पूर्व क्षेत्रमा कृषि कर्जा साढे सात प्रतिशतमात्र, किन पाउँदैनन् किसानले कृषि ऋण ?

अनन्तराज न्यौपाने/बिजमाण्डू
२०७४ बैशाख १५ गते १७:०० | Apr 28, 2017
विराटनगर ।कृषि उत्पादनका लागि महत्वपूर्ण मानिएको पूर्वाञ्चलमा कृषि क्षेत्रमा बैङ्क तथा वित्तीय क्षेत्रको कर्जा प्रवाह भने न्यून देखिएको छ ।
 
नेपाल राष्ट्र बैङ्कले गरेको अध्ययनमा पूर्वाञ्चल क्षेत्रमा कृषि कर्जा अत्यन्त न्यून देखिएको हो ।०७३ पुस मसान्तसम्ममा कुल कर्जाको ७ दशमलव ६ प्रतिशतमात्र कृषि कर्जा रहेको अध्ययनले देखाएको छ ।औद्योगिक कर्जाको ३१ प्रतिशत छ ।
 
राष्ट्र बैङ्क विराटनगर कार्यालयका निर्देशक रामु पौडेलका अनुसार गत पुस मसान्तसम्ममा बैङ्क र वित्तीय क्षेत्रले पूर्व क्षेत्रमा १ खर्ब ४२ अर्ब कर्जा प्रवाह गरेका छन् । जसमध्ये कृषि क्षेत्रको कर्जा १० अर्ब ७९ करोडमात्र छ ।क्षेत्रीय कृषि निर्देशनालयका वरिष्ठ कृषि प्रसार अधिकृत राजेन्द्र उप्रेतीका अनुसार पूर्वाञ्चलका मोरङ, सुनसरी र झापा जिल्लामा धान, गहुँ र जुट खेती परम्परागत रूपमा गरिँदै आएको छ । यसबाहेक चना, कालोमास, मसुरोजस्ता दलहन खेती हुन्छ। तर बैङ्कले कर्जा प्रवाह गर्ने बेलामा राख्ने विभिन्न शर्तका कारण उनीहरू कृषि कर्जा लिन पाउँदैनन् ।
 
कृषकले सामान्यतया जग्गा धरौटी राखेर कृषि कर्जा मागिरहेका हुन्छन् । खेतमा मापदण्डअनुसारको सडक पुगेको हुँदैन र कतिपय ठाउँमा बिजुली पनि हुँदैन । जग्गा धरौटी राखेर कर्जा दिन बैङ्क र वित्तीय संस्था मान्दैनन् । अनि कृषकले स्थानीय सहकारी वा लघुवित्तबाट महँगोमा कर्जा लिन बाध्य हुनुपर्छ ।
 
पूर्व क्षेत्रका इलाम, ताप्लेजुङ, धनकुटा र तेह्रथुम जिल्लामा गरिने चिया, तरकारी र फलफूल खेती तथा पशुपालनका लागि पनि किसानले अपेक्षाअनुसारको ऋण नलिएको राष्ट्र बैङ्कको अध्ययनले देखाएको छ ।पहाडी जिल्लामा अम्लिसो, अलैँची, अदुवा, किवी लगायतको खेती पनि व्यावसायिक रूपमा गरिन्छ ।
 
मोरङको लेटाङमा सङ्गठित रूपमा सुपारी खेती गरिरहेका कृषक ईश्वरी कोइरालाले सुपारीलाई कृषिमा सूचीकृत नगरेका कारण बैङ्कबाट कृषि कर्जा लिन नसकिएको गुनासो गरे ।‘सुपारी त हातोहात बिक्ने र निर्यातसमेत गर्न सकिने कृषि नगदेबाली हो’, कोइरालाले भने, ‘तर हामीले अन्य पेशासरहको महँगो ब्याजमा ऋण लिन बाध्य हुनुपरेको छ । सुपारीलाई सरकारले कृषिमा सूचीकृत गर्नुपर्छ र बैङ्कले सस्तो ब्याजदरमा ऋण दिनुपर्छ ।’

Tata
GBIME
Nepal Life

गत पुस मसान्तसम्ममा पूर्वाञ्चलमा निक्षेप २१ प्रतिशतले बढेर ९८ अर्ब पुगेको छ र कर्जा प्रवाह ४१ प्रतिशतले बढेर १ खर्ब ४२ अर्ब पुगेको निर्देशक पौडेलले बताए ।पूर्वाञ्चलका मोरङ, सुनसरी र झापा गरी तीन वटै जिल्ला लगानीका मुख्य केन्द्र भएकाले निक्षेपभन्दा कर्जाप्रवाह बढी देखिएको हो।पौडलका अनुसार यस क्षेत्रका बैङ्क तथा वित्तीय संस्थाहरूको कर्जा निक्षेप अनुपात राष्ट्रिय औसतभन्दा अत्यधिक छ ।