आफ्नो ट्रेडमार्क चोरीएको भन्दै गुगलले हाल्यो नेपालीलाई मुद्दा, ट्रेडमार्क बिवाद बर्षेनी बढ्दो

बिजमाण्डू
२०७४ जेठ ९ गते १४:३३ | May 23, 2017
काठमाडौं । विदेशी लगानी आकर्षणका लागि सरकारको पहल जारी रहँदा बहुराष्ट्रिय कम्पनीहरुलाई निजी क्षेत्रबाटै चुनौती थपिएको छ। यो चुनौती कुनै व्यवसायीक प्रतिश्पर्धाको कारणले बढेको भने होइन। छिर्के दाउमा बहुराष्ट्रिय कम्पनीको ट्रेडमार्क नेपालीले नै दर्ता गराइदिने प्रबृत्ति बढेको कारण उनीहरुको नेपाल आगमन चुनौतीपुर्ण बन्न थालेको हो।

Tata
GBIME
Nepal Life


 

यतिसम्मकी विश्व प्रख्यात गुगलको समेत नेपालमा ट्रेडमार्क चोरी प्रयास भएको छ। नेपालीले ‘गुगल इन्टरप्राइजेज’ नामको कम्पनी दर्ता गरेपछि अमेरिका स्थित ‘गुगल आईएनसी १६००’ले उद्योग विभागमा मुद्दा नै दायर गरि सकेको छ। विश्वकै ठूलो सर्च इन्जिन गुगलले नेपाली कम्पनीले आफ्नो ट्रेडमार्क चोरी गरेको भन्दै कानुनी लँडाइ सुरु गरेको हो। 

गुगल मात्र होइन रिलायन्स, कोल्गेट र युनिलिभर जस्ता विख्यात बहुराष्ट्रिय कम्पनी पनि आफ्नो ट्रेडमार्क चोरिएको भन्दै कानुनी लडाइँमा छन्। केही समय अघि जापानको प्रख्यात कान्साइ नेरोल्याक पेन्ट्सले नेपालमा यस्तै मुद्दा हारे पछि आफ्नो नामनै बदलेको थियो। 

यो पनि हेर्नुहोस्- कसरी अर्कैको कब्जामा पर्यो कान्साइ नेरोल्याक?

 
युनिलिभर नेपालले १५ बढी कस्मेटिक सामान उत्पादक कम्पनीहरु विरुद्ध मुद्धा लडिरहेको छ। उर्वसी कस्मेटिक, समिर कस्मेटिक रुपन्देही, सोनु कस्मेटिक धनुषा लगायत १५ बढी कम्पनीले आफ्नो ट्रेडमार्क नक्कल गरेको भन्दै युनिलिभरले बिभागमा दावी/विरोधको मुद्धा हालेको हो। उसले ती कम्पनीका उद्पादन बिक्री वितरणमा रोक लागाई क्षतीपूर्ति दिनुपर्ने माग गरेको छ। वेलायतमा मुख्यालय रहेको युनिलिभरले नेपाली व्यवसायीको साझेदारीमा हेटौँडामा उद्योग सञ्चालन गर्दै आएको छ।
 
'कोल्गेट'ले रुपन्देहीमा रहेको 'क्लिनिक केयर' विरुद्ध दावी/विरोधको मुद्धा हालेको छ। दन्तमन्जन लगायत उपभोग्य वस्तु उत्पादक 'कोल्गेट' अमेरिकी बहुराष्ट्रिय कम्पनी हो।
 
भारतीय बहुराष्ट्रिय कम्पनी रिलायन्स इन्डष्ट्रिजले जयनेपाल चार्जर उद्योग विरुद्ध ट्रेडमार्क दर्ता रोक्न माग गर्दै विभागमा उजुरी दिएको छ। रिलायन्सले बेगा ईलेक्ट्रोनिकस् कम्पनीको नाममा पनि दावी/विरोध मुद्धा हालेको छ।
 
ठूला विदेशी कम्पनीको ट्रेडमार्क एवं लोगो चोरीको विवाद चर्किँदै जाँदा विदेशी लगानी प्रभावित हुनसक्ने तर्फ सरकारी अधिकारीले पनि चिन्ता व्यक्त गर्न थालेका छन्। पछिल्लो समय यस्ता विवाद लगातार बढि रहेका छन्। र, नेपालमा ट्रेडमार्क दावी/विरोधको मुद्धा हाल्नेमा स्वदेशी भन्दा बहुराष्ट्रिय कम्पनीनै धेरै छन्। अमेरिका, बेलायत, भारत, नेदरल्याण्ड, फिनल्याण्ड, जापान लगायतका देशका कम्पनीबाट चालु आर्थीक वर्षमै धेरै मुद्धा परेका छन्।

नेपालमा २०६१ सालमा पहिलो ट्रेडमार्कको मुद्दा आएको उद्योग विभागको तथ्याङ्कमा छ। त्यसपछि २०६४ र ०६५ पनि एक/एकवटा मुद्दा परेका थिए। २०६६ मा १५ वटा मुद्दा परे सँगै यो क्रम बढि रहेको छ। आर्थिक वर्ष २०६७/०६८ देखि २०७२/०७३ सम्मको अवधीमा ४८० वटा ट्रेडमार्क सम्बन्धी मुद्दा परेका थिए। चालु आर्थिक वर्षको पहिलो १० महिनामा १३० वटा मुद्दा परिसकेका छन्।


 

बौद्धिक सम्पत्ति सम्बन्धी नेपाली कानुनमा ट्रेडमार्क, लोगो एवं नाम दर्ताका लागि पहिलो आउनेलाई प्राथमिकता दिने प्रावधान छ। यही कानुनी छिद्रलाई समातेर नेपालीले नै बहुराष्ट्रिय कम्पनीको ट्रेडमार्क दर्ता गर्ने गलत संस्कार बिकास भएको उद्योग विभागका अधिकारी बताउँछन्। 'पेरिस कन्भेन्सन'ले व्याख्या गरे अनुसार स्थापित बहुराष्ट्रिय कम्पनीको ट्रेडमार्क नेपालमा दर्ता हुनु अगावै कसैले चोरी गर्न खोजे रोक्ने कानुन निर्माण नगर्दा विदेशी लगानीकर्तालाई हतोत्साहीत गर्ने ठाउँ पाएको उनीहरुको भनाइ छ।
 
नेपालमा ट्रेडमार्क दर्ता गरे पनि लेभल (प्याकेजिङ शैली, कर्पोरेट रङको प्रयोग आदी) दर्ता गर्नुपर्ने व्यवस्था नभएको कारण पनि समस्या बल्झिने गरेको विभागका अधिकारीको अनुभव छ। कानुनी त्रुटीकै कारण ट्रेडमार्कका समस्या बढिरहेको उनीहरुको बुझाइ छ।