साउन १ गतेबाट १० लाख रुपैयाँमाथिको कारोबार बैंकबाट, नगद कारोबारको सीमा राजपत्रबाटै तोकियो

बिजमाण्डू
२०७३ चैत्र १५ गते ११:२४ | Mar 28, 2017

काठमाडौं। आगामी  साउन १ गतेबाट १० लाख रुपैयाँभन्दा बढीको कारोबार बैंक तथा वित्तीय संस्थाबाट गर्नुपर्ने भएको छ। सरकारले राजपत्रमा सुचना प्रकाशित गर्दै नगद कारोबारको सीमा निर्धारण गरेको हो।
 
ब्यक्ति, फर्म, कम्पनी वा संस्थाले एक पटकमा १० लाख रुपैयाँ वा त्योभन्दा बढीको कुनै सेवा वा बस्तु खरीद बिक्री तथा कारोबार गर्दा बैंक तथा वित्तीय संस्थामार्फत गर्नुपर्ने व्यवस्था गरिएको हो। सरकारले गत १० गते राजपत्रमा यस बारेमा नगद कारोबार सीमाको सुचना प्रकाशित गरेको हो।
 
बित्तीय संस्थामा निक्षेप, बचत वा सटहीका साथै वित्तीय संस्थाबाट लिएको ऋण, त्यसको साँवा तथा ब्याज भुक्तानी चेकबाटै गर्नुपर्ने हुन्छ। बित्तीय संस्थाहरुले आपसी कारोबार पनि चेकबाटै गर्नुपर्छ।
 
कुनै निक्षेपकर्ताले कुनै खास कारण देखाइ नगद भुक्तानीकालागि दिएको निवेदनको ब्यहोरा र कारण उचित देखिएमा त्यस्तो निक्षेपकर्ताको खाता रहेको संस्थाबाट १० लाखभन्दा माथि पैसा भुक्तानी दिन भने सकिन्छ।
 
यसअघि राष्ट्र बैंकले ५० लाखको सीमालाई ३० लाख रुपैयाँमा झारेको थियो। यसपाली राष्ट्र बैंकको परामर्शमा सम्पत्ति शुद्धीकरण निवारणको प्रयोजनका लागि नगद कारोबार सीमा घटाइएको अर्थमन्त्रालयका सचिव डा. शान्तराज सुवेदीले बताएका छन्।

Tata
GBIME
Nepal Life