काठमाडौं। काठमाडौं शहरमा स्नातक पढिरहेको कुनै युवाले आफ्नो भविष्य केमा देख्छ? ट्रेन्ड हेर्दा सहजै अनुमान गर्न सकिन्छ उ विदेश जाने सपना पाल्छ या त कुनै राम्रो नोकरी खोजेर सेटल हुन चाहन्छ । तर राजधानीको मध्यभागमा जन्मे हुर्केका एक युवाले आफ्नो भविष्य गार्इपालनमा देखेका छन्। स्नातक नसकिँदै उनले ब्यावसायिक रुपमा गार्इपालन सुरु गरेका छन्।
बसुन्धरा चोकबाट धापासीतिर जाने बाटोबाट नमुना मार्गतिर छिर्नेबित्तिकै ‘सिटी काउ फार्म’ पुगिन्छ ।
यो काउ फार्म दुर्इ महिनाअघिमात्रै राजेन्द्र खनालले खोलेका हुन्।
राजेन्द्र काठमाडौंको केएफए कलेजमा होटल म्यानेजमेन्टमा स्नातक तह छैठौं सेमेस्टर पढिरहेका छन्।
उनले जुन ‘प्यासन’कासाथ काम गरिरहेका छन् त्यो हेर्दा उनी रहर पूरा गर्न नभइ ब्यावसायिक सोचका साथ गार्इपालनमा उत्रिएको देखिन्छ।
गर्न त उनले ५ वर्ष होटल तिब्बतमा काम पनि गरे। तर त्यहाँ उनी रमाउन सकेनन्।
उनी केही फरक सोचिरहेका थिए। आफ्नै काम सुरु गर्न चाहन्थे। जागिरको सानो तलबमा चित्त बुझिरहेको थिएन रे उनलार्इ।
ब्यावसायिक रुपमा गार्इ पालेर कमाउन सकिन्छ भन्ने सोच आएपछि राजेन्द्रले एउटा जर्सी र पाँचवटा होलिस्ट्यान जातका गार्इबाट फार्म सुरु गरेका हुन्।
गार्इको दूध बेचेर उनी मासिक आधा लाख कमाउने भएका छन्। राजेन्द्र भन्छन्-‘पढाइ खर्च पनि पुर्याएको छु, घर खर्च पनि चलाएकै छु।’
उनले आजकल थोरै भएपनि बचत समेत गर्न थालेका छन् रे।
गार्इ फार्ममा दैनिक ७० लिटर दूध उत्पादन हुने गरेको छ । एउटा गार्इले दैनिक १५ देखि १७ लिटरसम्म दुध दिने गरेको उनी बताउँछन्।
उनको फर्मको आम्दानी मासिक १ लाख ७० हजार बराबरको छ भने खर्च कटाएर ५० देखि ६० हजार उनले बचत गरिरहेका छन्।
राजेन्द्रलार्इ दूधको बजार खोज्न समस्या छैन। घरमै रहेको पसलबाट उनले दूध बेच्ने गरेका छन्। पसलमै आएर दूध किन्ने भएपछि दूध बेच्न कता जाउँ भन्ने सोच राख्नै नपरेको उनी बताउँछन्।
राजधानीकै रैथाले राजेन्द्रले घर नजिकैको आफ्नै जग्गामा फार्म खोलेका हुन्। यस पेशामा उनलार्इ पारिवारिक सहयोग पनि राम्रै मिलिरहेको छ।
उनले गार्इपालन सम्बन्धी कुनै विशेष तालिम लिएर काम सुरु गरेका होइनन्।
‘काम गर्दै गएपछि सबै सिकिने रहेछ’- उनी बताउँछन्। त्यसो त घरमा पहिले गाइबस्तु पालेको अनुभवले पनि राम्रै फाइदा भएको छ रे उनलार्इ। उनले फार्मका सबै गार्इको १ लाख बराबरको बीमा समेत गराएका छन्।
गार्इलार्इ खुवाउनकालागि तराइबाट सुकाएको घाँस र पराल ल्याउँछन्। त्यसलार्इ दानासंग मिसाएर गार्इलार्इ खुवाउने गरेका छन्। हरियोपरियोका लागि विभिन्न होटलहरुबाट तरकारी काट्दा खेर जाने तरकारीका बोक्रा तथा डाँठहरु ल्याएर खुवाउने गरेको राजेन्द्र बताउँछन्। उनको फार्म राजधानीको मध्य भागमा भएकाले घाँस र परालको भने समस्या रहेको छ।
पढाइ सकेर फार्मलार्इ विस्तार गर्ने राजेन्द्रको योजना छ। जागिर खानुभन्दा गार्इपालनमा रमाइरहेका राजेन्द्र भन्छन्-‘यसैमा भविष्य देखेको छु।’ त्यसो त गार्इपालनको आम्दानीबाट पनि उनी निकै हौसिएको बताउँछन्।