नयाँ स्टक एक्सचेञ्जका लागि तीन बिकल्प, पुराना चार वटै आवेदकलाई मिलेर आउ भन्ने संभावना



बिजमाण्डू
२०७४ जेठ १ गते १५:०३ | May 15, 2017
काठमाडौं । नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेञ्ज थप गर्ने सैद्धान्तिक निर्णय गरेपछि कस्तो कम्पनी ल्याउने भन्ने बारे छलफल सुरु भएको छ। बोर्डले निजी क्षेत्र प्रवर्धित एउटा स्टक एक्सचेञ्ज बजारमा आवश्यक रहेको निश्कर्ष सहित लाइसेन्स दिने निर्णय गरेपछि नयाँ कम्पनीको मोडालिटीबारे छलफल थालेको हो। 
 
नयाँ एक्सचेञ्ज भित्र्याउने बारे तीन मोडालिटीमा बोर्डले परामर्श गरि रहेको छ। ती मध्ये २०६६ सालमा आवेदन दिएका चारलाई कम्पनीलाई एक भएर आउन निर्देशन दिने संभावना प्रवल रहेको स्रोतले बतायो। 

Tata
GBIME
Nepal Life


 

तात्कालिन अध्यक्ष डा. शुरविर पौडेलले नयाँ स्टक एक्सचेञ्जका लागि इच्छुकबाट आवेदन माग गरेका थिए। त्यही बेला चार आवेदन परेका हुन्। नेपाल सेक्युरिटीज एण्ड डेरिभेटिम एक्सचेञ्ज, काठमाडौं स्टक एक्सचेञ्ज, नेशनल स्टक एक्सचेञ्ज र हिमालयन स्टक एक्सचेञ्जले २०६६ सालमा आवेदन दिएका थिए। यी चार संस्थाका प्रवर्धकमध्ये ३९ कम्पनीमात्र बोर्डको प्रावधान अनुसार स्टक एक्सचेञ्ज सञ्चालनका लागि योग्य छन्। 

केही संस्थामा व्यक्ती, निजी कम्पनी र स्टक ब्रोकर प्रवर्धक रहेकोमा उनीहरु योग्य हुने छैनन्। नेप्सेमा सूचीकृत कम्पनी एवं ब्रोकर बाहेकका धितोपत्र व्यवसायी मात्र स्टक एक्सचेञ्जको प्रवर्धक हुन सक्ने बोर्डको प्रावधान छ। त्यसबाहेक कोही पनि व्यक्ति स्टक एक्सचेञ्जको प्रवर्धक हुन सक्दैनन्।
 
२०६६ सालमा आवेदन दिएका कम्पनीलाई एक भएर आउन निर्देशन दिने बाहेक नयाँ निवेदन माग गर्ने संभावनाबार पनि बोर्डले छलफल गरेको छ। त्यस्तै, आवेदक मध्येकै उत्कृष्ठ संस्थालाई छनौट गर्न सक्नेबारे पनि छलफल भएको छ। यी तीन बिकल्प मध्ये चार संस्थालाई एक भएर आउन निर्देशन दिँदा नै सहज र कम बिवाद हुने बोर्डको बुझाइ छ। 


 

बोर्डले आन्तरिक रुपमा गरेको अध्ययन अनुसार निजी क्षेत्र प्रवर्धित एक नयाँ स्टक एक्सचेञ्ज आवश्यक रहेको निचोड निकालेपछि लाइसेन्स दिने सैद्धान्तिक निर्णय गरेको हो। ‘बजारको आकार, पूँजीकरण देखि शेयर बजारको विस्तारका लागि थप एउटा एक्सचेञ्ज आवश्याक छ भन्ने निचोडमा पुगेको हो’ बोर्ड प्रवक्ता एवं कार्यकारी निर्देशक निरज गिरीले जानकारी दिए। 
 
नयाँ स्टक एक्सचेञ्जमा कुनै पनि प्रवर्धकको एकल बहुमत नहोस् भन्नेमा समेत बोर्डले सचेतता देखाएको छ। एउटा प्रवर्धकको बढीमा १० प्रतिशतभन्दा बढी शेयर हिस्सा नहुने बोर्ड स्रोतले जानकारी दियो। नियमावलीले स्टक एक्सचेञ्जको चुक्ता पूँजी तोक्न सक्ने अधिकार बोर्डलाई दिएको छ। बोर्डले नयाँ एक्सचेञ्जको कम्तिमा एक अर्ब रुपैयाँ चुक्ता पूँजी कायम गर्ने तयारी गरेको छ। 
 
चार संस्थालाई एक भएर आउन निर्देशन दिँदा पूँजी पनि सजिलै पुग्ने बोर्डको विश्वास छ। नयाँ एक्सचेञ्ज आएपछि नेपाल स्टक एक्सचेञ्ज  (नेप्से)को कार्यक्षमता पनि थप प्रभावकारी हुने बोर्डको विश्वास छ।