लगातार तेस्रो दिन शेयर बजार रातो, बैंकले घटायो बजार, कारोबार रकम समेत अर्ब रुपैयाँ तल

बिजमाण्डू
२०७४ बैशाख १३ गते १५:३५ | Apr 26, 2017
काठमाडौं । शेयर बजारमा सर्बाधिक हिस्सा ओंगट्ने बैंकिङ समुहमा गिरावट आउदा नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक र कारोबार रकम दुबै ओरालो लागेका छन्। बुधबार नेप्से परिसूचक २.०८ अंकले घटेर १६७०.३० अंकमा ओर्लिएको हो। क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.५६ अंकको गिरावट संगै ३५७.८० अंकमा झरेको छ।
 
खुल्ने बित्तिकै केही बढेको बजार साढे ११ बजे पछि घट्न थालेको थियो। साढे दुई बजे १६६६ अंकसम्म झरेको बजार त्यसपछि केही सम्हालिएर बन्द भयो।
 
बुधबार १४५ कम्पनीका १४ लाख ९० हजार कित्ता शेयर ९५ करोड ५१ लाख रुपैयाँमा खरीद बिक्रि भएका छन्। औषतमा अर्ब रुपैयाँ माथि भइ रहेको कारोबार रकममा बुधबार कमी आएको हो। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर सबैभन्दा बढी खरीद बिक्रि भएको छ।
 
कम्पनीको ६ करोड ५४ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको हो। कारोबार रकमकै आधारमा राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयर ६ करोड ५३ लाख रुपैयाँको कारोबार भएको छ। 
 
बुधबार कारोबारमा आएका आठ समुहमध्ये पाँच सूचक बढे पनि बजारको गिरावटलाई रोक्न सकेनन्। बैंकिङ ७.९, होटल १५.८४, उत्पादनमुलक ३०.१ अंकले घटेका कारण बजार ओरालो लाग्यो। विकास बैंक १७.३१, जलबिद्युत ९.२७, फाइनान्स ३.८७, इन्स्योरेन्स ६.०७ र अन्य २.८९ बढेका छन्।
 
परिसूचक घटेपनि बुधबार चार कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ। महिला सहयात्रा माइक्रोफाइनान्स, एनएमबि माइक्रोफाइनान्स, रिलायबल माइक्रोफाइनान्स र राष्ट्रिय बीमा कम्पनीका शेयरधनीले करिब १० प्रतिशतले बढेका हुन्। बुधबार सिर्जना फाइनान्सका शेयरधनीले करिब सात प्रतिशत गुमाएका छन् ।            
    
       
 

Tata
GBIME
Nepal Life