निजगढ बिमानस्थलको मुआब्जा टुङ्गो लाग्यो,कठ्ठाको दुई लाख ४१ हजारदेखि चार लाख ६० हजारसम्म

बिजमाण्डू
२०७३ चैत्र १५ गते ११:५२ | Mar 28, 2017

काठमाडौं। दोस्रो अन्तराष्ट्रिय बिमानस्थलको मुआब्जा निर्धारण समितिले अधिग्रहण हुने जग्गाको मुआब्जा निर्धारण गरेको छ।
चैत्र १४ गते मुआब्जा निर्धारण समितिको बैठकले प्रति कठ्ठा न्युनतम दुई लाख ४१ हजार ५०० देखि अधिकतम चार लाख ६० हजार रुपैयाँसम्म मुआब्जा निर्धारण गरेको हो।

Tata
GBIME
Nepal Life

अधिग्रहणमा परेको सडकले नछोएको जग्गा प्रति कठ्ठा दुई लाख ४१ हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ।

सहायक सडकले छोएको जग्गा तीन लाख ३९ हजार २५० रुपैयाँ प्रति कठ्ठा निर्धारण गरिएको छ।

त्यस्तै मुल सडकले छोएको जग्गा चार लाख ६० हजार रुपैयाँ प्रति कठ्ठा निर्धारण गरिएको छ। कल्हवी नगरपालिका वडा नम्बर ७ ककडी र करैया गाविस वडा नम्बर ८ काँटगाउँ क्षेत्रका जमिन अधिग्रहण हुँदैछन्।

मुआब्जा रकम दावी गर्नको लागि सक्कल नागरिकताको प्रमाणपत्र, सक्कल जग्गाधनी प्रमाणपूर्जा, चालु आर्थिक वर्षमा तिरो तिरेको रसिद लगायत जग्गाको हकभोग सम्बन्धि सबुद आफुसंग भएको प्रमाण पेश गर्नुपर्ने बताइएको छ । चैत १४ गतेदेखि खुलेको निवेदन दिने म्याद ३५ दिनसम्म कायम रहने र तोकिएको समयभित्र  रितपूर्वकको निवेदन सहित दोस्रो अन्तराष्ट्रिय बिमानस्थल आयोजनाको कार्यालय रहेको सिमरा बिमानस्थल परिसर बारामा सम्पर्क गर्नुपर्ने बताइएको छ।

३५ दिन भित्र पनि निवेदन नपरेमा कानुन अनुसार आयोजना अघि बढ्ने जनाइको छ। दोस्रो अन्तराष्ट्रिय बिमानस्थल आयोजनामा परि विस्थापित हुने र अन्यत्र घर जग्गा नहुनेहरुले सोको प्रमाण पनि पेस गरेमा एक कठ्ठा भन्दा कम जग्गा हुनेहरुले तोकेको मुआब्जा भन्दा ५० प्रतिशत थप रकम पाउने छन्।  एक देखि पाँच कठ्ठा मात्र क्षेत्रफल हुने हरुले थप २५ प्रतिशत रकम मुआब्जा पाउने निर्णय पनि समितिले गरेको छ।