सौन्दर्यको खानी सुदूरपश्चिमको अलौकिक सौन्दर्य, हेर्नुस सौन्दर्यको खानीभित्रको पर्यटनस्थल

बिजमाण्डू
२०७३ चैत्र १३ गते १२:४० | Mar 26, 2017
काठमाडौं। सौन्दर्यको खानी सुदूरपश्चिम पर्यटनको ठूलो सम्भावना बोकेको क्षेत्र हो।

Tata
GBIME
Nepal Life

यात्रीलाई मोहनी लगाउन थुम्काथुम्काबाट गाउँले युवतीझैँ जिस्क्याइरहन्छ, यहाँको अद्‍भुत प्राकृतिक सौन्दर्य। यहाँका मोहनी लगाउने हिमाल, अग्ला पहाडका धुरा, उर्वर फाँटहरू, कलकल बग्ने नदी र झरना, रहस्यमय गुफा तथा पूल र तालतलैया नै हुन्।
 


संस्कृतिले पनि सुदूरपश्चिम धनी छ। यहाँको आफ्नै मौलिक रहनसहन, भेषभूषा, चाडपर्व र चालचलन तथा विभिन्न ऐतिहासिक पौराणिक महत्व बोकेका धार्मिक–सांस्कृतिक तथा पुरातात्विक स्थलले पनि नौला यात्रीलाई विष्मयमा पार्छ।

विभिन्न शिलालेखहरुमा कोरिएको विस्मयकारी इतिहास, लुकेको आध्यात्मिक एवं दैवी रहस्य, भाषा संस्कृति र लोकसाहित्य सुदूरपश्चिमको सौन्दर्यका गहना हुन्। यिनै प्राकृतिक–सांस्कृतिक सम्पदाका कारण सुदूरपश्चिम क्षेत्र अलौकिक सौन्दर्यले सुसज्जित छ।
 


यहाँका पर्यटकीय महत्वका स्थलबारे थाहा पाउने जो–कोही पनि यहाँ घुमफिर लालायित हुन्छन्। मनोरञ्जन–पर्यटनका दृष्टिले अद्वितीय हुनुका साथसाथै यो क्षेत्र अवलोकन–पर्यटनका दृष्टिले पनि महत्वपूर्ण छ

। संस्कृतिविद्, सामाजिक एवं भौगोलिक अनुसन्धाता, लोककाव्यकार, इतिहासकार, पशुपंक्षीविद्, भाषाविद् र भूगर्भवेत्ताहरूका लागि ज्ञानको अपार भण्डार पनि हो, सुदूरपश्चिम।
 


राजनैतिक विभाजनका दृष्टिले सुदूरपश्चिम सात नम्बर प्रदेश हो। भौगोलिक हिसाबले यहाँ २ वटा जिल्ला तराई क्षेत्रमा तथा सात वटा जिल्ला पहाडी र हिमाली क्षेत्रमा अवस्थित छन्।

यसको पूर्वमा मध्य-पश्चिमाञ्चल विकास क्षेत्र, पश्चिममा भारतको उत्तराखण्ड, उत्तरमा चीनको तिब्बत तथा दक्षिणमा भारतको उत्तर प्रदेश रहेको छ। नेपाल–भारत–चीनको त्रिदेशीय भञ्ज्याङ ‘लिपुलेक’ यसै प्रदेशको सुदूर उत्तर–पूर्वी भेगमा अवस्थित छ, जुन त्रिदेशीय व्यापारिक एवं सामरिक महत्वका कारण चर्चित छ।

 
सुदूरपश्चिमका मुख्य प्राकृतिक पर्यटकीय स्थलहरुमा बाजुराको खप्तड क्षेत्र, अछामको रामारोसन, कैलालीको घोडाघोडी ताल, कञ्चनपुरको बेतकोट ताल, कर्णाली-चिसापानी क्षेत्र, अपी–नाम्पा संरक्षण क्षेत्र, पातालभूमेश्वर गुफा, दोधाराचाँदनी, सैपाल हिमाललगायत रहेका छन्।

त्यस्तै मुख्य धार्मिक पर्यटकीय क्षेत्रका रूपमा बाजुराको बडिमालिका, डोटीको शैलेश्वरी, डडेल्धुराको उग्रतारा, दार्चुलाको मालिकार्जुन, बैतडीको उदयदेव, त्रिपुरासुन्दरी, निङ्गलाशैनी, मेलौली र कैलालीको वेणाबाबालगायत प्रसिद्ध छन्।

 
सुदूरपश्चिम प्राकृतिक तथा सांस्कृतिक दृष्टिले निकै सम्पन्न भए पनि यहाँका विशेषताबारे त्यति प्रचार–प्रसार हुन नसक्दा ओझेलमै छ। सम्भावना आफैमा प्रतिफल होइन भन्ने यहाँका सचेत नागरिकले बुझेर पछिल्लो समय जागरुकता देखाउन थालेका छन्। यद्यपि राज्यस्तरबाटै यहाँको पर्यटन विकासका लागि ठोस कदम चालिनु जरुरी छ।
 
भौगोलिक रुपमा राजधानीबाट टाढा हुनु, सडकसहितका पूर्वाधारको अभाव हुनु आदि कारणले पनि यो क्षेत्र पर्यटकविहीनजस्तै बनेको छ। स्वदेशी तथा विदेशी पर्यटकहरुलाई आकर्षित गर्नको लागि सरकारी तथा निजी दुवै स्तरबाट पर्याप्त प्रयास भएमा सुदूरपश्चिममा पर्यटकहरुको आवत-जावत फस्टाउनुका साथै यस क्षेत्रमा विकास र रोजगारीको लहर पनि चल्ने देखिन्छ।

अनि यहाँको प्राकृतिक, सांस्कृतिक र धार्मिक महत्त्व सबैतिर प्रशारित हुनेछ। राज्यका साथै पर्यटन विकासका लागि काम गर्ने संस्था नेपाल पर्यटन बोर्डले पनि यस क्षेत्रलाई पर्यटकीय गन्तब्यका रुपमा स्थापित गराउनमा सक्रिय भूमिका खेल्नुपर्ने देखिन्छ।यहाँ सुदूरपश्चिमका केही पर्यटकीय स्थलहरूको तस्बिर र तिनको छोटो चर्चा गरिएको छ– 
(तस्बिर : राजेन्द्र तारकिणी र दीपसागर पन्त)

सुदूरपश्चिमको सुन्दरताको पहिचान दिलाउनमा पाटनको पनि निकै भूमिका रहेको छ। यो दृश्य पाटनबाट पश्चिमतिर देखिएको सूर्यास्तको हो।

यो बझाङ र बैतडी जिल्लाको सीमानाबाट देखिएको सूर्यास्तको दृश्य हो। बैतडीको खोड्पे बजारबाट करिब एक सय किलोमिटर हिँडेपछि बझाङको सीमाना आइपुग्छ। यहाँ केही प्रसिद्ध दर्शनीय स्थल रहेका छन्। हराभरा पहाड, मनोरम हावापानी, विविध वनस्पति र जीवहरुका लागि यो क्षेत्र परिचित छ। 

डोटीको दिपायल हुँदै बग्ने सेती नदी 

प्राकृतिक सौन्दर्य तथा जैविक विविधताले भरिपूर्ण खप्तड ओझेलमा परेको क्षेत्र हो। भूस्वर्गको नामले समेत चिनिने खप्तड पदयात्रा, मनोरञ्जन, फिल्म सुटिङलगायतका लागि महत्वपूर्ण छ। साथै खप्तड बाबाले लामो समय साधना गरेको ज्ञानभूमि भएकाले आध्यात्मिक रूपमा समेत यो प्रसिद्ध छ।
 
साना–ठूला गरी २४ भन्दा बढी पाटन (फाँट) मा फैलिएको हिन्दूहरूको पवित्र तीर्थस्थल मानिने यहाँ खप्तड बाबाको कुटी, त्रिवेणी नदी, खापर दह, शिव मन्दिर, सहस्रलिंग, गणेश मन्दिर, नागढुंगा, केदारढुंगाजस्ता धार्मिक स्थलहरू छन्। यहाँ लामो र थुम्कायुक्त हरियो फाँट चारैतिर फैलिएको छ। जंगलभित्र सुगन्ध फैलाउने जडीबुटी, लालीगुराँस र हरिया घाँसे मैदानले यसको शोभा बढाएका छन्। छिनमै वर्षात् हुने, छिनमै हिउँ पर्ने, छिनमै घाम लाग्ने र बादलले लुकामारी खेल्ने खप्तडमा एकै दिन विभिन्न ऋतुहरूको अनुभव गर्न सकिन्छ। यहाँबाट मुसुक्क हाँसिरहेको दार्चुलाको अपी र बझाङको सैपाल हिमालको पनि अवलोकन गर्न सकिन्छ।

बाजुरा जिल्लामा पर्ने बडिमालिका नेपालका प्रमुख मन्दिरहरूमध्येमै एक हो। बडिमालिकामा भगवतीको मन्दिर छ। यहाँ प्रत्येक वर्ष मालिका चतुर्दशीका दिन विशेष पूजाआजा हुन्छ। मार्तडीबाट तीन दिन पैदलयात्रा गरेपछि पुगिने बडिमालिका समुद्री सतहबाट ४ हजार २ सय १९ मिटर उचाइमा रहेको छ। यस क्षेत्रले धार्मिक तथा प्राकृतिक पर्यटनका दृष्टिले प्रचुर सम्भावना बोकेको छ। आँखै सामुन्ने टल्किने सुन्दर हिमाल, निकै टाढासम्म फैलिएका विशाल फाँट, हिउँको पौठाजोरी र मनोरम प्राकृतिक दृश्यहरु बडिमालिकाका गहना हुन्। 
यो बैतडी र भारतको सीमा क्षेत्रमा रहेको झुलाघाट बजार हो। वारि र पारि दुवैतिर बजार रहेको यस सीमानाकामा बीचबाट महाकाली नदी एकदम साँघुरिएर कडा चट्टानका बीचबाट बगेको बगेको छ।

 

कञ्चनपुर जिल्लामा अवस्थित दोधारा चाँदनीको पुल दक्षिण एसियाकै लामो झोलुङ्गे पुल मानिन्छ। महाकाली नदीमा निर्मित यस पुलले नेपालका टापु मानिने दोधारा र चाँदनी दुईवटा गाविसलाई जोडेको छ।

डडेल्धुराबाट करिब ५० किलोमिटर अगाडि गएपछि सकाइल नामक धान खेतीका लागि प्रसिद्ध सेरो आइपुग्छ। यसको किनारमा सेती नदी बगेको छ। यो डोटी जिल्लामा पर्छ। यहाँ धान पाक्ने बेलामा सेरामा निकै सुनौलो दृश्य देख्न सकिन्छ। जसले आँखालाई शितलाता प्रदान गर्दछ।

बैतडीको पातालभूमेश्वरमा प्राचीन कालदेखिको एउटा लामो रहस्यमय गुफा रहेको छ। इन्टरनेसनल सेन्टर फर दि एक्सप्लोरेसन अफ दि हिमालयाजका अध्यक्ष तथा फ्रान्सेली गुफा विशेषज्ञ मोरिस दुसेन नेतृत्वको टोलीले गरेको प्रारम्भिक अध्ययनका अनुसार आठ सय मिटरसम्मको अध्ययन गर्दा पाताल भुवनेश्वर गुफाको गहिराई १६० मिटर रहेको पत्ता लागेको थियो। उक्त अध्ययनले यो गुफा नेपालकै सबैभन्दा गहिरो गुफा रहेको निष्कर्ष निकालेको छ। संसारमा त्यस्ता धेरै रहस्यमय ठाउँहरु छन्, जसलाई देखेर मान्छे आश्चर्यमा पर्छन्। यो पनि त्यस्तै एउटा अलौकिक ठाउँ हो, जसलाई ‘स्वर्गको ढोका’ पनि भन्ने गरिन्छ।

यो गुफाभित्र अदुभूत ढुङ्गे चित्रहरू बनेका छन् भने बाहिर चारैतिरबाट मनोरम प्राकृतिक दृश्यहरुले घेरिएको छ।