२१ बर्ष पछि ‘पुरानो घर’ फर्किँदा बिनोद चौधरीको हाइहाइ, भेट्न चाहने देखि सेल्फि खिच्नेको होड

बिजमाण्डू
२०७३ चैत्र २८ गते ११:४८ | Apr 10, 2017
२१ बर्ष पछि ‘पुरानो घर’ फर्किँदा बिनोद चौधरीको हाइहाइ, भेट्न चाहने देखि सेल्फि खिच्नेको होड
काठमाडौं । सोमबार बिहान नेपाल उद्योग बाणिज्य महासंघको स्वर्ण उत्सव समारोहको केन्द्र बने पुर्व अध्यक्ष विनोद चौधरी। २१ बर्ष पछि महासंघमा फर्किएका चौधरीलाई भेट्न र फोटो खिच्न केन्द्र देखि जिल्लास्तरसम्मका उद्योगी व्यवसायीको लाम नै लागेको थियो।

Tata
GBIME
Nepal Life

अध्यक्षको दोस्रो कार्यकालका लागि २०५२ सालमा चुनाव लडेका चौधरी पराजय पछि महासंघबाट बाहिरिएका थिए। ‘हाम्रो कार्यकालमा महासंघको रजत जयन्ती मनाएका थियौँ, अहिले स्वर्ण जयन्ती आइ सकेछ' चौधरीले स्मरण गरे। 

 
स्वर्ण जयन्तीको अवसर पारेर महासंघले सबै पूर्व अध्यक्षलाई सम्मानका लागि निम्ता दिएपछि चौधरी उपस्थित भएका थिए। महासंघका जिवित पूर्व अध्यक्ष मध्ये महेशलाल प्रधानको पछि दोस्रो नम्बरमा सम्मानका लागि उद्घोषकले चौधरीको नाम बोलाए। उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट सम्मान थापे। 

सबै अध्यक्षले पालै पालो सम्मान थापेर प्रधानमन्त्रीसँग सामुहिक फोटो खिचाए। चौधरी सहित सबै पूर्व अध्यक्ष बस्ने ठाउँ तिर जाँदै गर्दा फेरि उद्घोषकले उनको नाम लिए। उनलाई बिशेष सम्मानका लागि फेरि मञ्चमा बोलाइयो। अघि लिएको सम्मानपत्र अर्का पूर्व अध्यक्ष एवं आफ्ना व्यवसायीक साझेदार रविभक्त श्रेष्ठलाई दिए र मञ्च तर्फ फर्किए।


 

आफ्नो कार्यकालमा महासंघको टेकु स्थित कार्यालय भवन निर्माण गरे बापत चौधरीलाई विशेष सम्मान प्रदान गरिएको थियो। 
 
प्रधानमन्त्री दाहालले चौधरीलाई सम्मानपत्र हस्तान्तरण गर्दा उपस्थित उद्योगी व्यवसायीले गड्गडाहट ताली बजाएर उनी महासंघको कार्यक्रममा उपस्थित भएको प्रति सांकेतिक खुसी जनाएका थिए।


 

औपचारिक कार्यक्रम पछि बाहिर निस्किने वित्तिकै देशभरका उद्योगी व्यवसायीले चौधरीलाई पछ्याइ हाले। कोही तश्विर खिच्न चाहन्थे त कोही आफ्नो जिल्ला बताएर पहिला सँगै काम गर्दाका दिन स्मरण गराउँदै थिए। कतिपय जिल्लाका प्रतिनिधीले चौधरीलाई महासंघमा फिर्ता ल्याउन सकेकोमा अध्यक्ष पशुपति मुरारकालाई समेत बधाइ दिए। ‘साँच्चिकै पुरानो घर फर्किए जस्तो भएको छ’ चौधरीले भने। 


 

महासंघ अध्यक्षमा दोस्रो कार्यकालका लागि चुनाव लड्दा पद्म ज्योतीसँग चौधरी पराजित भएका थिए। त्यसको केही बर्ष पछि उनले नेपाल उद्योग परिसंघ स्थापना गरे। सँगसँगै विदेशमा व्यवसायको सञ्जाल विस्तार समेत सुरु गरे र अहिले नेपालको एक मात्र डलर अर्बपतिको रुपमा फोर्ब्सको सूचीमा सूचिकृत भइ सकेका छन्। चौधरीले आफ्नो आत्मकथामा महासंघको पराजयलाई आफ्नो जीवनको महत्वपुर्ण टर्निङ पोइन्ट भएको उल्लेख गरेका छन्।