एकसाताभित्रै भक्तपुरमा साझा बस गुड्ने भो, रुट इजाजत केही दिनमै, सुरक्षा दिने तयारी

बिजमाण्डू
२०७३ चैत्र १५ गते १७:५६ | Mar 28, 2017

काठमाडौं। साझा यातायातले यहि चैत २० सम्ममा भक्तपुरका लागि रुट इजाजत पाउने भएको छ । यातायात व्यवस्था विभागका अनुसार इजाजपत्रको काम अन्तिम चरणमा रहेकाले केही दिन  भित्रैमा साझाले पाइसक्नेछ ।

Tata
GBIME
Nepal Life

स्वच्छ प्रतिस्पर्धाबाट कानुनी हिसावले आएमा रुट इजाजत दिने व्यवस्था भएकाले साझालार्इ रुट दिने तयारी अन्तिम चरणमा रहेको यातायातले बताएको हो । साझा कानुनी र स्वस्थ प्रतिस्पर्धामा आएकाले स्थलगत अध्ययन र परिक्षण पछि रुट इजाजत दिन लागिएको बिभागले जनाएको छ ।
साझाका निमित्त  कार्यकारी प्रमुख महेन्द्रराज पाण्डेले यातायातले कानुनी प्रक्रिया पुरा गरेर गएकाले रुट दिन तयार भएको बताएका छन् । उनले साझा भक्तपुरका यात्रुका लागि सेवा दिन तयार रहेको र रुट इजाजत पाउने वित्तिकै सञ्चालन गर्ने बताए । उनले यहि चैतको तेस्रो साता सम्म साझाका बस भक्तपुरमा कुद्ने जानकारी दिए।

साझाले भक्तपुरका दुइवटा रुटमा गरी २० वटा बसका लागि यातायात कार्यालयसंग फागुन ३० गते रुट माग गरी आवेदन दिएको थियो । यातायातले सुरक्षाको कारणले गर्दा रुट इजाजत दिन केही ढिला भएपनि सुरक्षाको प्रत्याभूति भएपछि सेवाा सुरु गर्न लागिएको बताएको छ ।
यातायात ब्यवस्था विभागले दिएको जानकारी अनुसार भक्तपुरका प्रमुख जिल्ला अधिकारीले सुरक्षाको प्रत्याभूति दिएकाले  साझाले बस सेवा सुरु गर्न लागेको हो। बिभागका अनुसार चैत २० सम्ममा साझाले भक्तपुरको रुट इजाजत पाउनेछ।

साझाले मागेको रुट कुन कुन ?
अब काठमाडौंको कलङ्की- कालीमाटी- त्रिपुरेश्वर- सुन्धारा रत्नपार्क -पुतलीसडक-सिहदरबार -माइतीघर -बबरमहल -नयाँ बानेश्वर -मिनभवन हुदै भक्तपुर तिर जानेछन् । दशवटा बस सञ्चालित यो रुटमा थप दशवटा बस आउनेछन् ।

दशवटा बसहरु जडिबुटीको बाटो भएर पुरानो ठिमी हुदै कमलविनायकको बाटो फर्कने छन् । अरु दशवटा बस भने जडिबुटीबाट नयाँबाटो कमलविनायक हुँदै पुरानो बाटोबाट रत्नपार्क फर्कने छन् ।

व्यवसायीको दादागिरी कायमै

व्यवसायीहरुले भक्तपुरमा आफ्नो एकाधिकार तोडिने भन्दै विरोध जनाउदै आएका छन्।
साझा बस गत दशै अगावै चल्ने हल्ला चलेपछि भक्तपुर मिनिबस सेवा समितिले साझालार्इ भक्तपुरमा छिर्न नदिने निर्णय गरेका थिए ।
गत फागुनमा साझा यातायातले रुट इजाजतका लागि लिखित रुपमा यातायात व्यवस्था विभागमा आवेदन दिएको थियो । यस लगत्तै भक्तपुरका बस व्यवसायीले इजाजत रोक्न दबाब दिँदै आएका छन् ।
 
उपत्यकाका सबै रुटमा साझा बस चलाउन यात्रुको माग

साझाका बसहरु उपत्यकाका सबै रुटमा सञ्चालन हुनुपर्ने माग जताततै बढ्न थालेको छ। यात्रुमैत्री ठूला बसहरुबाट सेवा दिइरहेको  साझाले ३ सय ६५ दिन नै सेवा दिन थालेपछि सबैतिर माग बढ्न थालेको साझाका निमित्त कार्यकारी प्रमुख महेन्द्रराज पाण्डेले बताए । साझाले बन्द,हडताल जस्ता दिनहरुमा समेत आफ्नो सेवा दिने गरेकाले यात्रुहरुले साझाको सेवा रुचाएका हुन्।

विहान ६:३० बजेदेखि बेलुका ८ बजे सम्म ननस्टप चल्ने भएकाले पनि साझाको माग बढ्दै गएको हो । अरु गाडीहरु मन लाग्दा चलाउने,गन्तव्य सम्म नपुर्याइ यात्रुलाइ छोड्ने जस्ता कारणले पनि यसको माग बढ्दै गएको  छ ।

पछिल्लो समय रातको समयमा समेत बसहरु सञ्चालनमा आएपछि साझा अझ लोकप्रिय भएको छ । भक्तपुरमा पनि साझाका बसहरु चल्नुपर्ने भक्तपुरका यात्रुहरुले माग गर्दै आएपनि ब्यवसायीहरुले भने एकाधिकार खोसिने डरले बिरोध गर्दै आइरहेका छन्।