चामल र दाना उद्योगपछि रुङ्गटा समूह खानेतेलमा, दुर्इ अर्ब लगानीमा खानेतेल उद्योग स्थापना

बिजमाण्डू
२०७४ बैशाख ६ गते १५:४८ | Apr 19, 2017
चामल र दाना उद्योगपछि रुङ्गटा समूह खानेतेलमा, दुर्इ अर्ब लगानीमा खानेतेल उद्योग स्थापना
वीरगन्ज । रुङ्गटा समूहले दुर्इ अर्बको लगानीमा खानेतेल उत्पादन गर्ने उद्योग स्थापना गरेको छ। पशुपंक्षीको दाना उत्पादन गरेर ख्याती कमाएको यो समूहले वीरगञ्ज औद्योगिक कोरिडरमा भटमास, तोरी र सनफ्लवार तेल उत्पादन गर्ने उद्योग स्थापना गरेको हो।
 
बाराको लिपनीमाल- ८ मा ओविसी फूड्स एण्ड फिड्स प्रालिमार्फत तेल उत्पादन गर्न लागिएको समूहका संचालक सुरेश रुङ्गटा जानकारी दिए। गुणस्तरीय खानेतेल उत्पादन गर्ने उनको दावी छ। तेलको ‘ब्राण्ड नेम’ भने फाइनल भएको छैन। 
 
‘गुणस्तरीय तेलको बजार मुलुकभित्र प्रर्याप्त छ। हामी गुणस्तरमा कुनै सम्झौंता नगरी बजारमा तेल बिक्री गर्नेछौ, उनले बिजमाण्डूसँग भने। उद्योगले पोषक ब्राण्डमा पशुपंक्षी दाना उत्पादन एवं बिक्री गरिरहेको छ। यो वाहेक पर्ल ब्राण्डमा चामल र मेच छाप पनि बिक्री गर्दै आएको छ।
 
यो कम्पनीले दाना उत्पादनको लागि भटमास पेल्दा निस्किने कच्चा तेल यसअघि अन्य खानेतेल कम्पनीलार्इ बिक्री गर्दै आएको थियो। पछिल्लो समयमा निम्बसले पनि आफ्नै तेल उद्योग खोलेपछि यो समूहपनि त्यस तर्फ आकर्षित भएको  हो।
 
रुङ्गटाको उद्योग चार विघा क्षेत्रफलमा फैलिएको छ। यो समूहले २०३६ सालमा वीरगञ्ज औद्योगिक कोरिडरमा ओम विरो उद्योग संचालनमा ल्याएर व्यवसायमा हात हालेको थियो। सुरुवातमा यो उद्योगले चामल,दाल र मैदा उत्पादन एवं बिक्री गर्थ्यो। समूहले पाँच वर्षअघिदेखि पशुपंक्षीको दाना उत्पादन थालेको थियो। 

Tata
GBIME
Nepal Life


 

समूहले एक अर्ब लगानीमा विराटनगरको टंकी सिनवारीमा सगरमाथा मैदा मिल किनेर दाना उद्योग स्थापना गर्यो। त्यहाँ रुङ्गटा समूहले पाँच विघा जमिनमा ओम चाओ विरो पैलेट दाना उद्योगबाट दाना उत्पादन गरिरहेको छ।
 
अत्याधुनिक ह्याचरी खोल्दै
समूहले मकवानपुरको वसाहामाडीमा अत्याधुनिक ह्याचरी खोल्ने तयारी गरेको छ। समूहले ह्याचरीका लागि ३० विघा जग्गा खरीद गरिसकेको छ। राप्रपाका नेता राजीव पराजुलीको जग्गा खरीद गरिसकेको र अब अत्याधुनिक ह्याचरी खोल्न तयारी सुरु भएको उनले बताए। रुगंटाका अनुसार ह्याचरी ‘फूल्ली अटोमेटेड’ हुनेछ। 
 
‘हातले छुनु नपर्ने र मेशिनबाट कन्ट्रोल हुने ह्याचरीको खोर हुनेछ, उनले भने- हामी नेपालकै सर्वोत्कृष्ट ह्याचरी बनाउने प्रयासमा छौं।’ अहिले नवलपरासीमा अविनाश ह्याचरी फूल्ली अटोमेशनमा सञ्चालन हुँदै आएको छ। यो नेपालकै नमूना ह्याचरीमा पर्छ।


 
धान भूसबाट विजुली निकाल्ने
यो समूहले धानको भूसबाट विजुली निकाल्ने गरी भट्टी राख्ने तयारी गरेको छ। यो भट्टीबाट एक मेगावाट विजुली उत्पादन गर्ने लक्ष्य राखेको रुङ्गटाले जानकारी दिए। ‘विजुलीको समस्या नहोस भनेर भूसबाट विजुली उत्पादन गर्ने योजना बनाएका हौँ, उनले भने। 
 
लोडसेडिङ अन्त्यको घोषणा भए पनि वीरगन्ज औद्योगिक कोरिडरमा विजुली गइरहने समस्या छ। रुङ्गटा अनुसार भूसबाट विजुली उत्पादनका लागि टर्वाइन किनेर ल्याइसकिएको छ। समूहले वीरगञ्ज र विराटनगरमा गरेर दुर्इ हजारलार्इ रोजगारी दिएको उनले बताए।