सम्पतिको खोजी गर्नुपर्ने बेला भएको छ। ताकी मुलुकमा राम्रो काम गर्नेहरुको, सम्मानित काम गर्नेहरुको मनोबल नगिरोस्। राष्ट्र बैंकजस्तो नियमनकारी निकायको मनोबल गिर्ने काम नगरोस् भन्ने तर्फ एकदमै गम्भिरतापूर्वक सोच्नुपर्ने अवस्था छ।

अराजकता फैलाउनेहरु, दण्डनीय ब्यक्तिहरु दण्ड दिने ठाउँमा बसेर नियमसंगत, कानुनसंगत, अनुशासित भएर काम गर्नेहरुको मनोबल गिराएर संस्थालाई कमजोर पार्न पाइँदैन। मैले तीन बर्षजति लडैँ त्यो प्रवृत्तिको विरुद्ध।

मलाई अहिले पश्चताप यो मानेमा छ कि संसदले दण्ड दिनुपर्ने व्यक्तिलाई कानुनको प्राविधिक पाटोबाट दण्ड दिलाइयो। कुनै पनि नागरिकले मुलुकप्रति अन्याय गरेको छ भने कानुनको दायराभित्र ल्याउनुपर्छ। मैले गल्ती गरे मलाई पनि ल्याउनुपर्छ र उसले गरे उसलाई पनि ल्याउनुपर्छ। अहिले कानुनभन्दा माथि कोही पनि छैन।

मैले यो किन भनिरहेको छु भने, हाम्रा कर्मचारीहरुलाई त्यो किसिमले आतङ्कित नगरिएको  थियो भने हाम्रा साथीहरुले अझ बढी काम गर्न सक्थे। दिलोज्यान दिएर काम गर्थे। यसले हाम्रो परफरमेन्स राम्रो हुन्थ्यो। अख्तियारको सन्त्रासले हामीलाई बिगार्यो। सार्वजनिक खरिदका धेरै कुराले पनि हामीलाई बिगार्यो। यो पाटो म यहाँ सम्झिन चाहन्छु। त्यसलाई म किन सम्झाउन पनि चाहन्छु भने यस्ता प्रवृत्तिका विरुद्ध केन्द्रीय बैंक लड्न तयार पनि हुनुपर्छ।

केन्द्रीय बैंकलाई एक करोडमाथिका ऋणीको सबै फाइल टंगाल (अख्तियार कार्यालय) मा बुझाउनु तीन दिनमा भनेर उर्दि नै आयो। तर हामीले बुझाएनौं। अडान नै लियौं। त्यो अडान लिने क्षमता हामीमा हुनुपर्छ र त्यो नैतिक बल हामीले कायम गरेर राख्न सक्नुपर्छ।

मैले राष्ट्र बैंक छाड्दा मैले केही एजेन्डाहरु छाडेको थिएँ। एउटा एजेन्डा थियो राष्ट्र बैंकको भवन बनाउने । भवन बनाउने सबै तयारी पनि गरियो। यही मञ्चबाट कसैले एउटा लिफ्ट बिग्रिँदा भ्रष्टाचार गर्नकालागि राष्ट्र बैंकले घर बनाउन लाग्यो भने। म उनीहरुलाई पनि अहिले सम्झन्छु। त्यतिखेर त्यो भवनको काम अगाडि बढाउन सकेको भए अहिले छाप्रो हालेर हामी बस्नुपर्ने अवस्था आउने थिएन। (भुकम्पका कारण राष्ट्र बैंकको मुल भवन भत्किएको छ) ।

भवन निर्माणको प्रकृया सुरु नहुँदै फायल हत्तन पत्त टङ्गाल (अख्तियार कार्यालय) पुर्याउने प्रवृत्ति पनि हाम्रो बीचमा रह्यो। अब त्यो प्रवृत्ति नरहोस्। यो श्रृंखला बन्द होस्। जमीनमुनि पसोस्।