चुनावी झडपमा मृत्यु हुनेको संख्या ४ पुग्यो, कालिकोटमा प्रहरीको गोलीले उम्मेद्वार मारिए

बिजमाण्डू
२०७४ जेठ १ गते ११:४४ | May 15, 2017
काठमाडौँ । आइतबार साँझ कालिकोटमा भएको झडपको क्रममा प्रहरीले  गोली लागेर घाइते भएका राष्ट्रिय प्रजातन्त्र पार्टीको नरहरिनाथ गाउँपालिका ६ का वडाध्यक्षका उम्मेद्वार धनरुप बटालाको मृत्यु भएको छ। 
 
उपचारको क्रममा बटलाको मृत्य भएको गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले जानकारी दिए। उनले भने ‘गोली लागेका घाइतेको मृत्यु भएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।’ 
 
झडपमा घाइते ३ जनालाई हेलिकप्टरबाट सुर्खेत पुर्‍याइएको छ। 
 
आइबार साँझ नरहरिनाथ गाउँपालिका ६ को नन्दादेवी मावि मतदान केन्द्रको मतपेटिका ढुवानीको क्रममा विप्लव समूहले आक्रमण गरेपछि प्रहरीले जवाफी फायरिङ गरेको थियो। घटनामा बटला घाइते भएका थिए। 
 
यस्तै, निर्वाचनकै क्रममा आइतबार दोलखाको मेलुङ गाउँपालिका १ का नकुल भुजेलको प्रहरीको गोलीबाट मृत्य भएको थियो। गत मंगलबार दोलखाको गौरीशंकर गाउँपालिका १, जुँगु दहबारीमा एमाले–माओवादी केन्द्रका कार्यकर्ताबीच झडप हुँदा एमाले कार्यकर्ता कुलबहादुर तामाङको मृत्यु भएको थियो। 
 
त्यसैगरी काभ्रेको नमोबुद्धमा शनिबार भएको झडपमा एक जनाको मृत्यु भएको थियो। 

Tata
GBIME
Nepal Life