एयरलाइन्सबीच चर्को ‘प्राइसवार’, काठमाडौं-बिराटनगर भाडा २२०० सम्म, अब नयाँ ‘कस्मिक’ को?

बिजमाण्डू
२०७३ चैत्र १६ गते १७:४१ | Mar 29, 2017
एयरलाइन्सबीच चर्को ‘प्राइसवार’, काठमाडौं-बिराटनगर भाडा २२०० सम्म, अब नयाँ ‘कस्मिक’ को?
काठमाडौं । आन्तरिक उडानमा हवाई सेवा प्रदायक कम्पनीहरुले नयाँ जहाज थपेसँगै चर्को ‘प्राइसवार’ सुरु भएको छ। हवाई भाडादर घटेको फाइदा उपभोक्तालाई भए पनि कम्पनीहरुबीचको अश्वस्थ प्रतिश्पर्धाले अर्को ‘कस्मिक एयर’ जन्मिने खतरा समेत बढेको छ।
 
पछिल्लो समय बुद्ध एवं सौर्य एयरले नयाँ जहाज ल्याएर साविक गन्तव्यमा नै उडान संख्या थपेका छन्। यति एयरले पनि नयाँ जहाज थप्ने प्रकृया सुरु गरेको छ। अफसिजनका बेला जहाज थपिएपछि ग्राहक तान्न कम्पनीहरुबीच चर्को होड सुरु भएको हो।

Tata
GBIME
Nepal Life


 

अहिले हवाई सेवा कम्पनीले धेरै व्यस्त हुने (ट्रङ्क) मध्ये सरदरमा काठमाडौं-विराटनगर २८ सय रुपैयाँ, काठमाडौं-नेपालगंज ३५ सय रुपैयाँ, काठमाडौं-भद्रपुर ३७ सय रुपैयाँ, काठमाडौं-धनगढी चारहजार रुपैयाँ र काठमाडौँ-भैरहवा तीन हजार रुपैयाँमा उडान गरि रहेका छन्। यी रुटको औषत भाडा क्रमशः ५७ सय, ७५ सय, सात हजार, १० हजार र पाँच हजार रुपैयाँ तोकिएको छ। 


सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमले केहि महिना पहिले नै हवाई भाडा घटाएपछि निजी कम्पनीहरुलाई दवाव सुरु भएको थियो। जहाज थपिँदै जाँदा यो दवाव झनै तिब्र हुन पुग्यो। प्रतिश्पर्धीलाई खस्काउन भाडा घटाएको भन्दै कम्पनीहरुबीच आरोप/प्रत्यारोप समेत सुरु भएको छ। 
 
बुद्ध एयरले नयाँ एटिआर ७२ जहाज ल्याएसँगै भाडादर घटाएको छ। कम्पनीले २२ सय रुपैयाँसम्ममा विराटनगर एकतर्फी उडान गरेको हो।  बुद्धले बिराटनगर दैनिक सात उडान गरि रहेको छ। अहिले अफ सिजनमा जहाज संख्या बढेको कारण भाडा धेरै घटेको र यो अवस्था सधैं कायम नरहने कम्पनीका मार्केटिङ डाइरेक्टर रुपेश जोशीले बताए। 


बुद्धले नयाँ एटीआर ७२ जहाज ल्याएसँगै प्रायः सबै गन्तव्यमा उडान थपेको छ। सोही क्रममा भैरहवामा दैनिक उडान संख्या तीनबाट चार पुर्याएको हो। उडान थपेसँगै कम्पनीले ३९ सय रुपैयाँमा यात्रु उडाउने घोषणा गरेको थियो। त्यसपछि अरु कम्पनीले भाडा घटाउन थाले। जसको परिणाम स्वरुप उक्त ‘सेक्टर’को भाडा तीन हजार रुपैयाँमा झरेको हो।


नेपाली आकाशमा वायुसेवा निगमसँगै बुद्ध एयर, यति एयर र सौर्य एयरलाइन्सको प्रतिस्पर्धा रहेको छ। यी कम्पनीले भाडा दर घटाएसँगै गोमा र सिम्रिक एयरले समेत छुट घोषणा गरेका छन्। तुलनात्मक रुपमा ट्रङ्क रुटमा अहिले भाडादर न्युन बिन्दुमा झरेको नेपाल नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता वीरेन्द्र श्रेष्ठले बताए। 
 
प्राधिकरणले ‘फूल’ भाडाको ५० प्रतिशत भन्दा बढि छुट दिन नपाउने प्रावधान राखेको छ। अस्वश्थ प्रतिश्पर्धालाई निरुत्साहन गर्न प्राधिकरणले राखेको यो प्रावधानलाई समेत तोडेर कम्पनीहरुले ‘प्राइस’वार सुरु गरेका हुन्। 
 
हालै नयाँ जहाज थपेको र नियमित उडान गरि रहेको सौर्य एयरलाइन्सले भने चैतमा यात्रुको फ्रिक्वेन्सी कम भएको कारण भाडा घटाउनुपरेको जनाएको छ। निगम सहित निजी क्षेत्रका अधिकांश कम्पनीले जहाज थप्दा त्यसै पनि प्रतिश्पर्धा बढेको कम्पनीका मार्केटिङ प्रमुख मुकेश खनालले बताए।
 
उनले यो समयमा नेपाल सरकारका कर्मचारीमा निर्वाचन आचार संहिता लागु भएका कारण पनि यात्रुको चाप कम भएको बताए। बैसाख लागेलगत्तै यात्रु चाप बढ्ने र त्यसबेला पनि भाडादर साविक अवस्थामा नपुगे साना एयरलाइन्स कम्पनी चेपुवामा पर्ने उनले बताए। 


 
के हो कस्मिक एयर प्रकरण?
सात बर्षसम्म चलेको कस्मिक एयर अन्त्यमा अश्वस्थ प्रतिश्पर्धाका कारण डुबेको थियो। कम्पनीले काठमाडौँ-बिराटनगरको भाडा दुई हजार रुपैयाँ हाराहारी झारेर हरेक उडानमा एउटा मोटर साइकल समेत उपहार दिएको थियो। 
 
अरु कम्पनी माथि दवाव सिर्जना गर्न १०० क्षमताका ठूला जहाज ल्याएर कस्मिकले सुरु गरेको प्राइस वारले अन्ततः उसैलाई लखेट्यो र कहिल्यै उठ्न नसक्ने गरि कम्पनी बन्द भयो। अहिलेको चर्को प्रतिश्पर्धाले नयाँ कस्मिए एयर जन्मन सक्ने भन्दै हवाई सेवा कम्पनीहरुले चिन्ता जनाउन थालेका छन्। अहिलेको प्राइस वारले स्थापित भन्दा नयाँ र साना कम्पनीलाई नै बढि चेपुवामा पार्ने उनीहरुको भनाइ छ।