नेपाल उडान गर्ने विदेशी विमान कम्पनीको कर छली- फ्लाइ दुबई एक नम्बर, झन्डै ९ करोड रुपैयाँ तिरेन

प्रभात भट्टराई/बिजमाण्डू
२०७४ बैशाख ६ गते ११:०६ | Apr 19, 2017
नेपाल उडान गर्ने विदेशी विमान कम्पनीको कर छली-  फ्लाइ दुबई एक नम्बर, झन्डै ९ करोड रुपैयाँ तिरेन


काठमाडौं । काठमाडौंबाट उडान गर्ने विदेशी हवाई सेवा प्रदायक कम्पनीले मालामाल नाफा कमाए पनि नेपालमा करोडौं कर छल्दै आएको तथ्य फेला परेको छ। पाँच विदेशी विमान कम्पनीले आर्थिक बर्ष २०६८/६९ देखि २०७१/७२ सम्म २६ करोड ७३ लाख रुपैयाँ राजस्व छलेका हुन्।
 
यी कम्पनीले न्यून आय देखाएर कर छली गरेका छन्। महालेखा परिक्षकको कार्यालयले कर कार्यालयहरुको अडिट गर्ने क्रममा विदेशी हवाई सेवा कम्पनीले कर छलेको फेला पारेको हो। आयकर ऐन अनुसार नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने वायु सेवा कम्पनीले नेपालबाट जारी भएको र काठमाडौंबाट उडान गरेको टिकट आयको पाँच प्रतिशत कर तिर्नुपर्ने हुन्छ।
 
यस्तै नेपाल बाहिरबाट टिकट जारी भएको तर काठमाडौंबाट उडान गरेको हकमा पनि त्यतिनै कर लाग्छ। नेपालबाट टिकट जारी भएको तर नेपाल बाहिरबाट उडान गरेको (नेपालबाट बिदेशी कुनै गन्तव्यमा सिधा उडान गरि उक्त मुलुकमा ट्रान्जिट बनाएर अर्को गन्तव्यमा जाँदा) हकमा भने दुई प्रतिशत र नेपालबाट कार्गो रकम भुक्तानी भएको एवं काठमाडौंबाट प्रस्थान गरेको कार्गो आम्दानीमा पाँच प्रतिशत कर तिर्नु पर्ने हुन्छ।
 
आन्तरिक राजस्व कार्यालय क्षेत्र नं.  १ र करदाता सेवा कार्यालय पुतलीसडक अन्तर्गत दर्ता भएमा हवाई सेवा प्रदायक कम्पनी एवं तीनका नेपालस्थित प्रतिनिधी (जिएसए)ले कर छलेका छन्। कर कार्यालयमा बुझाएको विवरण र नागरिक उड्डयन प्राधिकरणको तथ्याङ्क मेल नखाएपछि उनीहरुले कर छलेको निष्कर्ष महालेखाले निकालेको हो। 
 
कम्पनीहरुले कर छल्न अलग अलग ‘जुक्ति’ लगाएका छन्। कसैले कर कार्यालयमा अत्यन्त न्यून आय देखाएका छन् भने कसैले तेस्रो मुलुक जाने यात्रुको ट्रान्जिटलाई नै अन्तिम गन्तव्य देखाएका छन्। कसैले भने उडान गर्ने यात्रु संख्या नै लुकाएका छन्।
 
नेपाल उडानमा मनग्ने नाफा कमाएको इत्तिहाद एयरवेजले कर छल्नकै लागि अन्यन्त न्यून आय देखाएको छ। कम्पनीले प्राधिकरणमा उपलब्ध गराएको अफसिजन न्यूनतम भाडादर र यात्रु संख्यालाई गुणन गरेर हिसाव निकाल्दा समेत कर कार्यालयमा बुझाएको विवरण अत्यन्त थोरै पाइएको महालेखा स्रोतले जनाएको छ। 

Tata
GBIME
Nepal Life

कम्पनीले आर्थिक बर्ष २०७१/७२ मा कुल ८४ हजार ९८१ जना यात्रु उडाएको विवरण प्राधिकरणमा समक्ष बुझाएको थियो। प्राधिकरणलाई उसले प्रतिव्यक्ति न्यूनतम अफसिजन भाडादर ३१ हजार ७४२ रुपैयाँ लिने गरेको जनाएको थियो। जबकी कर कार्यालयमा १३ हजार ९९३ रुपैयाँ मात्र भाडा उठाएको विवरण दिएको छ। यसरी कम्पनीले दुई कार्यालयमा बुझाएको विवरण अनुसार कम्पनीको आय एक अर्ब ५० करोड ८३ लाख २७ हजार रुपैयाँ फरक परेको छ। त्यसको पाँच प्रतिशत बापत सात करोड ५४ लाख १६ हजार ३८८ रुपैयाँ कर छली गरेको महालेखाले निश्कर्ष निकालेको छ। 

 
‘काठमाडौ अन्तराष्ट्रिय विमानस्थलबाट इत्तिहाद एयरवेज मार्फत प्रस्थान गरेको सम्पुर्ण यात्रुलाई अवुधावीसम्मको मात्र गन्तव्य र सबै यात्रु अफसिजनको ईकोनोमिक क्लासको टिकटमा यात्रा गरेको मानेर गणना गर्दा समेत कम्पनीले करमा घोषणा गरेको रकम न्यून छ’ महालेखाको निश्कर्ष छ। 
 
त्यसबाहेक नेपालबाट टिकट काटेर इत्तिहाद एयरवेज मार्फत अवुधावी ट्रान्जिट हुँदै अन्य गन्तव्यमा प्रस्थान गर्ने यात्रुको अवुधावी देखि सम्बन्धित गन्तव्य सम्मको टिकट आम्दानीमा समेत दुई प्रतिशत कर लाग्नेमा त्यसको कुनै हिसाब बुझाइएको छैन। कार्गो वापतको कर समेत सम्बन्धित ‘जनरल सेल्स एजेन्ट (जिएसए)’ ले बुझाउने कम्पनीको दावी छ। तर, महालेखाले त्यसको समेत कुनै प्रमाण फेला पार्न सकेन। महालेखाले कम्पनीले छलेको कर एवं त्यसमा लाग्ने शुल्क एवं ब्याज असुल गर्न एवं विगत देखि हालसम्मको बिस्तृत छानविन गर्न समेत सरकारलाई निर्देशन दिएको छ।
 
नेपाल उडान अर्को राम्रो बजार हिस्सा ओगटेको फ्लाई दुबईले आर्थिक बर्ष २०७१/७२ मा झन्डै नौ करोड रुपैयाँ कर छली गरेको फेला परेको छ। उडान क्रममा नेपाली र विदेशी यात्रुलाई विभेद गरेको भन्दै चर्को विवादमा परेको फ्लाइ दुबईको तर्फबाट नेपालस्थित जिएसए युनिभर्सल ट्राभल्सले कर छलेको महालेखाले निश्कर्ष निकालेको हो। 


 

फ्लाइ दुबईले भने कर छल्नका लागि यात्रु संख्या घटाएको छ। महालेखा स्रोतका अनुसार नागरिक उड्डयन प्राधिकरणले सार्वजनिक गरेको मासिक यात्रु प्रस्थान विवरण र कम्पनीले कर प्रयोजनका लागि देखाएको यात्रु संख्या फरक परेको हो। 
 
जुलाई सन् २०१५ पछिको एक बर्षको अवधिमा फ्लाइ दुबईबाट एक लाख ४२ हजार ३२ जना यात्रुले उडान गरेका थिए। तर, कम्पनी कर कार्यालयमा ७० हजार ९६५ जना यात्रु मात्र उडाएको विवरण दियो। यसरी कम्पनीले ७१ हजार ६७ जना यात्रुको संख्या लुकाएर कर छलेको हो।

महालेखाले कम्पनी लुकाएको यात्रु संख्यालाई उसले उपलब्ध गराएको न्युनतम भाडादरले गुणन गरि कर योग्य आय निकालेको छ। त्यस अनुरुप कम्पनीबाट आठ करोड ९० लाख ८१ हजार रुपैयाँ एवं त्यसमा लाग्ने ब्याज तथा शुल्क गणना गरेर असुल्न सरकालाई निर्देशन दिएको छ। साथै कम्पनीको हिसाब किताब बारे बिस्तृत अनुसन्धान गर्न समेत महालेखाले सरकारलाई भनेको छ।
 

मलेसियाको राष्ट्रिय ध्वजावाहक मलेसिया एयरलाइन्सले समेत आर्थिक बर्ष २०७१/७२ मा झन्डै आठ करोड रुपैयाँ कर छली गरेको छ। कम्पनीको जिएसए मार्कोपोलो ट्राभल्स प्रालिले कर छल्नको लागि यात्रु संख्या थोरै देखाएको फेला परेको हो। 


 

कुल ९४ हजार ६८१ जना यात्रु उडाएको कम्पनीले कर कार्यालयमा २३ हजार ६९ जनाको मात्र विवरण बुझाएको थियो। यसरी ७१ हजार ६२२ जना यात्रुको संख्या लुकाइएको हो। महालेखाले काठमाडौं-मलेसियाको न्युनतम भाडादरले लुकाइएको यात्रु संख्यालाई भाग गरि कम्पनीको कर योग्य आय गणना गरेको छ। जस अनुरुप कम्पनीले सात करोड ९५ लाख रुपैयाँ कर तिर्नु पर्ने हुन्छ। त्यो सहित त्यसमा लाग्ने सम्पुर्ण ब्याज एवं शुल्क असुल गरि कम्पनी कारोबार माथि छानविन गर्न महालेखाले सरकारलाई निर्देशन दिएको छ।


 

बहराइन स्थित गल्फ एयरले भने टिकटको आयमा सोझै कर तिर्नुको साटो खर्च कटाएर मात्र राज्यलाई भुक्तानी गरेको भन्दै थप ८५ लाख ६३ हजार रुपैयाँ तिर्नु पर्ने महालेखाले जनाएको छ। कम्पनीले आर्थिक बर्ष २०६८/६९, २०६९/७० र २०७०/७१ मा पेश गरेको आय विवरण अनुसार आयमा पाँच प्रतिशतको दरले सोझै कर तिर्नु पर्नेमा खर्च कटाए पछि मात्र आय देखाएको हो। यसरी खर्च कटाउनु अघिको आयको पाँच प्रतिशत निकालेर कम्पनीले पहिले तिरेकोमा अपुग रकम त्यसको ब्याज एवं शुल्क उठाउन महालेखाले सरकारलाई निर्देशन दिएको छ।

छिमेकी मुलुक बंगलादेशको विमान बंगलादेशले समेत आर्थिक बर्ष २०७१।७२  झन्डै डेढ करोड रुपैयाँ कर तिर्न बाँकी रहेको महालेखाको अडिट क्रममा फेला परेको छ। कम्पनीले कर कार्यालयमा बुझाएको विवरण र प्राधिकरणले प्रकाशित गरेको यात्रु संख्यामा फरक परेको हो। 



 
प्राधिकरण र कम्पनीले बुझाएको विवरणमा १५ हजार २६५ जना यात्रु संख्या फरक परेको हुँदा उक्त संख्याले काठमाडौं-बंगलादेश चल्तिको भाडादरलाई गुणन गरि कम्पनीले तिर्नु पर्ने थप रकम गणना गरिएको हो। जस अनुसार बिमान बंगलादेशबाट एक करोड ४७ लाख ६५ हजार रुपैयाँ एवं त्यसको ब्याज र शुल्क असुल उपर गर्नु पर्ने महालेखाको निश्कर्ष छ।
 
नेपालले दोहोरो कर मुक्तिको सम्झौता नगरेका देशका हवाई सेवा प्रदायकले यहाँ कर तिर्नु पर्ने हुन्छ। धेरै जसो मुलुकसँग दोहोरो कर मुक्ति सम्झौता भइ सकेको हुँदा ती देशका सेवा प्रदायकले भने आफ्नो मुलुकमा कर तिरेपछि पुग्छ। सोही कारण अरु विदेशी हवाई सेवा प्रदायक यो सूचीमा नपरेका हुन्।