लगातार घटेको शेयर बजार प्रधानमन्त्रीको राजिनामा आउने दिन हरियो, दोहोरो अंकको बृद्धि

बिजमाण्डू
२०७४ जेठ ९ गते १५:१८ | May 23, 2017
काठमाडौं । गत साता देखिनै लगातार घटि रहेको शेयर बजार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजिनामाको दिन लाग्दा बढेको छ। मधेशमा स्थानीय तहको संख्या थपेसँगै दोस्रो चरणको चुनावमा मधेस केन्द्रित दल सहभागि हुने विश्वासमा बजार बढेको लगानीकर्ताको भनाइ छ। 
 
मंगलबार १० अंकले बजार बढेर १६२६.५१ अंकमा पुगेको छ। कारोबार रकम समेत विगत केही दिनको तुलनामा आज बृद्धि भएको छ। साताको तेस्रो दिन १४७ कम्पनीको ७८ करोड ६६ लाख रुपैयाँ बराबरको १० लाख १७ हजार कित्ता शेयर किनबेच भएको हो। 
 
खुल्ने बित्तिकै केही घटेको बजार सवा ११ बजेपछि बढ्न थालेको थियो। सवा ११ बजे १६१२ अंकबाट उकालो लागेको बजार १२:०७ बजे १६३६ अंकसम्म पुगेको थियो। त्यसपछि क्रमिक रुपले घटेको बजार पौने तीन बजे १६२२ अंकसम्म ओर्लिएको थियो। त्यसपछि चार अंकले बढेर बजार बन्द भएको हो। 
 
कांग्रेस माओबादी गठबन्धन कायम रहने, निर्वाचन हुने जस्ता राजनीतिक घटनाक्रमले बजारमा आत्मविश्वास ल्याएको जनाइएको छ। आज कारोबारमा आएका सबै उपसूचक बढेका छन्। सबैभन्दा धेरै उत्पादन मूलक उपसूचक २.२९ प्रतिशतले बढेको छ। मंगलबार सबैभन्दा धेरै हिमालय डिष्टिलरीका शेयरधनीले झन्डै १० प्रतिशत कमाए भने सिनर्जी पावर डेभलपमेन्टका लगानीकर्ताले करिब चार प्रतिशत गुमाएका छन्। 
 
सबै भन्दा धेरै मेरो माइक्रोफाइनान्सको शेयर छ करोड ७१ लाख रुपैयाँ बराबरको खरिद बिक्री भयो। स्ट्यान्डर्ड चार्टर्ड बैंकको शेयर पनि छ करोड १० लाख रुपैयाँ बराबरको किनबेच भएको छ। 
 

Tata
GBIME
Nepal Life