भूकम्पले ध्वस्त भएको नयाँ बसपार्क क्षेत्रमा यसरी हुँदैछ पुर्ननिर्माण धमाधम,ठडिँदै नयाँ घर

बिजमाण्डू
२०७३ चैत्र १४ गते ११:५२ | Mar 27, 2017
काठमाडौं। दुर्इ वर्षअघि विनासकारी भूकम्पले उपत्यकामा सबैभन्दा बढी क्षति पुर्याएको क्षेत्र गोंगबुको नयाँ बसपार्कमा पुर्ननिर्माण धमाधम अघि बढेको छ। दुर्इ वर्षको अवधिमा यो क्षेत्रका धेरै घर ठडिएका छन्। भूकम्पको भग्नावशेष लगभग हटाइसकिएको छ।
 

Tata
GBIME
Nepal Life

व्यावसायिक उद्देश्यले नवनिर्माण गरिएका केही घरहरु आंशिक रुपमा सञ्चालनमा आइसकेका छन्। केही घर नयाँ वर्ष २०७४ को अवसर पारेर सञ्चालनमा ल्याउने तयारी गरिएको छ। बसपार्क क्षेत्रमा नयाँ घर बनाउनेले फेरि भूकम्प आए २०७२ को जस्तो वितण्डा मच्चाउन नसकोस् भनेर विशेष सावधानी अपनाएको बताउँछन्।
 

त्यसैले भूकम्प प्रतिरोधी विधिमा कुनै सम्झौता नगरेको स्थानीयको भनाइ छ। 
 
भूकम्पले पूर्ण रुपमा ध्वस्त बनाएको बिष्णु पोखरेलको घर अहिले ठडिइसकेको छ। आंशिक रुपमा सञ्चालनमा ल्याएको घर नयाँ बर्षदेखि भाडामा दिने तयारी भएको उनले बताए। 

चक्रपथ र म्हैपी जाने सडकसँगै जोडिएर लक्ष्मीनारायण महर्जनको पनि घर धमाधम बनिरहेको छ। उनी पनि छिटै घर सञ्चालनमा ल्याउने तयारीमा छन्। भूकम्प प्रतिरोधकालागि ३४ ईन्च ‘ग्राउण्ड’ ढलान गरेका महर्जनले उपत्यका विकास प्रधिकरणको नयाँ मापदण्डका कारण बाटोकालागि दुई तिर जमिन छोड्दा झन्डै तीन आना खाली ठाउँ राखेका छन्। 

 
मापदण्ड भन्दा बढी सतर्क
पोखरेललाई ईन्जिनियरले २० सुतको रड हाल्नु पर्छ भनेका थिए। उनले अब घर बनाउन सम्झौता नगर्ने भन्दै २५ सुतको रड हाले। ग्राउड ढलान ३४ ईन्च पुग्ने भए पनि उनले ४२ ईन्च ढलान गरेका छन्। 'घर त बलियो बनाउनु पर्दो रहेछ, उनी भन्छन्- त्यसैले इन्जिनियरले सुझाए भन्दा पनि पक्की बनाउने निर्णय गरेँ।’ तीन/चार लाख रुपैयाँ बढी खर्च गर्दा ढुक्क हुन सकेको उनको भनाइ छ।
 
ग्राउण्ड ढलान अनिवार्य भने छैन। तर, भूकम्पपछि भूईं ढलानबिना कसैले घर नबनाएको काठमाडौं उपत्यका विकास प्राधिकरणका अधिकृत केशव न्यौपानेले बताए।  ‘त्यसका लागि दुई/चार लाख रुपैयाँ अतिरिक्त खर्च लागे पनि घर बलियो बनाउन कसैले सम्झौता गरेका छैनन्, उनले भने।


दुई बर्ष अघि भूकम्पले ध्वस्त नयाँ बसपार्कको एउटा घरको भग्नावशेषमा पुरिनेको उद्दार प्रयास गरिँदै।  (फाइल फोटो)
 
होटल व्यवसाय फर्किदै
भूकम्पअघि बसपार्क क्षेत्रमा तिब्र रुपले फस्टाएको थियो होटल व्यवसाय। वैदेशिक रोजगारीमा जान गाउँबाट अधिकांश युवाको बसोबास बसपार्कमै हुन्थ्यो। तर, भूकम्पले बसपार्कलाई क्षतविक्षत बनाएपछि होटल पनि ढले। अहिले विस्तारै पुराना होटल सञ्चालनमा आउने तरखरमा छन्।


 

नयाँ बर्षदेखि सञ्चालन गर्ने गरी होटल सयपत्रीले भवन तयार पारिसकेको छ। भूकम्पमा पूर्णरुपमा क्षति भएको सयपत्रीले अहिले भूकम्प प्रतिरोधी भवन बनाएको हो। सँगै जोडिएको अर्जुन तारा होटल पनि सञ्चालनमा आउने अन्तिम तयारीमा छ।
 
अन्य होटलका भवन पनि बनिसकेका छन्। नयाँ वर्षदेखि नयाँ उमङ्गका साथ नयाँ बसपार्कमा व्यवसाय फर्किनेमा स्थानीयहरु पनि आशावादी छन्।
उपत्यका विकास प्राधिकरणले बाटो फराकिलो बनाउँदै छ। व्यवसायीहरु भवन उठाउँदैछन्। बनिसकेका भवनमा रंङरोगन चलिरहेको छ। बसपार्क क्षेत्रमा अहिले एक किसिमको रौनक नै देखिएको र व्यापार अब पूरानै लयमा फर्कने आशा लिएको स्थानीय गोकर्ण चन्दले बताए।