नयाँ बर्षको दिन शुभखबर- फोर्ब्सको प्रतिभाशाली युवाको सूचीमा परे पाँच नेपाली तन्नेरी

बिजमाण्डू
२०७४ बैशाख १ गते १४:०९ | Apr 14, 2017
काठमाडौँ । फोर्ब्स म्यागेजिनले प्रकाशित गरेको एसियाका ३० वर्षमुनिका ३० प्रभावशाली युवाको सूचीमा पाँच नेपाली परेका छन्। 
 
फोर्ब्सले १० क्याटेगोरीमा ३०-३० जना गरी ३ सय जना प्रभावशाली युवाको सूची निकालेको थियो। २४ देशका नागरिक सूचीमा परेका छन्। त्यसमा पनि चीन र भारतको संख्या बढी छ। 
 
फोर्ब्सले अनलाइनमा परेको नोमिनेसनसहित आफ्ना संवाददाता र अनुसन्धानकर्ताहरुलाई खोज्न लगाएर ३० जना जजहरुको सहयोगमा अन्तिम ३ सय जनाको सूची तयार पारेको जनाएको छ। 

Tata
GBIME
Nepal Life
को-को परे सूचीमा नेपाली?
प्रभात यादव

युट्युबमा प्रभावशाली उपस्थिति भएका कारण २३ वर्षीय यादवलाई फोर्ब्सले मिडिया, मार्केटिङ एन्ड एडभरटाइजिङ क्याटेगोरी अन्तर्गत यो सूचीमा सामेल गरेको हो।

यादव एक्सप्लोर ग्याजेट्स नामको काठमाडौँमा कार्यालय भएको कम्पनीका संस्थापक हुन्। स्कूलको अध्ययन सकिने बित्तिकै सन् २०१२ मा उनले युट्युब च्यानल खोलेका थिए।

नेपालमा पाउन गाह्रो भएको र महँगो ग्याजेट्सबारे यो च्यानलले नेपाली अडियन्सलाई बताउने गरेको फोर्ब्सले लेखेको छ।

उनी नेपालमा सिल्भर प्ले बटन अवार्ड पाउने एक मात्र युट्युबर भएको दावी फोर्ब्सले गरेको छ। एक लाख युट्युब सब्सक्राइबर भएको युट्युबरले यस्तो अवार्ड पाउने गर्छ।

अहिले उनको च्यानलमा ४ लाख भन्दा बढी सब्सक्राइबर छन्।  

सूर्य कार्की

नेपालको ग्रामीण क्षेत्रमा निःशुल्क शिक्षा प्रदान गर्ने दियालो फाउन्डेसनका संस्थापक हुन् २६ वर्षीय सूर्य कार्की।

उनी सोसल आन्टरप्रेनर क्याटेगोरी अन्तर्गत सूचीमा परेका हुन्।  गाउँका बासिन्दालाई कृषि र ऊर्जाको बारेमा प्रशिक्षण कार्यक्रम र सेवा दिने काम पनि यसले गर्छ।

कार्कीले आठ वर्षको उमेरमा राष्ट्रिय स्कलरसिप पाएर हाल बेइजिङको सिन्घुवा युनिभर्सिटीमा मास्टर्स डिग्री अध्ययन गरिरहेको फोर्ब्सले लेखेको छ। 

रविकुमार नेपाल

डिजिटल साक्षरता बढाउने उद्देश्यले रविकुमार नेपाल र उनकी पत्नी मिसेलले संयुक्त रुपमा स्थापना गरेको कोड फर नेपालका कारण फोर्ब्सले उनीहरुलाई यो सूचीमा समावेश गरेको हो।

उनले नेपालम्याप डट ओआरजी सञ्चालनमा ल्याएका छन्।

वासिङ्टन डिसीस्थित वर्ल्ड ब्यांकमा प्रमुख डिजिटल स्ट्राटेजिस्टका रुपमा कार्यरत रविले २५ वटा विद्यालय पुननिर्माणका लागि सघाएको फोर्ब्सले लेखेको छ। 

आशिष आचार्य, सविन भण्डारी

सन् २०१२ मा कलेजमा पढ्दै २५ वर्षका यी दुईले अनलाइन स्टोर खोलेका थिए।

ह्वाइटस्पेस नामको उनीहरुको कम्पनीले टिसर्टदेखि ब्याग, घडी, पर्फ्युमहरुसम्म बेच्छ।

भूकम्पपछि उनीहरुले टि सर्ट फर रिलिफ क्याम्पेन सुरु गरेर फन्ड उठाएका थिए।