‘सहचालक’पेशाप्रति महिलाहरुको आकर्षण बढ्दो, यात्रुको सम्मानजनक ब्यवहारले थपियो उत्साह

बिजमाण्डू
२०७४ बैशाख १९ गते १७:०३ | May 2, 2017

काठमाडौं। पोहोरसम्म ब्युटिपार्लरमा काम गर्ने जमुना बस्नेतको दिनचर्या  अहिले फेरिएको छ। एक वर्षदेखि जमुना महानगर यातायातका बसमा सहचालक छिन्।

Tata
GBIME
Nepal Life

सिन्धुपाल्चोक बाह्रविसे घर भएकी जमुना बसमा सहचालक बनेको एक बर्ष भएको छ । ब्युटिपार्लरबाट मोडिएर बसको यात्रा थालेपछि जमुनाको रहर पनि फेरिएको छ। अब गाडी चालक बन्नु उनको रहर हो ।

११ कक्षासम्म पढेकी उनी पेशाबाट दुखी छैनन् । सहचालकको काम गरेर महिनाको २० हजारसम्म कमाइ हुने गरेको छ । ९ हजार ७ सय तलब पाउने गरेकी जमुनाले भत्ता पनि पाउँछिन् । रिङरोड एक चक्कर लगाएको एक सय रुपैयाँ भत्ता पाउने उनले बताइन्।
‘सहचालककै कामबाट मासिक २, ३ हजार बचत समेत हुन थालेको छ’ -जमुना सुनाउँछिन् ।

उनले यो पेशामा कमाइ र सम्मान दुवै मिलेको बताएकी छिन। वृद्धवृद्धाहरु लामो समय कुरेर पनि महिला सहचालक भएको बसमा चढ्ने गरेको उनको अनुभव छ। महिला सहचालकको नरम ब्यवहारले नै मानिसहरुको खलासीप्रतिको दृष्टिकोण बदलिएको उनको ठम्याइ छ ।

सुरु सुरुमा सहचालकको काम गर्दा जमुनालार्इ चिनेजानेका मानिस गाडीमा नचढिदिएहुन्थ्यो जस्तो लाग्थ्यो। उनीहरुले के भन्लान् जस्तो लाग्थ्यो। उनलार्इ लाज पनि लाग्थ्यो रे । तर आज समय बदलिएको छ । एक वर्षको अवधिमा उनमा आत्मविश्वास बढेको छ। आजभोलि उनी चिनेका मान्छे चढ्दा मज्जाले गफगाफ गर्छिन्।

उनी अरुलार्इ पनि सहचालकको काम गर्न हौसला दिन्छिन्। आफ्नो पेशालार्इ सम्मान गर्ने केटासँग विवाह गर्ने सोच रहेको उनले बताइन्।
महानगर यातायातमै सहचालक छिन् गोपीनी नेपाली । उनी भर्खर १८ बर्ष मात्र भइन् ।

महानगर यातायातले महिलालार्इ सहचालक राख्ने भएपछि उनले सहचालकको काम सुरु गरेकी हुन्। गाडी चढ्ने सबैले हौसला दिएकोले उनको उत्साह बढेको छ।

‘पहिला पहिला खलासी,कन्डक्टर भन्थे’- उनी भन्छिन् अहिले सबैले सम्मानका साथ बोलाउँछन् । विद्यार्थीहरु पनि सुरु सुरुमा उनलार्इ देखेर हाँस्ने गरेको तर बिस्तारै ब्यवहार बदलिएको उनले अनुभव गरेकी छिन् ।  उनको मासिक आम्दानी पनि २० हजार बराबरको छ । उनी आफ्नो आम्दानीबाट सन्तुष्ट देखिन्छिन् । उनको पनि लक्ष्य चालक नै बन्ने छ ।

महिला सहचालकले यात्रुलार्इ मिठो र सम्मानित व्यवहार गर्ने भएकाले महिला सहचालकहरु राख्ने प्रचलन बढ्दै गएको छ । यात्रुहरुलार्इ पनि महिला सहचालक भएको बसमा चढ्दा सहज अनुभव गर्न थालेका छन् ।

साझा यातायात,धुम्रवराह यातायात,सिटी मेट्रो लगायतका ठूला बसमा पनि केहि सहचालक  महिला छन्। अन्य साना बस र माइक्रोहरुमा पनि महिला सहचालक भेटिन थालेका छन् । टेम्पोहरुमा अधिकांश महिला चालक नै भेटिन्छन् ।

महिला सहचालक राखेको लगभग एकबर्षको समायवधिमा सेवा आकर्षक र सम्मानित बन्दै गएको महानगर यातायातका सत्र्चालक केशव नेपालको अनुभव छ ।

उनले पुरुषका तुलनामा महिलाहरु इमान्दार र लगनशिल भएको बताए । महानगरले महिलालार्इ नै चालक र सहचालकका लागि पहिलो प्राथमिकता दिएको बताएको छ। महानगर यातायातका हाल ३९ वटा बसहरु सञ्चालनमा छन् । जसमा २० जना सहचालक महिला नै छन्।