दुई दिनमा खर्ब रुपैयाँ कमाउने आरके दामीनीको बिजनेश मन्त्र

बिजमाण्डू
२०७३ चैत्र २७ गते ०९:०८ | Apr 9, 2017
दुई दिनमा खर्ब रुपैयाँ कमाउने आरके दामीनीको बिजनेश मन्त्र

मुम्बई । मिस्टर ह्वाइट एण्ड ह्वाइट, भारतको कर्पोरेट जगतमा राधाकृष्ण दमानी जसलाई यही नामले बढी चिनिन्छ। सेयर बजारका लगानीकर्ता दमानी रिटेल स्टोर डिमार्ट कम्पनीका संस्थापक र सञ्चालक समेत हुन्।
 

Tata
GBIME
Nepal Life

दमानी जसले विहिबार र शुक्रवार दुई दिनमा शेयर बजारबाट आफ्नो सम्पत्ती ६१ अर्ब भारु(झण्डै एक खर्ब रुपैयाँ)ले बढाए। उनको कम्पनी डिमार्ट मार्च २१ मा शेयर बजारमा सूचिकृत भएको थियो। सूचीकृत भएको पहिलो दिन उनको कम्पनीको शेयर मूल्य ११४ प्रतिशतले बढेको थियो।
 
मार्च २१ यता मात्रै दमानीको डिमार्टमा भएको शेयर मूल्य साढे दुई गुणाले बढिसकेको छ। डिमार्टको शेयर २९९ रुपैयाँमा मुम्बइ स्टक एक्सचेञ्जमा सूचीकृत भएको थियो। शुक्रवार यो शेयरको अन्तिम कारोवार ७५०.५० भारुमा भएको छ। गत बुधवार मात्रै यो कम्पनीको शेयर ६३१.६० भारुमा कारोवार भएको थियो।
 
डिमार्ट चलाउने कम्पनी एभेन्युज सुपरमार्केटमा दमानी, उनकी श्रीमती र भाईको ८२.२ प्रतिशत शेयर अर्थात ५१ करोड २९ लाख १० हजार कित्ता शेयर छ। सम्पत्ती बढेसँगै लोप्रोफाइलमा बस्ने दमानी परिवार भारतको २० औं धनीको सूची भित्र आइसकेका छन्। दामिनीले राहुल बजाज, अनिल अम्बानी र अनिल अग्रवाल जस्ता भारतका धनीलाई समेत पछि पारेका छन्।
 
अर्बपति सूची बनाउने व्लुमवर्ग बिलेनियर इन्डेक्सकाअनुसार शुक्रवार दमानी परिवारको सम्पत्ती चार अर्ब १० करोड डलर पुगेको छ। उनी विश्वका पाँच सय धनीको सूची भित्र समेत छिरेका छन्। अनिल अम्बानीसँग दुई अर्ब ७० करोड डलर, अनिल अग्रवालसँग तीन अर्ब डलर र बजाजसँग साढे तीन अर्ब डलरको सम्पत्ती छ।
 
१५ वर्षमा आर्जेको सम्पत्ती
दमानीको अर्वपती बन्ने यात्रा सन् २००० मा सुरु भएको थियो। उनले रिटेल सुपरमार्केट चेन डिमार्टबाट खाद्यान्न लगायतका खुद्रा सामान बिक्री सुरु गरेका थिए। उनको कम्पनीले अहिले नौ राज्यमा ११८ वटा स्टोर चलाउँछ।
 

रणनीतिक लगानीकर्ता
डिमार्ट चलाउनुअघि दमानी सेयर बजारमा राकेश झुनझुनवाला जस्तै लगानीकर्ता थिए। सुरक्षित र दिर्घकालीन लगानी गर्ने रणनीतिका कारण उनलाई पुँजीबजारमा मूल्यवान लगानीकर्ताका रुपमा हेर्न थालियो। कतिपय अवस्थामा त उनलाई झुनझुनवालाको गुरुका रुपमा समेत व्याख्या गरिन्थ्यो।
 
उनी शेयर बजारमा सबैभन्दा सस्तो तर भविष्य राम्रो भएको कम्पनीको शेयर छान्थे। र त्यो सेयरलाई उनी लामो समयसम्म होल्ड गरेर राख्थे। उनी मिडियाका सामु कहिल्यै आउँदैन्थे, उनी चाहन्थे कामले उनको परिचय देओस्।
 
दमानीले आफ्नो व्यवसायिक जीवनको सुरुवात 'बल बियरिङ'को कारोवारबाट थालेका थिए। उनलाई शेयर बजारमा आउने कुनै चाहना थिएन। तर भाग्यले उनका विषयमा अर्कै कुरा लेखेको थियो।
 
जब उनका पिताको देहान्त भयो, तब दामिनीले 'बल बियरिङ'को कारोवार छाड्नुपर्यो। भाईसँगै बाबुले चलाइरहेको शेयर दलाल कम्पनी चलाउने जिम्मा आइलाग्यो। ३२ वर्षका उनलाई त्यतिवेलासम्म शेयर बजार कसरी सञ्चालन हुन्छ भन्ने जानकारी समेत थिएन।
 
तर बजारको माहोल बुझ्न उनलाई धेरै समय लागेन्,  पुँजी बढाउन हेरेर वा गमेर होइन, दीर्घकालीन लगानीकर्ता बन्नुपर्छ भन्ने समझ उनमा आयो।
 
उनको रणनीति ज्यादै सरल थियो, कुनै पनि सेयरमा गरेको लगानी पाँचदेखि दश वर्षका लागि हुनुपर्छ। उनले कम्पनीको उत्पादन हेर्न थाले, के यसको भविष्य छ जानकारी लिन थाले। उनको रणनीति सही दिशामा बस्यो। आगामी केही वर्ष भित्र उनी दलाल स्ट्रिटका ठूला गनिएका लगानीकर्तामध्ये एक बने।
 
दामिनी जसले सन् ८० को उतरार्द्ध र ९० को सुरुमा बहुराष्ट्रिय कम्पनीको सेयर किन्न थाले।
 
एउटा समय उनीसँग जिई क्यापिटल ट्रान्सपोर्टेशन इन्डष्ट्रिज(१.४३ प्रतिशत), भिएसटि इन्डष्ट्रिज(२३.९७ प्रतिशत), समटेल लिमिटेड(३.०५ प्रतिशत), स्कालफ्रस्ट इन्ग(१.०५ प्रतिशत), सोमानी सेरामिक्स(२.७९ प्रतिशत), जयश्री टि(१.०७ प्रतिशत), थ्रिएम इण्डिया (१.४८ प्रतिशत) सेयर थियो।
 
सन् २००१ को उच्चतम विन्दुमा पुगेपछि एक दिन उनले बजारमा सक्रिय नरहने निर्णय गरे। अनि उनले डिमार्ट बनाउने प्रक्रिया सुरु गरे।
 

के हो डिमार्ट ?
प्यारेन्ट कम्पनी एभेन्यु सुपरमार्केटले डिमार्टको चेन सञ्चालन गर्छ। जुन सन् २००० मा दामिनीले मुम्बईमा सुरु गरेका थिए। यो एउटा परिवारका लागि चाहिने सबै सामान उपलब्ध हुने 'वान स्टप सपिङ डेस्टिनेशन' हो।
 
यहाँ घरायसी सामानहरु खाद्यान्न, सौन्दर्य सामाग्री, किचन तथा बाथरुममा प्रयोग हुने कपडादेखि अन्य सामानहरु, खेलौना, स्टेशनरी, चप्पलजुत्ता लगायतका सामानहरु उपल्बध हुन्छन्।
 
डिमार्टको रणनीति के हो?
डिमार्टमा तुलनात्मक रुपमा सामान सस्तो पाइन्छ भने उपभोक्तालाई सहज हुने गरी स्टोरको डिजाइन तयार गरिएको छ। डिमार्टले उपभोक्ता माझ छुट दिने स्टोरका रुपमा आफ्नो छवि बाएको छ। कम्पनीले सबै मुख्य ब्राण्डका सामानमा छुट दिने गरेको छ।
 
उपभोक्ता डिमार्टमा किन आउँछन् भने सबै कुरा एउटा छाना भित्र पाइन्छ र सबै स्टोर उपभोक्ताको भीड लाग्ने ठाउँमा सञ्चालन गरिएका छन्। डिमार्टका तीन वटा फर्मयाट छन्।
 
पहिलो हो सुपरमार्केट यो ३० देखि ३५ हजार स्क्वायर फिटमा फैलिएको हुन्छ। अर्को छ, एक्सप्रेस फर्मयाट जुन स्टोर सात हजारदेखि १० हजार स्क्वायर फिटमा फैलिएको हुन्छ र तेस्रो हो सुपर सेन्टर जुन स्टोर एक लाख स्क्वायर फिटसम्म फैलिएका छन्।
 
डिमार्टले मुख्य गरी मध्यमवर्गका उपभोक्तालाई टार्गेट गर्छ। उनीहरुलाई छुट अफर दिएर कम्पनीले मुख्यगरी सेल्सको भोल्युम बढाउँछ। अर्थात डिमार्टको सफलता उपभोक्ता, सामान विक्रेता र कर्मचारीमा निर्भर छ।
 
उपभोक्ताको सम्मान
डिमार्ट मध्यमवर्गका लागि लक्षित छ। त्यसैले उनीहरुका स्टोर मलमा नभएर रेसिडेन्सियल क्षेत्रमा छन्।
 
अर्कोतर्फ डिमार्ट सञ्चालन भैरहेका ९० प्रतिशत स्टोर आफ्नै सम्पत्ती हुन्। त्यसैकारण महिनावारी भाडा, भाडाको वृद्धिदर तथा त्यसलाई रिलोकेट झण्झटबाट कम्पनी संधै मुक्त छ। यसले बुकमा डिमार्टको सम्पत्ती बढाउन समेत भूमिका खेलेको छ।
 
यसले डिमार्टलाई नगद व्यवस्थापनमा समेत सहज हुन्छ भने सञ्चालनबाट नगद प्रवाह समेत बढाउन सहयोग पुग्छ। यसबाट सिर्जना हुने पैसा कम्पनीले उपभोक्तालाई डिस्काउण्टका माध्यमबाट फिर्ता गर्न सक्छ। भारतमा सञ्चालन हुने अधिकांश स्टोरको भाडाका लागि कुल आम्दानीको दश प्रतिशतसम्म खर्च हुन्छ।
 
विक्रेता(भेण्डर)सँग राम्रो सम्वन्ध
डिमार्टको अर्को रणनीति हो सामान विक्रेताको ख्याल राख्नु। दामिनी आफै ट्रेडरको पृष्ठभूमीबाट आएका छन्, सामान विक्रेतासँगको उनको सम्वन्ध डिमार्टको सबैभन्दा ठूलो स्ट्रेन्थ हो।
 
फास्ट मुभिङ कन्जुमर ग्रुपमा साधारणतया १२ देखि २१ दिन भित्र भुक्तानी गर्ने चलन हुन्छ तर डिमार्टले भने सामान विक्रेता(भेण्डर)लाई ११ दिनमा भुक्तानी दिन्छ। यही कारण डिमार्ट सामान विक्रेताको गुड लिस्टमा हुन्छ भने यसले कम्पनीमा स्टक आउट हुने सम्भावनालाई पनि न्युन बनाउँछ।
 
ठूलो मात्रामा सामान किन्ने र समयमा भुक्तानी दिने हुँदा विक्रेताले पनि डिमार्टलाई बढी मार्जिन दिन्छन्। आधारभूतमा डिमार्टको रणनीति न्युन मूल्यमा किन, स्टक राख र सस्तोमा विक्रि गर हो। भेण्डरले पनि अन्य स्टोरलाई भन्दा डिमार्टलाई दुईदेखि तीन प्रतिशत सस्तोमा सामान दिन्छन्।
 
तोकिएको दिनमा नगद भुक्तानी आउने र बजारमा लामो समयसम्म पेमेन्ट नअल्झने भएपछि भेण्डरका लागि पनि डिमार्टलाई छुट दिनु फाइदाजनक हुने गरेको छ।


 
कर्मचारीको ख्याल
डिमार्टले आफ्ना कर्मचारीलाई राम्रो तलव दिन्छ र उनीहरु सुविधा दिएर काम राम्रोसँग लिन्छ। राम्रो छवि भएका र काममा प्रतिवद्ध भए कम्पनीले दश कक्षा छाडेका व्याक्तिलाई समेत रोजगारी दिन्छ।
 
कम्पनीले सुरुमा नयाँ कर्मचारी भर्ना गर्छ र उनीहरुलाई प्रशस्त तालिम दिएर आफूलाई चाहिए जस्तै कर्मचारी तयार गर्छ। कम्पनीले के प्राप्त गर्न चाहेको हो  त्यसको जानकारी कर्मचारीलाई दिन्छ तर उनीहरुलाई व्याक्तिगत टार्गेट पूरा गर्नुपर्ने डरबाट भने टाढा राखिन्छ। त्यसैगरी उनीहरुलाई काममा स्वतन्त्रता समेत दिइन्छ।
 
डिमार्टको वरपर खुल्दैनन् स्टोर
भारतमा सञ्जिव गोयन्का समूहको स्पेन्सर, आदित्य विरला समूहको मोर स्टोर, टाटा समूहको स्टार बजार, सपर स्टपको हाइपरसिटी जस्ता स्टोरहरु सञ्चालनमा छन्। यी कम्पनी अहिले पनि मुनाफाका लागि संघर्षरत रहँदा डिमार्टले भने एक दशकमा सफलताको 'कोड क्रयाक' गरिसकेको छ।
 
अझ यी स्टोरले भन्दा डिमार्टले उपभोक्ताका लागि छ देखि सात प्रतिशतसम्म सस्तोमा सामान बिक्री गर्छ। यही रणनीतिका कारण डिमार्टले बजारमा एउटा रुल सेट गरेको छ, त्यो हो, यदी अर्को प्रतिश्पर्धीले नयाँ स्टोर खोल्नु छ भने डिमार्ट स्टोरको एक किलोमिटर रेडियस खोल्न नसकोस्।

कसरी सुरु भयो डिमार्ट?
जतिबेला दामिनी शेयर बजारमा खेल्थे त्यतिवेला पनि उनी उपभोक्ता लक्षित शेयरमा रुची राख्थे। र सन् १९९९ मा भारत भित्र जतिबेला रिटेल बिजनेश कर्पोरेट रंगमा आएको थिएन, उनले यो क्षेत्रमा प्रवेश गर्ने निर्णय गरे।
 
उनले मुम्बईको नेरुलमा अपना बजारको फ्रन्चाइजी लिए र दामोदर मलको पाँच हजार स्क्वायर फिटको क्षेत्रफलमा रिटेल व्यवसाय सुरु गरे। उनले पछि नभि मुम्बईमा पनि अपना बजारको फ्रेन्चाइजी लिए। दुई वर्षपछि उनले अपना बजारलाई नै खरीद गरे र त्यसलाई डिमार्टका रुपमा परिवर्तन गरे।
 
सन् २००७ मा डिमार्टले आफुलाई निक्कै विस्तार गर्यो। कम्पनीले अहमदावाद, बरोडा, पुणे, साङ्ली र सोलापुरमा स्टोर खोल्यो।
 
सन् २००६/०७ मा जम्मा दुई अर्ब ६० करोडको कारोवार गर्ने डिमार्टले सन् २०१२/१३ मा आफ्नो कारोवार ३३ अर्ब ३४ करोड पुर्यायो। रिटेल चेनमा यो तेस्रो धेरै कारोवार थियो। जबकि एक हजार स्टोर भएको फ्युचर ग्रुपले एक खर्ब ४० अर्व, १४ सय ५० वटा स्टोर भएको रिलायन्स रिटेलले एक खर्व आठ अर्वको मात्रै कारोवार गरेको थियो। जबकी डिमार्टले जम्मा ६५ वटा स्टोरबाट यो कारोवार गर्न सफल भएको थियो।
 
सन् २०१६ को नौ महिनामा कम्पनीले ८७ अर्ब ८४ करोडको कारोवार गर्यो। कम्पनीले करपछिको मुनाफामा मात्रै तीन अर्ब ८७ करोड भारु निकालेको छ। जबकी सन् २०१५ मा कम्पनीले ६४ अर्ब ५० करोडको कारोवारबाट दुई अर्ब ११ करोड मुनाफा निकालेको थियो। तर डिमार्टका ठूला प्रतिस्पर्धी एक रिलायन्स रिटेलले त्यो वर्ष एक अर्ब ५९ करोड तथा फ्युचर रिटेलले एक अर्ब ५३ करोड मात्रै मुनाफा गरेका थिए।
 
(इकोनोमिक टाइम्स र यो सक्सेसबाट साभार)