पौडेल समूहको गोप्य चुनावी समीक्षा : तीन काण्डले सहरी क्षेत्रमा कांग्रेसको मत घटेको निष्कर्ष

बिजमाण्डू
२०७४ जेठ ९ गते ०६:०६ | May 23, 2017
काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले गोप्य चुनावी समीक्षा गरेको छ। केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजकसमेत रहेका नेता पौडेलले परिचालन समितिमा रहेका देउवा पक्षका नेता बिना नै गोप्य भेला गरेर निर्वाचनको प्रारम्भिक समीक्षा गरेका हुन्। 
 
फाइल तस्विर
समीक्षा भेलाले सभापति देउवाका केही कमिकमजोरी औंल्याउँदै तिनै कारणबाट शहरी क्षेत्रको भोट घटेको भन्दै ग्रामीण क्षेत्रमा पनि उम्मेद्वार चयन तथा निर्वाचन व्यवस्थापनमा कमी कमजोरी भएको निष्कर्ष निकालेको छ। 
 
पहिलो चरणको स्थानीय तह निर्वाचनको परिणाम पूरै आइनसक्दै चुनावी समीक्षामा बसेको पौडेल समूहले तीनवटा काण्डका कारण ग्रामीण क्षेत्रमा उत्साहप्रद मत आए पनि कांग्रेसका पक्षमा रहेको सहरी क्षेत्रको मत घटेको निष्कर्ष निकालेको हो। 
 
अनामनगरमा भएको पौडेल पक्षीय भेलाले राजदूत काण्ड, आइजीपी काण्ड र प्रधानन्यायाधीशलाई महाअभियोग लगाउने काण्डले सहरी क्षेत्रको मत प्रभावित भएको निष्कर्ष निकालेको हो। 
 
'सामान्य चुनावी समिक्षाका लागि हामी छलफलमा बसेका थियौँ त्यहाँ कांग्रेसको पकड रहेका शहरी क्षेत्रमा किन मत कम आयो भन्ने समीक्षा गरियो,' पौडेल पक्षका एक केन्द्रीय सदस्यले भने, 'त्यसमा सरकारको राजदूत नियुक्ति गर्ने निर्णयमा भएको त्रुटि र आइजीपी नियुक्ति गर्ने निर्णयमा देखिएको विवादले मतदातामा असर गरेको भन्ने निष्कर्ष निकालिएको छ।' 
 
उनले सबैभन्दा बढी असर महाअभियोग काण्डले पारेको बताए। 'प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्ताव र त्यसमा विपक्षीले चालेका कदम तथा सामाजिक सञ्जालमा भएका बहसले सबैभन्दा धेरै शहरी क्षेत्रको मतमा असर पुगेको ठहर हामीले गरेका छौँ,' ती केन्द्रीय सदस्यले भने।
 
'अहिले यी विषय सार्वजनिक गर्ने समय भएको छैन, समय आएपछि औपचारिक समीक्षासहित यसलाई सार्वजनिक गर्नेछौँ,' ती केन्द्रीय सदस्यले भने, 'अहिले हामीले केन्द्रीय समिति बैठक बसिनसकेको हुनाले विचार मिल्ने साथीहरु बसेर सामान्य छलफल मात्र गरेका हौँ।' 
 
उनले औपचारिक रुपमा सार्वजनिक गर्दा पनि विषय यही भए पनि त्यसलाई समय आएपछि सार्वजनिक गर्ने र सभापतिको ध्यानाकर्षण पनि गराउने बताए। 
 
वरिष्ठ नेता पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले सहरी क्षेत्रको मत घट्नुमा मुख्य तीन कारण नै ठहर भएको बताए। 
 
'आजको भेलाबाट तीनवटा काण्ड आइजीपी नियुक्ति, राजदुत नियुक्ति र महाअभियोग काण्डले सहरी क्षेत्रको मत घटेको निष्कर्ष निकालेको छ,' अधिकारीले भने, 'ग्रामिण क्षेत्रमा केही बिग्रनुमा भने उम्मेद्वार चयन र व्यवस्थापनमा केही कमजोरी भएको निष्कर्ष छ।'  

Tata
GBIME
Nepal Life