भरतपुरमा मतगणना रोकियो, कांग्रेस-माओवादीले निर्वाचन अधिकृतविरुद्ध गरे नाराबाजी, के हो विवाद?

बिजमाण्डू
२०७४ जेठ ५ गते २१:२८ | May 19, 2017
चितवन ।प्रधानमन्त्री पुत्री रेणु दाहालले मेयरको उम्मेदवारी दिएको र नेपाली कांग्रेससँग भएको तालमेलका कारण देशकै ध्यान तानिएको भरतपुर महानगरपालिकाको मतगणना साँझ ७ बजेपछि रोकिएको छ। 
 

माओवादी र कांग्रेस कार्यकर्ताहरुले निर्वाचन अधिकृतविरुद्ध नाराबाजीसमेत गरे। 
 
माओवादी केन्द्रका सह इन्चार्ज घनश्याम दाहालले महानगरपालिकाको वडा नम्बर ९ मा मतगणनाका क्रममा आफ्नो १८७ मत गडबड गरिएपछि विरोध गरेको बताए। उनका अनुसार यसअघि गणना गरिएका वडा नं. ४ र ७ मा पनि गडबड भएकोले नसच्याएसम्म गणना अघि बढ्न नहुने बताए। 
 
प्रमुख र उपप्रमुख पदमा माओवादी केन्द्रसँग मिलेको नेपाली कांग्रेसले पनि गणनामा शङ्का लागेको भन्दै विरोध जनाएको छ। चितवन कांग्रेसका सभापति जीतनारायण श्रेष्ठले राप्रपासमेत मतगणना स्थगित गर्नुपर्छ भनेर बाहिरिएको बताए। 
 
'कम्तिमा सय सय मत गनिसकेपछि यति भयो भनेर भन्नुस्, त्यही अनुसार हामी ट्याली गर्छौँ भनेर हामीले बिहान निर्वाचन अधिकृतलाई भन्दा उहाँले हुन्छ भन्नुभएको थियो। तर उहाँले गर्नुभएन,' दाहालले भने, 'बारम्बार हामीले सुझाव दियौँ तर उहाँले गर्नुभएन। कम्प्युटर भित्र लगेर राख्या छ कसरी टाइप भएको छ थाहा छैन। वडा नम्बर एकको गणना गर्दासमेत तीन वटा पाना छुटेका थिए।'
 
उनका अनुसार दलहरुबीच साझा धारणा नआएसम्म मतगणनाको काम रोकिने छ। त्यस्तै चितवन कांग्रेसका सभापति जीतनारायण श्रेष्ठ मतगणना पारदर्शी नभएको आरोप लगाए। 'वडामा जितेको उम्मेदवार विजय र्‍यालीमा सहभागी भइसकेपछि एकाएक विजयी उम्मेदवारलाई हारियो भनेर घोषणा गरियो', उनले भने, 'हामीले तत्काल रिकाउन्ट गर्नुपर्छ भन्यौँ। निर्वाचन अधिकृत (जिल्ला न्यायाधीश कविप्रसाद न्यौपाने) ले सर्वदलीय सहमति गरिसकेपछि मात्रै यस विषयमा म निर्णय गर्छु, म एक्लै निर्णय गर्न सक्दिनँ भन्नुभयो र हामी निस्किसकेपछि राति एकाएक परिणाम घोषणा गर्नुभयो।'
 
उनले मुख्य निर्वाचन अधिकृतकै योग्यता र क्षमतामा प्रश्न उठेको आरोप लगाए। 'सार्वजनिक भएको परिणामको पनि विश्वसनीयतामा प्रश्न उब्जिएको छ', उनले भने, 'परिणाम निष्पक्ष आउँछ भनेर हामीलाई विश्वास दिलाउनु पर्‍यो।'
 
भरतपुर महानगरपालिकाको हरेक मतदाताले थाहा पाउनु पर्‍यो कि कति मत बदर भएको छ कुन वडामा। बदर मतबारे यहाँको पत्रकारहरुले जानकारी पाउनु पर्ने कि नपर्ने? उनले प्रश्न राखे, 'महानगरपालिका जस्तो ठाउँमा थाहा पाउनु पर्दैन? हामीले पञ्चायतकालको निर्वाचन पनि हेर्‍यौँ। राजा ज्ञानेन्द्रले गराएको निर्वाचन पनि हेर्‍यौँ। यो ढंगको थिएन। यो ढंगले गरिएको मतगणनाप्रति हामीलाई विश्वास छैन।'     
 
उहाँको नियत सफा छ भने सफा ढंगले पारदर्शी काम गर्नुपर्‍यो। कति मत सदर छ कति मत बदर छ भन्नुपर्‍यो, उनले भने। भरतपुर महानगरपालिकाको वडा नम्बर १ देखि ९ सम्मको मतगणना सम्पन्न भएको छ। वडा नं. १० को गणना हुँदै गर्दा रोकिएको हो। हालसम्म नेकपा (एमाले)ले पाँच वडा र नेपाली कांग्रेसले चार वडामा विजय हासिल गरेका छन्। 
 
मेयरमा नेकपा एमालेका देवीप्रसाद ज्ञवाली र माओवादी केन्द्रकी रेणु दाहालबीच कडा प्रतिस्पर्धा भइरहेको छ।

Tata
GBIME
Nepal Life