सिभिल बैंकबाट किशोर महर्जन वाहिरिए, गोविन्द गुरुङ कामु सिइओ नियुक्त, छाड्नुको कारण यस्तो छ

सुदर्शन सापकोटा/बिजमाण्डू
२०७४ बैशाख ११ गते १६:०० | Apr 24, 2017
सिभिल बैंकबाट किशोर महर्जन वाहिरिए, गोविन्द गुरुङ कामु सिइओ नियुक्त, छाड्नुको कारण यस्तो छ
काठमाडौं। सञ्चालक समितिका अध्यक्ष इच्छाराज तामाङसँगको 'टसल' पछि किशोर महर्जनले सिभिल बैंक छाडेका छन्। बैंक स्थापनादेखि नै प्रमुख कार्यकारी अधिकृत रहेका महर्जनको यो दोस्रो कार्यकाल हो।


 
महर्जनले कार्यकाल तीन महिना बाँकी छँदै बैंक छाडेका हुन्। राष्ट्रपतिले बैंक तथा वित्तीय संस्था सम्बन्धि विधेयक पारित गर्दै गर्दा सिभिल बैंकको सञ्चालक समितिले डेपुटी प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङलाई कामुको जिम्मेवारी दिएपछि महर्जनले तीन महिनाअघि नै बैक छाडेका हुन्।
 
यद्यपी महर्जनले कार्यकाल तीन महिना बाँकी भए पनि कार्यभार हस्तान्तरण गर्न अहिलेबाटै बैंक छाडेको बताए। 'ऋण स्वीकृत, सरुवा वढुवालगायतमा अब मेरो भूमिका हुन्न ' महर्जनले भने। 
 
बाफिया पारितसँगै अध्यक्ष तामाङले पनि बैंक छाड्नु पर्ने हुन्छ। तामाङ र महर्जनबीच खासै राम्रो सम्बन्ध थिएन। त्यही भएर अध्यक्ष तामाङले आफू छाड्दा महर्जनलाई पनि छोडाउने योजना अनुसार हिजै सञ्चालक समितिबाट कामु सिइओको जिम्मेवारी गुरुङलाई दिएका थिए। त्यसपछि महर्जनले बैंक छाड्ने निर्णय गरेका हुन्।
 
महर्जन ३२ बर्षदेखि बैंकिङ क्षेत्रसँग आवद्ध छन्। उनले बैंकिङ करियर सन् १९८४ जनवरीदेखि नेपाल बैंकबाट सुरु गरेका हुन्। उनी त्यहाँ आन्तरिक लेखा परीक्षण विभागमा थिए। सन् १९८५ मा उनी राष्ट्रिय बाणिज्य बैंक गए।
 
राष्ट्रिय बाणिज्य बैंकको बसाइ पनि लामो भएन। उनी १९८६ मा तत्कालिन इन्डोसेज बैंक अहिलेको नेपाल इन्भेष्टमेन्ट बैंक गए। १९९४ मा हिमालयन बैक गएका उनी २००७ मा सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत भए।
 
सनराइजमा सञ्चालक समितिले अनावश्यक हस्तक्षेप गरेको भन्दै महर्जनले राजिनामा दिएका थिए। त्यसपछि २००९ बाट सिभिल बैंकमा आवद्ध भएका थिए। एमबिए गरेका महर्जन अनुभवी बैंकर मानिन्छन्।

Tata
GBIME
Nepal Life