गाडीबाट राजश्व उठ्ति कम भएपछि आयात गर्न अर्थको दवाव, ऋणको सीमा बढाउने आश्वासन

बिजमाण्डू
२०७४ बैशाख २६ गते ०९:५८ | May 9, 2017
गाडीबाट राजश्व उठ्ति कम भएपछि आयात गर्न अर्थको दवाव, ऋणको सीमा बढाउने आश्वासन
काठमाडौं। अर्थमन्त्रालयले वीरगञ्ज भन्सार पारी नै गाडी राखेको आशंका गर्दै व्यवसायीहरुलाई गाडी आयात गर्न आग्रह गरेको छ। पछिल्लो समय गाडी आयात घटेर राजश्व कम भएको निष्कर्ष अर्थ मन्त्रालयको हो।


 
अर्थमन्त्रालयका सचिव डा. शान्तराज सुवेदी तथा राजश्व सचिव राजन खनालले अटो मोवाइल्स डिलर एसोसिएसनका अधिकारीहरुलाई आर्थिक बर्ष सकिन लागेकाले पारी राखिएका गाडी आयात गर्न आग्रह गरेका हुन्।
 
'अर्थका अधिकारीहरुले पारी रहेका गाडीहरु आयात गर्न भनिरहनुभएको छ' एसोसिएसनका अध्यक्ष अन्जन श्रेष्ठले भने।
 
बैंकहरुले ब्याज दर बढाउन थालेपछि गाडीको माग कम भइरहेको थियो। त्यही बेला नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्द्धबार्षिक समीक्षामा निजी कारमा त्यसको मूल्यको ५० प्रतिशतसम्म मात्र ऋण दिन पाइने व्यवस्था गरेपछि गाडी आयात लगभग ठप्पै भएको हो।
 
एसोसिसएसनले बैंक कर्जा सहज र सरल बनाउन राष्ट्र बैंक र अर्थमन्त्रालयलाई आग्रहसमेत गरिसकेका छन्। अर्थ र राष्ट्र बैंकले औपचारिक रुपमा गाडी कर्जाको सीमाका बारेमा बोलेका छैनन्।
 
ब्यवसायीसँगको छलफलमा भने अर्थ र राष्ट्र बैंकका अधिकारीहरु ऋणलाई सहज बनाउन भने सकारात्मक देखिएका छन्। 'आगामी बर्षको बजेटको आकार अपेक्षाभन्दा निक्कै ठूलो हुने भएकाले त्यसको स्रोत पूर्तिकालागि राजश्व लक्ष्य वढाउनु पर्छ भन्ने कुरा आएको छ' एक कार व्यवसायीले भने, 'त्यस बेला मौद्रिक नीतिलाई केही खुकुलो पारेर ऋणको सीमा बढाउन सकिने आश्वासन आएको छ।'
 
राष्ट्र बैंकको विभागीय प्रमुखहरुको स्तरबाट मौद्रिक नीतिको त्रैमासिक समीक्षा (नौं महिनाको) मा नै ऋणको सीमा केही खुकुलो हुने आश्वासन आएको व्यवसायीले बताएका छन्। 


 
राष्ट्र बैंकले भने औपचारिक रुपमा यस बारेमा मुख खोलेको छैन। राष्ट्र बैंकले चालु बर्षदेखि मौद्रिक नीतिको त्रैमासिक समीक्षा गर्न थालेको छ। असोज र पुससम्मको समीक्षा भइसकेको छ। अब चैतको समीक्षा बाँकी छ।
 
बैंकहरुले अत्याधिक ऋण लगानी गरेर थप लगानीका लागि पैसा अभाव भएपछि राष्ट्र बैंकले निजी कारको ऋण सीमा पहिलो पटक तोकेको हो। बैंकहरुले गाडीको मूल्यको ९५ प्रतिशतसम्म ऋण दिँदै आएका थिए। राष्ट्र बैंकले ऋण नियन्त्रण गर्न सीमा ५० प्रतिशतमा झारेको हो।
 
राष्ट्र बैंकका अधिकारीहरुले अनौपचारिक रुपमा सीमालाई पहिलेजस्तो खुला नछाडिए पनि ७० प्रतिशतसम्म पुर्याउन सकिने बताएका छन्। 
 
१५ दिनयता अर्थ सचिव तथा राजश्व सचिवहरुले दिनहुँजसो फोन गरेर सवारी साधन बिक्री गर्ने व्यवसायीहरुलाई गाडी भित्र्याउन आग्रह गर्दै आएका छन्। 'तपाईहरु ढुक्क भएर किन बसेको? पारी गाडी नराख्नुस्। भित्र्याइहाल्नुस् भन्ने गर्नु हुन्छ' एक ब्यवसायीले भने, 'सरकारको गाडीबाट अपेक्षा अनुसारको राजश्व नउठेको आँकलन हामीले गरेका छौं। त्यही भएर उहाँहरुको तारन्तार ताकेता आएको हुनसक्छ।'

Tata
GBIME
Nepal Life