सञ्चयकोषलाई झुलाएर अस्तित्वै नभएको कम्पनीसँग जहाज किन्ने पैसा डिल गर्दै निगम व्यवस्थापन

प्रभात भट्टराई/बिजमाण्डू
२०७४ बैशाख ११ गते १८:१६ | Apr 24, 2017
सञ्चयकोषलाई झुलाएर अस्तित्वै नभएको कम्पनीसँग जहाज किन्ने पैसा डिल गर्दै निगम व्यवस्थापन
काठमाडौं । सरकारले जहाज खरिदका लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट ऋण लिन जमानी बस्ने निर्णय गरेकै दिन नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले भने एक कम्पनीलाई पैसा जुटाउन अनुरोध गर्दै चिठी लेखेका छन्।  
 
सरकारको जमानी बस्ने निर्णयलाई उद्धृत गर्दै सुर्य जेएमके इन्भेष्टमेन्ट प्रालि काठमाडौं नामको अस्तित्व नै नभएको कम्पनीलाई कंसाकारले चिठी लेखेका हुन्। 
 
‘दुई वटा एयर बस जहाज ए३३०-२०० खरिदका सुर्य जेएमके इन्भेष्टमेन्ट कम्पनीले लगानी गर्ने बारे निगम सञ्चालकहरुबीच बृहत छलफल भइ सकेको’ उनले चिठीमा उल्लेख गरेका छन्। अब निगम सरकारी जमानीमा कम्पनीसँग ऋण सम्झौता गर्न सक्ने अवस्थामा पुगेको हुँदा लगानीको स्रोत सहित बिस्तृत प्रस्ताव पठाउन उनले आग्रह समेत गरेका छन्।
 
उक्त कम्पनीले विदेशबाट पैसा ल्याएर जहाज किन्न ऋण दिने प्रस्ताव निगम व्यवस्थापनमा पेश गरेको थियो। तर, कहाँबाट एवं कस्तो कर्जा लिने भनेर कम्पनीले केही जानकारी गराएको छैन। 
 
कंशाकारले सकेसम्म उक्त कम्पनी मार्फत विदेशी पैसा ल्याउने र नसकेको अवस्थाका लागि भने सञ्चयकोषलाई होल्डमा राख्ने रणनीति बनाएका छन्। सोही कारण सरकारले जमानी बस्ने निर्णय गरेकै दिन उनले हतार-हतार उक्त कम्पनीलाई चिठी लेखेका थिए। 
 
कोषसँग भने मौखिक रुपले मात्र कुराकानी गर्दै आएका छन्। उक्त कम्पनीसँगको डिल सकेसम्म लुकाउने कोशिस समेत गर्दै आएका छन्। बिजमाण्डूसँगको कुराकानीमा समेत उनले सुरुमा बिदेशी कम्पनीबाट पैसा ल्याउने प्रयास छोडी सकेको दावी गरे।

Tata
GBIME
Nepal Life


 

मन्त्रीपरिषद्ले निर्णय गरेकै दिन सुर्य जेएमकेलाई उनले चिठी लेखेको स्मरण गराएपछि भने अहिलेका लागि नभइ भविश्यमा किन्ने जहाजका लागि समेत पैसा चाहिने हुँदा लगानी गर्न इच्छुकलाई धपाउन नचाहेको जवाफ दिए । तर, उक्त कम्पनीलाई प्रष्टसँग किन्न लागेका जहाजको लागि नै ऋण जुटाइदिन आग्रह गरेको चिठीको व्यहोरामा उल्लेख छ। 
 
कर्मचारी सञ्चय कोष र अन्य सरकारी अधिकारीलाई भने स्वदेशमै ऋण लिने मौखिक आश्वासन पनि कंशाकारले दिन छोडेका छैनन्।

 

कंशाकारले केही समय पहिले सुर्य जेएमके सहित केही विदेशी कम्पनीबाट ऋण लिने प्रस्ताव आएको भन्दै सञ्चालक समिति वैठकमा प्रवेश गराएका थिए। सञ्चालकहरुले नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालय लगायतका निकायको परामर्श अनुसार मात्र अघि बढ्न सक्ने बताए पनि कंशाकारमा हतारमा उक्त कम्पनीलाई चिठी लेखेका हुन्।
 
कानुनले नै मिल्दैन
कंशाकारको भित्री चाहना त्यही कम्पनी मार्फत विदेशी पैसा ल्याउने रहे पनि सजिलो भने छैन। विदेशी ऋण भित्र्याउने बारेको नेपाल राष्ट्र बैंकको प्रावधान अनुसार पनि उनको प्रयास अवैध देखिएको छ। राष्ट्र बैंकले गत बर्ष जारी गरेको निर्देशन अनुसार बिदेशी ऋण बैंकिङ प्रणालीबाट मात्रै लिनु पर्ने हुन्छ। कुनै निजी कम्पनीबाट चाहने वित्तिकै त्यसरी ऋण लिन मिल्दैन।
 
नेपालका बैंक तथा वित्तिय संस्थाबाट आवश्यक परिमाण एवं ब्याजदरमा ऋण लिन नसक्ने प्रष्ट अवस्था बिना समेत बिदेशी पैसा कर्जाको रुपमा भित्र्याउन नपाइने राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ।
 
निगमको हकमा कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष एवं अन्य बैंक वित्तिय संस्था समेत कर्जा प्रवाह गर्न तयार छन्। यस्तोमा विदेशी कम्पनी खोज्नुका पछाडीको अर्थ नबुझिएको निगमका एक पुर्व सञ्चालकले बताए। पूर्ण स्वामित्वको सरकारी संस्थानले एक निजी कम्पनीलाई वित्तिय सेवाका लागि पत्राचार गर्नु आफैंमा कमजोरी रहेको उनको भनाइ छ।


कंशाकारले पत्र लेखेको कम्पनी सुर्य जेएमके प्रालिको नेपालमा दर्ता एवं कारोबार लगत केही पनि फेला परेको छैन। तथापी, यो कम्पनीले तीन प्रतिशत ब्याजदरमा ऋण जुटाइदिने आश्वासन दिएको स्रोतको भनाइ छ। सोही कारण केही समय सञ्चयकोषलाई झुलाएर यो कम्पनीसँग डिल गर्ने रणनीति कंशाकारको छ। 

जहाज खरिदका लागि निगमले तत्काल आठ अर्ब रुपैयाँ बैना स्वरुप एएआर कर्पोरेसनलाई पठाउन लागेको छ। केही उपाय नलागे उक्त रकम सञ्चय कोषबाटै लिने र बाँकी उक्त कम्पनी मार्फत ल्याउनेसम्मको तयारी उनले गरेका छन्। निगमले गत महिना पनि सरकारबाट जमानीको निर्णय भइ हाल्ने भन्दै एक सातासम्म आठ अर्ब रुपैयाँ 'होल्ड' राख्न कोषलाई लगाएको थियो।
 

स्वदेशमा कर्जा नपाएको अवस्थामा बिदेशबाट लिँदा समेत कुनै एउटै कम्पनीसँग डिल नगरि सार्वजनिक टेन्डर गर्नु पर्ने प्रावधान रहेको पुर्व अर्थ सचिव रामेश्वर खनालको भनाइ छ। ‘सरकारी स्वामित्वको संस्थाले मुलुकभित्रै कर्जाको भरपर्दो र पर्याप्त स्रोत हुँदा हुँदै एउटा कुनै विदेशी कम्पनीको पछि लाग्न मिल्दैन, उनले भने- यदि आन्तरिक रुपमा चाहिएको पैसा जुटाउन सकिएन भने पनि सार्वजनिक बोलकवोल मार्फत विदेशी ऋण लिनु पर्छ।’ 
 
व्याज फाइदा हेरेर बिदेशी कम्पनीबाट पैसा ल्याउँदा विनिमय दरमा आउने उतार चढावको जोखिम भने उच्च हुन्छ। केही प्रतिशत बिन्दुको ब्याजदरमा लोभिँदा विदेशी मुद्राका कारण झन् ठूलो घाटा व्यहोर्नु पर्ने अवस्था समेत आउनसक्ने एक वित्तिय जानकारले बताए।