ब्याज बढाउनु ४५ दिनअघि बैंकले ग्राहकलाई खवर गर्नु पर्ने, बर्षमा दुई पटक मात्र ब्याज समायोजन

सुदर्शन सापकोटा/बिजमाण्डू
२०७३ चैत्र ३ गते १८:२५ | Mar 16, 2017

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल राष्ट्र बैंकले प्रस्तावित मस्यौदामा संशोधन नगरे बैंकबाट पैसा चलाउनेहरुले ऋणको ब्याज दरमा बिकल्प पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले बिहीबार ब्याज दर निर्धारण तथा पुनरावलोकन बारेमा आफ्नो अवधारणा सार्बजनिक गरेको छ।
 
अवधारणामा आवश्यक सुझाव भए सात दिनभित्र पठाउन पनि राष्ट्र बैंकले आग्रह गरेको छ।
 
यो पनि पढ्नुस्: ऋणमा किन विकल्प दिँदैनन् बैंक? अनुकुलमा मात्र अन्तराष्ट्रिय अभ्यासको दुहाइ

राष्ट्र बैंकले ऋणीले प्रयोग गरिरहेको कर्जाको ब्याजका बारेमा पहिले नै स्पष्ट रुपमा बैंकहरुले जानकारी गराउनु पर्ने अवधारणामा उल्लेख गरेको छ। खासगरी कर्जाको ब्याज दर कस्तो हुने त्यो बारेमा ऋणीलाई विकल्प दिनु पर्ने अवधारणामा छ।
 
बैंकहरुले कर्जाको ब्याज दर समायोजन गर्न सकिने (एडजस्टेवल), अपरिवर्त्य (फिक्स्ड), परिवर्तनशील (फ्लोटिङ) वा मिश्रित (हाइब्रिड) के हो यस बारेमा ग्राहकलाई बिकल्प दिनु पर्छ।
 
बैंकहरुले बार्षिक वा आवधिक ब्याज दर तथा अन्य सबै किसिमका शुल्कहरुका बारेमा ग्राहकलाई जानकारी दिनु  पर्छ। साथै ब्याज दर गणना विधि, ब्याज गणना गर्दाका आधारहरु पनि दिनु पर्छ। ब्याज दर कुन मितिमा समायोजन वा परिवर्तन गरिन्छ र ऋणीका कस्ता काम कारवाहीले ब्याज दर वा अन्य शुल्क प्रभावित हुन्छन् भन्ने बारेमा पनि जानकारी दिनु पर्छ।
 
अबदेखि बैंकहरुले बर्षमा दुई पटक मात्र ब्याज दर समायोजन गर्न पाउँछन्। बैंकहरुले एक महिनामै तीन पटकसम्म ब्याज दर बढाएपछि राष्ट्र बैंकले त्यसमा कडाइका लागि नयाँ व्यवस्था गर्न लागेको हो।
 
ऋण दिएको छ महिनासम्म ब्याज दर चलाउन पाइँदैन। बैंकहरुले यसपाली ऋण दिएको केही सातामै ब्याज बढाएका थिए।
 
फ्लोटिङ ब्याज दर अर्थात परिवर्तनशील ब्याज दर भने ऋण दिँदा निर्धारण गरे अनुसार नै परिवर्तन गर्न पाइन्छ।
 
राष्ट्र बैंकको अवधारणा अनुसार, अब ब्याज दर एसएमएस गरेको भरमा तुरुन्तै वढाउन पाइँदैन। एक बर्षभन्दा लामो अवधिको कर्जाको ब्याज दर बढाउनु परेमा कम्तिमा ४५ दिनअघि ऋणीलाई खवर गरिसक्नु पर्छ। नवीकरणीय ऋण वा अन्य छोटो अवधिको ऋणको ब्याज दर ३० दिनअघि सुचना दिएर मात्र बढाउन पाइन्छ।
 
फिक्सड वा एडजस्टेवल ब्याज दर
यसमा बैंकहरुले सँधैभरी एउटै ब्याज दर राख्छन् । यदि कुनै कारणले बजारमा लगानी योग्य पुँजीको अभाव भएर ब्याज बढेमा फिक्सड प्लान अन्तर्गत लिइएको कर्जाको ब्याज दर घट्दैन । तरलता फालाफाल हुँदा ब्याज दर घटेमा पनि यस अन्तर्गत लिइएको कर्जाको ब्याज घट्दैन ।

फ्लोटिङ ब्याज दर
फ्लोटिङ ब्याज दर बैंकको पूँजी लागतसँग निर्भर हुन्छ । तरलता बढी भएमा ब्याज घट्छ, कम भएमा बढ्छ। बैंकले निक्षेपकर्तालाई बढी ब्याज दिनुपर्ने अवस्था आएमा कर्जाको ब्याज पनि बैंकहरुले बढाइदिन सक्छन् ।

हाइब्रिड ब्याज दर
हाइब्रिड योजना बैंकको फ्लोटिङ र फिक्स्डको मिश्रित रुप हो । यसलाई  हाइब्रिड ब्याज योजना पनि भनिन्छ । उपभोक्ताले आफ्नो कर्जा भुक्तानीको बीचमै ब्याज तिर्ने तरिकालाई फ्लोटिङ वा फिक्स्ड गर्न सक्छ । यो योजना अन्तर्गत ग्राहकले निश्चित समयसम्म फिक्स्ड दरमा ब्याज भुक्तानी गर्छन्, त्यसपछि ब्याज दर फ्लोटिङ हुन्छ ।

अहिले के छ?
नेपालमा भने केही बैंकहरुले घर तथा गाडी कर्जामा ब्याज दरलाई हाइब्रिड बनाएका छन् । नभए सबै बैंकले सबै कर्जाको ब्याज दर फ्लोटिङमै राखेका छन् । उनीहरुको पुँजीको लागत अनुसार ब्याज दर तलमाथि गरिरहन्छन्।