खसीको माग बढ्न थालेपछि गाउँलेले खोले बाख्रा स्रोतकेन्द्र, चैनपुरका घरैपिच्छे आधुनिक खोर

रासस
२०७३ चैत्र ५ गते १४:१७ | Mar 18, 2017
धादिङ । बजारमा खसीबोकाको मासुको माग बढ्दै जाँदा धादिङ चैनपुरवासी बाख्रा स्रोत केन्द्रको विकासमा अघि बढेका छन्। 
 
दुई वर्षअघि दुई माउ र छ पाठा सहित बाख्रापालन सुरु गरेकी चैनपुरकी लालमाया शाक्य अहिले बाख्रा व्यवसायीका रुपमा परिचित भएकी छन्। उनीसँग अहिले २९ बाख्रा छन्। बाख्राका सुधारिएका राम्रा खोर बनाइएको छ। खरी जातको बाख्रा गोठमा पाल्न थालेपछि आम्दानी बढेको र यस वर्ष मात्र १२ ब्याडबाख्रा(पाठापाठी)बिक्री गरेको उनले बताइन्। घरको आम्दानीले खान नपुगेपछि उनका श्रीमान् भारत काम गर्न गएका थिए। छोरी र आमा मिलेर गाउँमा थालेको व्यवसायले अहिले आम्दानी र सुख मिलेको छ। 


 
शाक्य मात्र होइन हुलाकभन्ज्याङ निवासी मनकुमारी बाणको खोरमा अहिले ११ बाख्रा छ। उनले घर जस्तै गरी सफा पारिएको आधुनिक खोर बनाएर बाख्रा पालेकी छिन्। भूकम्पले थिलथिलो पारेको अवस्थामा पनि वाणले घरसँगै बनाइएको बाख्राको खोर दिनदिनै सफा गर्ने र हरेक महिना बाख्रालाई जुकालगायत औषधि खुवाएर स्वस्थ ढंगले हुर्काइ रहेकी छिन्।
 
बाख्रापालन सुरु गर्दा तत्कालीन चैनपुर गाविसमा पाँच हजार दुई सय बाख्रा रहेकोमा हाल पाठाको संख्या समेत जोड्दा १४ हजार बाख्रा पुगेको तथ्याङ्क छ। चैनपुर गाविसलाई अहिले बाख्रा स्रोत केन्द्रका रुपमा विकास गरिएको चैनपुर सामाजिक उद्यमी महिला सहकारी संस्थाका व्यवस्थापक निरमाया राना मास्कीले बताइन्। एक हजार दुई सय १७ शेयर सदस्य रहेको सहकारीले चैनपुर गाविसलाई बाख्रा स्रोत केन्द्रको विकास गरी सबै घरधुरी समेटेर महिलाको आम्दानी बढाउन लागिपरेको मास्कीको भनाइ छ। 
 
हेफर इन्टरनेसनलले फोकस नेपालमार्फत साना किसान सबलीकरण परियोजना सञ्चालन गरेपछि सालबासमा बिक्री केन्द्र सञ्चालनमा ल्याइएको छ। सबै घरमा बाख्राको खोर बनाउने र हरेक घरमा घाँस उत्पादन गरी बाख्राबाट नै चैनपुरको विकासमा लागिपर्ने सहकारीको प्रतिबद्धता छ। हाल चैनपुरका सात सय घरमा आधुनिक खोर निर्माण गरी बाख्रापालन सुरु भइ सकेको छ।
 

Tata
GBIME
Nepal Life