प्रतिबन्धित भारतीय नोट ४५०० भारुसम्म मात्र साटिने, भारतले मानेन् २५००० साट्न, एक हप्ताको सीमा

बिजमाण्डू
२०७३ चैत्र १३ गते १२:१८ | Mar 26, 2017
प्रतिबन्धित भारतीय नोट ४५०० भारुसम्म मात्र साटिने, भारतले मानेन् २५००० साट्न, एक हप्ताको सीमा
काठमाडौं। भारतले नेपालीसँग रहेको ४५ सय भारुसम्म मात्र साट्ने भएको छ। नेपाल राष्ट्र बैंकका अधिकारीहरुसँग आइतबार बिहान छलफल गर्दै भारतीय पक्षले ४५ सय भारुभन्दा माथि साट्न नसकिने जवाफ दिएको हो।
 

भारत सरकारले आफ्नो ५०० र १००० दरका नोटमा प्रतिबन्ध लगाएपछि नेपालीसँग रहेको नोट कागजको खोस्टो बराबर भएको छ। नेपालमा ५०० र १००० दरका नोट जनही २५ हजार रुपैयाँसम्म बोक्ने सुविधा भारतले दिएको थियो।
 
नेपाल पक्षले वैधानिक रुपमा बोक्न दिएको नोट बराबर साट्न भारतीय पक्षसँग आग्रह गरेको थियो। नेपालको आग्रह भारतीय पक्षले स्वीकार गरेन।
भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इण्डियाका (आरबिआइ) का कार्यकारी निर्देशन दिपाली पन्त जोशीको नेतृत्वमा तीन सदस्यीय उच्चस्तरीय टोली छलफलकालागि आएको हो। छलफलमा नेपालकालागि भारतीय दूतावासका एक कर्मचारी पनि सहभागी छन्।
 
नेपालतर्फबाट राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी, विदेशी विनिमय विभाग प्रमुख भिष्मराज ढुङ्गाना, जनकबहादुर अधिकारी, अर्थमन्त्रालयका आनन्द ढकाल र परराष्ट्र मन्त्रालयका एक कर्मचारी छलफलमा सहभागी थिए। 
 
'हामीले वैधानिक रुपमा नेपालीलाई बोक्न दिएको २५ हजार रुपैयाँ बराबर भारु साट्न आग्रह गरेका हौं' बैठकमा सहभागी ढुङ्गानाले भने, 'उनीहरुको अडान ४५०० भारु मात्र छ।' राष्ट्र बैंकले आन्तरिक छलफल गरेर सोमबार फेरि भारतीय टोलीसँग बैठक गरी भारु विवादलाई टुङ्गाउने छ।
 
भारतीय पक्षले सटहीको काम धेरै लम्ब्याउन नहुने भन्दै एक साताभित्र सक्नुपर्ने माग राखेको छ। नेपाली पक्षले भने अहिलेसम्म भारुको लगत नलिइएका कारण एक सातामा नसकिने केही समय अझै लाग्ने अडान राखेको छ।
 
भारतीय पक्षले नेपाली बैंकहरुमा भएको भारु भने तत्कालै साटिदिने भन्दै जनतासँग रहेको भारु भने बैंकमार्फत साट्ने जनाएको छ। खासगरी भारतसँग नजिक भएर ब्यापार गर्ने, भारतीय श्रम बजारमा रोजगारीका लागि जाने तथा औषधि उपचार तथा अध्ययनका लागि भारत गइरहने नेपालीहरुसँग ५०० र १००० दरका भारु नोट छन्।
 
राष्ट्र बैंकले भारुको लगत नराखेका कारण सर्वसाधारणसँग कति पैसा छ भन्ने यकिन छैन। भारतीय पक्षले आफ्नो अडान परिवर्तन नगरे नेपालीसँग जति पैसा भएपनि स्रोत पुष्टि हुने ४५०० भारुसम्म मात्र साटिने छ। नेपाली पक्षले भने २५००० नै साट्नु पर्ने नभए एक रुपैयाँ पनि नसाट्ने अडानसमेत राख्न सक्ने स्रोतले जानकारी दियो।

Tata
GBIME
Nepal Life