म्यान्मारको टोलीलाई पाठ पढाउँदै प्रधानमन्त्रीले भने, ‘एकै पटक सबै खोज्नु हुँदैन’

बिजमाण्डू
२०७३ चैत्र १७ गते १५:०७ | Mar 30, 2017
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले म्यान्मारको शान्ति टोलीलाई नेपालको शान्ति प्रक्रिया र सफलताको कथा पढाएका छन्।
 

नेपालको शान्ति प्रक्रियाबारे अध्ययनका लागि आएको म्यानमार विद्रोही-सरकारी संयुक्त टोलीलाई आज प्रधानमन्त्रीले नेपालको शान्ति प्रक्रियाको अनुभव सेयर गर्ने कार्यक्रम राखिएको थियो।
 
१) एकअर्काप्रतिको विश्वास
प्रधानमन्त्री दाहालले शान्ति प्रक्रियाको सफलताको सबैभन्दा महत्वपूर्ण कुरा विद्रोही र सरकारी टोलीका सदस्यबीचको विश्वास भएको बताए। विश्वासबाट मात्र सम्बन्धमा प्रगाढता आउने र त्यसले मात्र गन्तव्यसम्म पुर्‍याउने प्रधानमन्त्री दाहालले बताए।
 
'हामीले एकतर्फी रुपमा तीन महिनाका लागि युद्धविराम गर्‍यौँ, सामाजिक यथार्थ र नागरिकको भावना बुझेर गरेको हुनाले त्यसले सरकारलाई पनि युद्धविरामका लागि बाध्य बनायो,' दाहालले भने, 'गिरिजाबाबुको अन्तर्राष्ट्रिय जगतमा रहेको लोकतान्त्रिक नेताको 'टावरिङ पर्सनालिटी' र हामीबीचको विश्वासले नै त्यसको तीन महिनाभित्र १२ बुँदे समझदारीमा हस्ताक्षर सम्भव भयो।'
 
२) विद्रोहीले एकैपटक सबै कुरा खोज्न हुँदैन
प्रधानमन्त्री दाहालले विद्रोहीको स्वभाव एकैपटक सबैकुरा लिने भए पनि त्यसो गर्दा परम्परागत शक्तिले फाइदा लिने भन्दै बलियो समझदारी गरेर सम्झौता खुकुलो र लचिलो बनाउनुपर्ने सुझाव दिए।
 
'हामीले १२ बुँदेमै गणतन्त्र लेख्न चाहेका थियौँ, तर त्यहाँ गणतन्त्र लेख्यौँ भने राजा र उनीसँग जोडिएको तत्कालीन सेनाको तारो बनिन्छ भन्ने कुरामा गिरिजाबाबु र एमालेका नेताहरुले कन्भिन्स गर्नुभयो’, दाहालले भने, 'त्यसपछि हामी पछि गणतन्त्रसम्म पुग्ने बलियो समझदारीसहित पूर्ण प्रजातन्त्र लेख्न सहमत भयौँ। १२ बुँदेमा गणतन्त्र नभएर पूर्ण प्रजातन्त्र उल्लेख भयो।'
 
दाहालले त्यही समझदारीमा संविधानसभाको चुनावपछि संविधानसभाको पहिलो बैठकबाट गणतन्त्र घोषणा गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउन सम्भव भएको बताए।
 
३) राजनीतिक भए शान्ति प्रक्रिया नत्र 'ल एण्ड अर्डर'
प्रधानमन्त्री दाहालले जनतासँग जोडिएर राजनीतिक विषय उठाउनसँग मात्र शान्ति प्रक्रिया हुने भन्दै अन्यलाई 'ल एण्ड अर्डर' बाट नै व्यवस्थापन गर्नुपर्ने बताए। 'तपाईहरु राजनीतिक रुपमा स्थापित हुनुहुन्छ। हामीले यहाँ जस्तै 'सिजफायर' पनि गर्नुभएको छ,' दाहालले भने, 'त्यसैले अब नेपालको मोडल अध्ययन गर्नुहोस्। हाम्रो सहयोग आवस्यक भए लिनुहोस् र अघि बढ्नुहोस्।'   
 
४) द्वन्द्व व्यवसायीसँग सजग हुनुहोस्
प्रधानमन्त्रीले वर्मेली शान्ति टोलीलाई द्वन्द्वव व्यवसायीबाट सजग हुन सुझाव दिए।
 
'कतिपय मानिसहरुलाई द्वन्द्व चलिरहोस् भन्ने हुँदो रहेछ, त्यस्ता मानिसहरु संसारमै छन्,' प्रधानमन्त्री दाहालले भने, 'त्यस्ता मानिसहरु द्वन्द्व व्यवसायी हुन् र युद्ध र द्वन्द्व भएन भने उनीहरुको व्यवसाय बन्द हुन्छ र उनीहरु सुझाव दिएझैँ गर्दै द्वन्द्वलाई बढाइरहन चाहन्छन्।'
 
दाहालले त्यस्ता द्वन्द्व व्यवसायीहरु एकदमै ठूलो सहयोगी र विज्ञका रुपमा आउने गरेको सुनाए। 'बिना शर्त कसैले सहयोग गरिरहन्छ र पटक-पटक सल्लाह दिन आइरहन्छ भने त्यो द्वन्द्व व्यवसायी हो भनेर चिन्नुहोस्,' प्रधानमन्त्रीले वर्मेली टोलीलाई सुझाए।
 
५) ‘नेपाल सानो देश नभएको भए’
प्रधानमन्त्री दाहालले नेपालको शान्ति प्रक्रिया विश्वमै नयाँ खालको र सबैभन्दा उदाहरणीय पनि भएको भन्दै नेपाल सानो र गरिब देश भएकाले मात्र विश्वले त्यसलाई प्रचार गर्न तयार नभएको बताए।
 
'विश्वको कुनै शक्ति राष्ट्र वा धनी राष्ट्र भएको भए नेपालको शान्ति प्रक्रिया विश्वका लागि उदाहरणीय र आदर्शका रुपमा प्रचारित हुँदै धेरैको अध्ययनको विषय बन्न सक्थ्यो,' प्रधानमन्त्री दाहालले भने, 'तर नेपाल सानो र गरिब राष्ट्र भएकाले नै हुन सक्छ, विश्वले यतातिर त्यतिसारो ध्यान दिएको छैन।'
 
उनले बर्माले नेपालसँग सिक्दै मौलिक शान्तिप्रक्रियाको विकास गर्नुपर्ने उनले बताए।
 
६) जस्ताको तस्तै लागू हुन्न
प्रधानमन्त्री दाहालले कुनै पनि देशको शान्ति प्रक्रिया अर्को देशमा जस्ताको तस्तै लागू नहुने भन्दै केही न केही मौलिकता आवश्यक हुने बताए।
 
'नेपालको शान्तिप्रक्रिया पनि आफैमा मौलिक र छुट्टै प्रकारको छ र विश्वका धेरै शान्तिप्रक्रिया भन्दा सरल र छिटो गतिको पनि छ' उनले भने। त्यसैले पनि वर्माले नेपालको शान्ति प्रक्रियाका महत्वपूर्ण अंश लिएर मौलिक आवश्यकताको सम्बोधन गर्दै अघि बढाउनुपर्ने उनले बताए।
 
७) सबै समूहलाई सम्बोधन, व्यवस्थापन गर्नुस्
प्रधानमन्त्री दाहालले शान्ति प्रक्रियामा सबै पक्षलाई समेट्न आग्रह गर्दै सबै पक्षले अपनत्व ग्रहण गरेपछि मात्र प्रक्रियाको वैधता बढ्ने र प्रक्रिया बलियो पनि हुने बताए।
 
'सबै पक्षलाई समेटेर अघि बढ्नुहोस र आदिवासी समूहहरुसहित सबैलाई प्रक्रियामा सम्बोधन गर्नुहोस्,' प्रधानमन्त्री दाहालले भने, 'त्यसो गर्न सक्नुभयो भने मात्र सबै समुदाय सन्तुष्ट हुन्छन्। समाज पनि 'भाइब्रेन्ट' हुन्छ।'
 
नेपालबारे थप सिक्न चाहेमा हामी सघाउँछौँ
प्रधानमन्त्री दाहालले म्यान्मारको टोलीलाई नेपालका विषयमा अध्ययन अन्तर्क्रियाका लागि सहयोग गर्ने भन्दै आवश्यक लजिस्टिक सहयोग पनि गर्ने बताए।
 
म्यान्मार (बर्मा)को विद्रोही समूह सेना प्रमुख, विद्रोही पार्टीका नेता, बहालवाला जर्नेल, रिटायर्ड जर्नेल तथा सहजकर्ता तथा पर्यवेक्षकसहितको टोली हिजोदेखि नेपालमा छ।
 
नेपालको माओवादी लडाकुको व्यवस्थापन पुनःस्थापना तथा समायोजन समितिका संयोजक भएर काम गरेका पूर्व जर्नेल बालानन्द शर्मा म्यान्मार टोलीको निमन्त्रणामा त्यहाँ गएका बेला नेपालको शान्ति प्रक्रियाबारे बुझ्न खोजिएको थियो। उ

Tata
GBIME
Nepal Life

नले आफूलाई 'सेना समायोजनबाहेक' शान्ति प्रक्रियाका आन्तरिक र प्राविधिक पक्ष थाहा नभएको र शान्ति प्रक्रियाको एउटा पक्षका नेता गिरिजाप्रसाद कोइराला भएको अनि विद्रोही पक्षका नेता हाल प्रधानमन्त्री रहेकाले त्यहाँ आउन सम्भव नहुने भन्दै नेपालमै आउन आग्रह गर्दै निम्ता दिएका थिए।

 
उनको निमन्त्रणालाई स्वीकार गर्दै आउन तयार भएको टोली प्रधानमन्त्री दाहालले समय दिन्छु भनेपछि उत्साहित हुँदै नेपाल आएको थियो।सरकारी तथा विद्रोही टोलीका नेताहरुको २१ सदस्यीय टोलीलाई वर्मेली राजदुतले यहाँ सहयोग गरिरहेका छन्।
 
पाँच दिनसम्म नेपालमा रहने टोलीले समायोजित सेनाको व्यारेक, माओवादी लडाकुको चितवनस्थित शक्तिखोर शिविरको स्थलगत भ्रमण तथा अध्ययन गर्नेछ भने नेपालको शान्तिप्रक्रियामा संलग्नहरुसँग अन्तरक्रिया  गर्नेछ।