मोरङमा ८० करोड लगानीमा गलैंचा उद्योग स्थापना, अत्याधुनिक प्रविधिबाट गलैंचा उत्पादन हुने

अनन्तराज न्यौपाने/बिजमाण्डू
२०७४ जेठ ६ गते १४:०८ | May 20, 2017
मोरङमा ८० करोड लगानीमा गलैंचा उद्योग स्थापना, अत्याधुनिक प्रविधिबाट गलैंचा उत्पादन हुने


विराटनगर ।८० करोड लगानीमा मोरङमा गलैंचा उद्योग स्थापना भएको छ।दुर्इ युवा उद्यमी सुनिल टिवडेवाल र अनुपम राठीले अत्याधुनिक प्रविधिसहितको गलैंचा उद्योग स्थापना गरेका हुन्।
 

मोरङको बुढीगङ्गा गाउँपालिकामा सञ्चालित उद्योग हाइटेक्स कार्पेट उद्योगले जर्मन र बेलायतबाट ल्याइएका अत्याधुनिक मेसिनबाट गलैँचा उत्पादन गर्न थालिसकेको छ।सिन्थेटिक यार्न र लेटेक्समार्फत गलैंचा उत्पादन गरिरहेको छ।वार्षिक १६ लाख वर्ग मिटर गलैंचा उत्पादन गर्न उद्योगका संचालक टिवडेवालले बताए।
 
‘हामी अन्तर्राष्ट्रिय स्तरको गलैँचा उत्पादन गर्न सक्षम छौँ’, सुनिलले भने, ‘तर न्यून विजकीकरणमा आयात गरिएको गलैँचासित प्रतिस्पर्धा गर्न गाह्रो भएको छ ।’
अर्का साझेदार अनुपमका अनुसार सबै प्रकारका गलैँचा लगभग एउटै मूल्यमा आयात गरिन्छन् । भन्सार कार्यालयले वर्ग मिटरका आधारमा मूल्याङ्कन गरेर राजस्व असुल गर्छ । तर एक वर्ग मिटरको गलैँचा पातलो भएमा एक किलोको पनि हुनसक्छ वा मोटो हुँदा तीन किलोको पनि हुनसक्छ । मोटो, पातलो वा अझ उच्च गुणस्तरको जस्तो गलैँचा आयात गरे पनि वर्ग मिटरका आधारमा मूल्याङ्कन गरिन्छ र त्यसैअनुरूप राजस्व बुझाउनु पर्छ । यसले गर्दा महँगा गलैँचा सस्तोमा आयात गरिँदै छन् र राजस्व पनि छलिँदै आएको उनले बताए। राजस्व र भन्सार महसुलसम्बन्धी सरकारी नीतिकै कारण गलैँचाको आयात प्रतिस्थापन हुन नसकेको राठीले बताए।
नेपालमा हाल बेल्जियम, इन्डोनेसिया र टर्कीबाट गलैँचाको आयात भइरहेको छ । गलैँचा आयात गर्दा भन्सार महसुल ३० र भ्याट १३ प्रतिशत बुझाउनु पर्छ । तर वास्तविक मूल्यभन्दा आधा कम देखाएर आयात गरिने हुँदा गलैँचाको उत्पादन र आयातको लागत उस्तै पर्ने राठीले बताए ।
नेपालका पहाडी र हिमाली भेगमा घरेलु उद्योगका रूपमा वर्षौदेखि परम्परागत रूपमै गलैँचाको उत्पादन भइरहेको छ ।नेपालको घरेलु व्यवसायलाई अप्ठ्यारो नपार्ने गरी उत्पादनलाई तीव्रताका साथ विविधीकरण र विस्तार गर्ने टिवडेवालले जनाए ।
 

Tata
GBIME
Nepal Life