अडानले भन्यो, वित्तिय तरलताले लगानीमा नकारात्मक असर पर्यो, तत्काल सामान्य बनाऊ

रासस
२०७३ फागुन २१ गते १४:१५ | Mar 4, 2017
अडानले भन्यो, वित्तिय तरलताले लगानीमा नकारात्मक असर पर्यो, तत्काल सामान्य बनाऊ
पोखरा। नेपाल अडिटर्स एसोसिएसन (अडान) ले पूँजीगत खर्चमा देखिएको चरम उदासिनता, बढ्दो व्यापार असन्तुलन र घट्दो रेमिट्यान्सलगायत कारणले नेपाली वित्तीय बजारमा तरलताको बढदो समस्याप्रति चिन्ता व्यक्त गरेको छ।
 

पोखरामा आज सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले ११ बुँदे पोखरा घोषणापत्र जारी गर्दै यो चिन्ता व्यक्त गरेको हो।अडानले बैंक तथा वित्तीय संस्थामा निक्षेप र लगानीमा देखिएको नकारात्मक असरको समाधान गरी वित्तीय बजारलाई सामान्य बनाउन सरकारसँग आग्रह गरेको छ।
 
संस्थाका अध्यक्ष मोहनराज रेग्मीको अध्यक्षतामा सम्पन्न बैठकले नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संस्था (आइक्यान) ले २०७४ साउनबाट लागू गर्न लागेको ‘एक व्यक्ति, एक पेसा’ नीति, पर्याप्त जनशक्तिको अभावका कारण स्थानीय तहमा संस्थागत सुशासनमा समस्या देखिने र अर्थतन्त्रमा समेत प्रतिकूल असर पार्ने अवस्था रहेकाले उक्त नीतिलाई विसं २०८० सम्म सार्न माग गरेको छ ।
 
अडानले ‘आफ्नो जग्गा, आफ्नै भवन र आफ्नै अडान’ भावनाअनुसार घडेरी र कार्यालय भवन व्यवस्थापनका लागि केन्द्रीय पदाधिकारीबाट करिब रु ४० लाख आर्थिक सहयोगको प्रतिबद्धता प्राप्त भएको तथा बाँकी स्रोत व्यवस्था गरी रु एक करोड पचास लाखमा उपयुक्त घडेरी र भवन व्यवस्थापन गर्न केन्द्रीय सचिवालय एव्म भवन निर्माण समितिलाई म्याण्डेट दिएको छ । 
 
बैठकले महासचिव डिपी दाहालको साङ्गठनिक प्रतिवेदन र कोषाध्यक्ष केशवराज आचार्यद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन सुझावसहित पारित गरेको छ । सङ्गठन सुदृढीकरण र स्थानीय समस्या समाधानका लागि केन्द्रीय उपाध्यक्षको संयोजकत्वमा अडान प्रदेश कार्यदल गठन गरेको संस्थाका प्रथम केन्द्रीय उपाध्यक्ष डा कृष्ण पौडेलले जानकारी दिए । 
 

Tata
GBIME
Nepal Life