शेयर आवेदनमा पैसा होल्ड हुने युग समाप्त, जेठ देखि बिक्री बन्द भएको दुई सातामै बाँडफाँड

बिजमाण्डू
२०७४ बैशाख १० गते १७:१७ | Apr 23, 2017
शेयर आवेदनमा पैसा होल्ड हुने युग समाप्त, जेठ देखि बिक्री बन्द भएको दुई सातामै बाँडफाँड
काठमाडौं । आउँदो महिना देखि प्राथमिक शेयर निस्कासनको बाँडफाँड १५ दिन भित्रै हुने भएको छ। आश्वालाई पुर्ण कार्यान्वयनमा ल्याएर बाँडफाँड अवधि छोट्याउन लागेको केन्द्रिय निक्षेप प्रणाली (सिडिएससी)का प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ताले जानकारी दिए।

Tata
GBIME
Nepal Life


 

‘आश्वा सेवा प्रदायक बैंक तथा वित्तिय संस्थालाई आस्वा बेस अनलाइन एक्सेस नामक एप्लिकेसन उपलब्ध गराउँदैछौँ, उनले भने – त्यसपछि आश्वाबाट शेयर आवेदन गर्ने वित्तिकै हाम्रो सिष्टममा उक्त तथ्याङ्क आउनेछ।’ अहिले आश्वाबाट कसैले शेयर आवेदन दिए सम्बन्धित बैंकले सिडिएससीलाई भौतिक रुपमा जानकारी दिनु पर्नेछ। त्यसपछि मात्र सिडिएससीले सम्बन्धित बिक्री प्रबन्धककहाँ जानकारी पठाउँदै आएको थियो।
 
अब आश्वा सेवा दिने बैंकबाट कुनै लगानीकर्ताको आवेदन दिने वित्तिकै तत्कालै सिडिएससीले अनलाइन सूचना पाउनेछ। सिडिएससीले लगानीकर्ताको सम्पुर्ण व्यक्तिगत विवरण अनलाइन सिष्टममा राखि सकेको छ। सोही कारण बिक्री प्रबन्धकले अनलाइन प्रणालीबाटै सम्बन्धित लगानीकर्ताको व्यक्तिगत विवरण र उसले दिएको आवेदन बारे जानकारी पाउनेछ। 


 

भौतिक रुपमा कागजी फारमबाट समेत आवेदन दिन पाइने व्यवस्था कायम रहुन्जेल बाँडफाँडको समय अधिकतम १५ दिने हुने र आश्वा मात्र कार्यान्वनयमा आएपछि बिक्री बन्द लगत्तै बाँडफाँग गर्न सकिने गुप्ताको भनाइ छ। कागजी आवेदकहरुको पनि सम्पुर्ण व्यक्तिगत विवरण अनलाइन सिष्टममा रहने हुँदा बिक्री प्रबन्धकले दोहोर्याएर अध्यावधिक गरि रहनु पर्दैन।

लगानीकर्ताको डिम्याट खाता नम्बर  ‘टाइप’ गर्ने वित्तिकै सम्पुर्ण जानकारी सिडिएससीको सिष्टमबाट नै प्राप्त हुन्छ। भौतीक फारम भर्ने लगानीकर्ताको डिम्याट खाता नम्बर  र उसले चाहेको शेयर संख्या मात्र टाइप गर्नु पर्ने हुँदा यो प्रकृया पनि छोट्टिने गुप्ताको भनाइ छ।
 

आश्वाबाट शेयर आवेदन दिँदा अहिले प्रति व्यक्ति १०० रुपैयाँ हाराहारी शुल्क लाग्दै आएको छ। सोही कारण साना लगानीकर्ता यो प्रणालीमा आकर्षित हुन सकेका छैनन्। सबै लगानीकर्तालाई तान्न अहिले आश्वाको शुल्क घटाउने बारे छलफल भइ रहेको नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक एवं प्रवक्ता निरज गिरीले बताए। 
 
‘आश्वाको कार्यान्वयन आफैंमा चुनौती पुर्ण थियो, उनले भने- अब यो सफल भइ सकेको छ त्यसैले प्रतिश्पर्धात्मक बजारमा यसको शुल्क आफैं तल आउनेछ।’ यसबारे बोर्ड आफ्नो तर्फबाट पहल जारी राखेको समेत उनले जानकारी दिए।