१० बीमा कम्पनीलाई लाइसेन्स बाँडेकोमा पूर्वअर्थमन्त्री महतको आपत्ति, भने- बेथितिको जोखिम

बिजमाण्डू
२०७४ जेठ ५ गते १३:४५ | May 19, 2017
काठमाडौं। पूर्वअर्थमन्त्री डा. रामशरण महतले कुनै अध्ययनबीनै १० जीवन बीमा कम्पनीलाई लाइसेन्स दिने सरकारी निर्णयको विरोध गरेका छन्। नेपाली कांग्रेसका नेता महतले बजार अध्ययनबीनै लाइसेन्स दिँदा विथितिको जोखिम बढ्ने बताएका हुन्।
 
डा. महतले टुइट गर्दै भनेका छन्- १० नयाँ जीबन बीमा कम्पनीलाई लाइसेन्स रे! बीमाको वर्तमान अवस्था,बजार विश्लेषण,नियमन क्षमता आदिको विस्तृत अध्ययन नभइ निर्णय भएमा बेथितिको जोखिम!
 
अर्थमन्त्री कृष्णवहादुर महराले हतार हतार १० जीवन बिमा कम्पनीलाई लाइसेन्स दिने निर्णय गरेपछि महतले त्यसको विरोध गरेका हुन्। 
 
बीमा लाइसेन्सको निर्णय गर्न कम्पनीका लगानीकर्ताभन्दा वढि हतारो अर्थमन्त्री महरालाई थियो। उनले चीन जानुअघि निर्णय गर्न फाइल क्याविनेट लगेका थिए। क्याविनेटले मन्त्रीस्तरीयबाटै निर्णय गरे हुन्छ भनेर फाइल फर्काइ दिएको थियो। त्यसपछि महरा चीन गए। चीनबाट फर्किएको भोलिपल्टै उनले १० वटालाई लाइसेन्स दिने निर्णय गरेका हुन्।
 
उनले बजारमा के कति बीमा कम्पनी आवश्यक हुन्छ भनेर अध्ययनसमेत गराएका थिएनन्। जबकी बजारमा बीमा कम्पनीका लागि आवश्यक पर्ने दक्ष कर्मचारीको अभाव छ।
 
बीमा समितिले प्रमुख कार्यकारी अधिकृतको योग्यता र अनुभवका बारेमा नयाँ व्यवस्था गरेपछि सञ्चालनमै रहेका कतिपय कम्पनीले त्यो अनुभव भएको प्रमुख कार्यकारी पाउन सकेनन्। लामो समय पद रिक्त रह्यो, कामुका रुपमा तल्लो तहका कर्मचारीले कम्पनी चलाउनु पर्ने वाध्यता आयो।
 
सञ्चालनमा रहेका कम्पनीहरुमा अन्डरराइटर, क्लेम सेटलमेन्ट, रिइन्स्योरेन्स युनिटजस्ता विभागमा अनुभवी कर्मचारीको अभाव छ। नयाँ आएपछि यस्तो क्षमताको कर्मचारी अभाव थप चुलिने छ।
 
विगतमा पनि नेपाल राष्ट्र बैंकले अन्धधुन्द बैंक तथा वित्तीय संस्थालाई लाइसेन्स बाँड्दा नियमन गर्ने क्षमता कम भएर १६ वटा संस्था समस्याग्रस्तथ नै भए। केही ठूला बैंकहरुमा कर्मचारी कम दक्ष हुँदा सञ्चालन जोखिम आयो। राष्ट्र बैंकले पुरानो गल्ती सुधार्न मर्जर तथा एक्विाजसन नीति ल्याएर संस्था घटाइरहेको छ।
 
व्यापारका हिसावले पनि नयाँ थपिने कम्पनीलाई चुनौतीपूर्ण छ। संचालनमा रहेका कम्पनीहरु व्यापार विस्तार गर्न नसकिरहेका बेला नयाँ कम्पनी आउँदा व्यापार खोस्ने प्रतिस्पर्धा चल्नसक्छ। 

Tata
GBIME
Nepal Life