सरकारबाट बाहिरिने बेला अर्थमन्त्री महराले हतारमा थपिदिए १० बीमा कम्पनी, दुईले भने पाएनन्

बिजमाण्डू
२०७४ जेठ ३ गते २१:२३ | May 17, 2017
काठमाडौं । सरकार परिवर्तन हुने भएपछि उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले हतारमा १० जीवन बीमा कम्पनीलाई लाइसेन्स दिएका छन्। महराले बीमा समितिले प्रस्ताव गरेका १२ मध्ये १० वटालाई अनुमति दिने निर्णय गरेका हुन्।
 
युनियन, आइएमई, सिटिजन्स, रिलायवल, ज्योती, महालक्ष्मी, सन नेपाल,  सानिमा, स्टार र रिलायन्सले अनुमति पाएका हुन्। प्रस्ताव गरिएका मध्ये स्ट्यान्डर्ड र युनि लाइफलाई भने मन्त्री महराले अनुमति दिन अश्विकार गरेका छन्।
 
समितिको अध्यक्षमा चिरञ्जिवी चापागाईँ नियुक्त भए देखिनै नयाँ कम्पनीलाई लाइसेन्स दिने तयारी थालिएको थियो। २०६४ अघि दर्ता भएका कम्पनीलाई लाइसेन्स दिने उध्येश्यले समितिले  'बीमक दर्ता तथा बीमा ब्यवसाय सञ्चालन सम्बन्धि निर्देशिका-२०७३' जारी गरेको थियो।
 
अर्थमन्त्री महरा सुरु देखिनै नयाँ बीमा कम्पनीलाई लाइसेन्स दिने हतारोमा थिए। सुरुमा उनले मन्त्रीपरिषद्बाट यो निर्णय गराउन खोजेका थिए।

Tata
GBIME
Nepal Life

तर, 'क्याबिनेट'ले बीमा कम्पनीलाई लाइसेन्स दिने काम अर्थमन्त्रालयकै भनेर फिर्ता पठाइ दिएको थियो। सोही बमोजिम चीनबाट फर्किने बित्तिकै मन्त्री महराले लाइसेन्स वितरणको निर्णय गरेका हुन्। 
 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेठ एक गते नै साता भित्र राजिनामा दिने घोषणा गरेका थिए। सोही कारण मन्त्री महरा सरकार काम चलाउ हुनु अघि नै बीमा कम्पनीलाई लाइसेन्स दिनेबारे निर्णय गर्ने हतारोमा थिए। सरकारले स्वीकृत दिएका कम्पनीलाई बीमा समितिले निश्चित म्याद दिएर आवश्यक कागजात पुर्याउन निर्देशन दिनेछ। 
 
सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थान सहित अहिले नौ जीवन बीमा कम्पनी कार्यरत छन्। यी १० थपिएपछि जीवन बीमा कम्पनीको संख्या १९ पुग्नेछ। बीमाको बजार खासै फष्टाउन नसेकको बेला एकै पटक यति धेरै कम्पनी थप गर्दा बजार अश्वस्थ प्रतिश्पर्धा बढ्न सक्ने तर्फ पुराना कम्पनीले भने चिन्ता व्यक्त गरेका छन्।