१० दिन देखि बढेको शेयर बजारमा चाकाचुली खेल्दै लाग्यो ब्रेक, कारोबार रकम अढाई अर्ब माथि

बिजमाण्डू
२०७३ चैत्र १६ गते १५:५६ | Mar 29, 2017
१० दिन देखि बढेको शेयर बजारमा चाकाचुली खेल्दै लाग्यो ब्रेक, कारोबार रकम अढाई अर्ब माथि


काठमाडौँ । लगातार १० कार्य दिन देखि बढिरहेको शेयर बजारमा ११ औँ दिन ब्रेक लागेको छ। नेपाल स्टक एक्सचेन्जमा(नेप्से) परिसूचकमा गिरावट आएपनि कारोबार रकमले भने शेयर बजारप्रति लगानीकर्ताको विश्वास कायम देखाएको छ। बुधबार कारोबार रकममा उलेख्य वृद्धि देखिएको हो। 
 
१६१० अंकमा खुलेको बजार १२ मिनेटमै १६४२ अंकसम्म उक्लिएको थियो। त्यस पछि बजार बढ्ने क्रममा ब्रेक लाग्यो। चाकाचुली खेल्दै अघि बढेको बजार अन्त्यमा २२.३३ अंकको गिरावट सँगै १५८८.२९ अंकमा ओर्लिएको छ। क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ४.६२ अंकले घटेर ३४५.८८ अंकमा झरेको छ।
 
बुधबार १४९ कम्पनीको दुई अर्ब ५४ करोड ५० लाख रुपैयाँ बराबरको ४९ हजार कित्ता शेयर बिक्रि भएका छन्। शेयर बजारमा विरलै मात्र दुई अर्ब रुपैयाँ माथिको कारोबार हुने गरेको छ। कारोबार रकममा आएको उच्च बृद्धिका कारण बजार घटेपनि लगानीकर्ताको मनोबल कमजोर नदेखिएको शेयर ब्रोकर दिपशिखा धितोपत्र कारोबार कम्पनीका निर्देशक विष्णुराज ओझाले बताए। ‘सर्ट टर्म’ नाफा बुक गर्ने लगानीकर्ताले ‘सेलिङ प्रेसर’ बढाएपछि बुधबार बजार ओरालो लागेको उनको भनाइ थियो।   
 
आज सबैभन्दा धेरै नेपाल बंगलादेश बैंकको सस्थापक शेयर खरिद बिक्री भएको छ। बैंकको ३८ करोड रुपैयाँको संस्थापक शेयर किनबेच भएको हो। बजार स्रोतका अनुसार प्रवर्धक एनबी ग्रुपले आफ्नो स्वामित्वको शेयर बिक्री गरेको छ। 
 
एनबी बैंकको साधारण शेयर समेत २० करोड रुपैयाँको खरीद बिक्रि भयो। बैंकले निस्कासन गर्न लागेको हकप्रद शेयरका लागि बिहीबारबाट बुक क्लोज गर्न लागेको हुँदा आज कारोबार बढेको जनाइएको छ। 
 
बुधबार बैंङ्किङ २०.०५, होटल ६६.२७, विकास बैंक १६.९८, जलबिद्युत ७३.९९, फाइनान्स १२.६, बीमा १५२.३२, उत्पादन मुलक १.७६ र अन्य समुह उपसूचक १.४४ अंकले घटेका छन्। ट्रेडिङ उपसूचकमा भने १.६८ अंकको वृद्धि देखिएको छ ।
 
बुधाबरको कारोबारमा सिन्धु बिकास बैंक र कन्काई विकास बैंकका शेयर धनीले करिब १० प्रतिशत कमाएका छन् भने नेपाल बैंकको सस्थापक शेयरको मूल्य १० प्रतिशतले घटेको छ।

Tata
GBIME
Nepal Life