एडिएसएल हटाउँदै टेलिकम, सिडिएमए र डायलअप पनि फेजआउट, अब देशैभर फोरजी

बिजमाण्डू
२०७३ चैत्र ७ गते १७:१९ | Mar 20, 2017
एडिएसएल हटाउँदै टेलिकम, सिडिएमए र डायलअप पनि फेजआउट, अब देशैभर फोरजी
काठमाडौं । नेपाल टेलिकमले पुरानो प्रविधिको एडिएसएल इन्टरनेट लगायत सिडिएमए र डायलअप सेवा हटाउने भएको छ। टेलिकमले प्रतिश्पर्धी क्षमता बृद्धि गर्न पुरानो प्रविधिका सेवा हटाउने तयारी गरेको हो। 
 
सीडीएमए, पिएसटिएन फिक्स्ड ल्याण्डलाइन, वाइम्याक्स, डायलअप इन्टरनेट, ब्रोडव्याण्ड डाएलअप, वाइम्याक्स ब्रोडव्याण्ड, एडिएसएल, इभिडिओ सिडिएमए सर्भिस, स्काइ डेटा सर्भिस लगायतका पुरानो प्रविधिमा आधारित सबै सेवामा थप लगानी नगर्ने र क्रमिक रुपमा बन्द गर्ने नीति टेलिकम व्यवस्थापनको छ।  

Tata
GBIME
Nepal Life

पुरानो प्रविधिको सेवा विश्वभर नै हटिरहेको र नयाँ नयाँ प्रविधि भित्रिरहेको अवस्थामा टेलिकम पनि सोहि स्पिरिटमा अगाडि बढ्न लगेको कम्पनीकी प्रवन्ध निर्देशक कामिनी राजभण्डारीले बताइन। 'विस्तारै फेज आउट हुँदै गएको पुरानो टेक्नोलोजीलाई हटाउने क्रमको सुरु भएको छ, टेलिकमले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भनिन्- तत्कालका लागि सिडिएम प्रविधिमा आधारित दूरसञ्चार सेवा हटाउने र डायलअप लगायतका प्रविधि विस्तारै फेज आउट गर्दै लैजान्छौँ।' 

 
कुनै पनि सेवा एकैपटक हटाउने नभइ विकल्पयुक्त प्रविधि भित्र्याएरमात्र विस्थापित गर्ने उनले जानकारी दिइन्। ‘ग्राहकले सेवा लिइरहेको स्थानमा पुरानो प्रविधि चल्नेछ तर थप सेवा विस्तारका लागि भने खर्च गरिन्न, उनले भनिन्।
 
सिडिएमए, एडिएसएल तथा डायलअप प्रविधिमा आधारित सेवाका लागि उपकरण नै पाइन छोडेको हुँदा यी प्रविधिमा थप सेवा विस्तार गर्न असम्भवप्रायः भइसकेको टेलिकमले जनाएको छ।
 
नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो एमआईएस रिपोर्टअनुसार टेलिकमको सिडिएमए फिक्स्ड लाइनका ग्राहक एक लाख २१ हजार आठसय ७२ छन् भने मोबाइलका ग्राहक १४ लाख ७८ हजार सातसय ८३ रहेका छन्। 
 
सिडिएमए, डायलअप तथा एडिएसएलको विकल्पमा देशैभरी हाइ स्पिडको ब्रोडव्याण्ड इन्टरनेट तथा फोरजीमा केन्द्रित हुने टेलिकमको योजना छ।

टेलिकमले पहिलो चरणमा काठमाडौं र पोखरामा विस्तार गरेको फोरजी सेवालाई अब देशव्यापी बनाउने राजभण्डारीले जानकारी दिइन्। जसका लागि टेलिकमको प्राविधिक टोलीले देशका १५ नयाँ महानगरपालिका, उपमहानगरपालिका तथा नगरपालिकाका लागि टेण्डरको तयारी समेत गरेको छ।
 

दोस्रो चरणमा १५ घनावस्ती रहेका नगर क्षेत्रमा र तेस्रो चरणमा सवै जिल्लामा फोरजी सेवा विस्तार गर्ने टेलिकमको योजना छ।
 
टेलिकमले वाइम्याक्स चलाउनका लागि २३ सय मेगाहर्ज फ्रिक्वेन्सीमा प्राप्त गरेको ३० मेगाहर्ज फ्रिक्वेन्सीलाई पनि फोरजीमा रुपान्तरण गर्ने जनाएको छ। अहिलेसम्म नेपालमा वाइम्याक्सका ग्राहक १६ हजार छन्। जुन टेलिकमले चार बर्षमा आर्जन गरेको हो।  वाइम्याक्सवाट त्यति धेरै ग्राहक बनाउन नसकेपछि टेलिकमले उक्त फ्रिक्वेन्सीलाई फोरजीमा रुपान्तरण गरेर सेवा विस्तारको तयारी गरेको छ।
 
यस्तै ग्रामिण दूरसञ्चार कोषको रकममार्फत मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइवर विच्छाउने काम अगाडि बढाउने कम्पनीले जनाएको छ। अप्टिकल फाइवरमार्फत देशका सवै जिल्लामा हाइ स्पिडको ब्रोडव्याण्ड इन्टरनेट पुर्याउने योजना कार्यान्वयनको तयारी अन्तिम अवश्थामा रहेको राजभण्डारीले बताइन्।