कतारमा नाकाबन्दी लागेपनि नेपालबाट जाने रोजगारीमा छैन असर, दैनिक चार सय नेपाली कतार जाँदै

बिजमाण्डू
२०७४ जेठ २४ गते १३:३९ | Jun 7, 2017
कतारमा नाकाबन्दी लागेपनि नेपालबाट जाने रोजगारीमा छैन असर, दैनिक चार सय नेपाली कतार जाँदै
काठमाडौं।अरब देशले कतारलार्इ नाकाबन्दी लगाएपनि तत्कालै नेपालबाट जाने रोजगारीमा भने कुनै असर परेको छैन।वैदेशिक रोजगार व्यवसायीका अनुसार कतारबाट कामदारको मागमा कमी आएको छैन।

Tata
GBIME
Nepal Life

फाइल तस्विर:एएफपी
'कतारमा देखिएको पछिल्लो राजनीतिक घटनाक्रमले कतारको रोजगारीमा कुनै असर परेको छैन।पहिलाजस्तै गरेर डिमाण्ड आइरहेको छ। अझ कतार बाट थप डिमाण्ड आईरहेको छ। कम्पनीले कामदारको माग गरिरहेका छन्। जाने कामदारहर पनि आफ्नो उडान तालिका अनुसार गईरहेका छन्।'नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष बिमल ढकालले बिजमाण्डू सँग भने।

दैनिक चार सय नेपाली कामका लागि कतार जान्छन्।मासिक १० देखि १२ हजार नेपाली कतार कामका लागि जाने गरेका छन्।कतारमा नाकाबन्दी लागेपनि कामदार जाने कम भएका छैनन्।उनका अनुसार कतारमा रहेका एजेन्टले कुनै समस्या नआउने भन्दै कामदार निरन्तर पठाउन आग्रह गरिरहेका छन्।

 
'कतारस्थित हाम्रा एजेन्टहरुले पनि ढुक्कसँग कामदार पठाउन भनेका छन्। हामीले कामदार पठाईरहेका छौ। नयाँ रोजगारीको माग पनि आईरहेको छ। पूर्वस्विकृती र अन्तिम स्विकृती लिरहेकाले कामदार कुनै अवरोधबिना पूरानै अवस्थामा गइरहेका छन्।'बैदेशिक रोजगार विभागका महानिर्देशक बिश्वराज पाण्डेले कतार समृद्ध मुलुक भएकाले केही महिनाको नाकाबन्दीले तत्कालै समस्या नआउने बताए।
 
'कतार नेपाल जस्तो भूपरिबेष्ठित मुलुक होइन। उसको समुन्द्रसँग पहुँच छ। आर्थिक रुपमा पनि सम्पन्न छ। कुटनैतिक रुपमा समस्या समाधान गर्न सक्षम पनि छ। यो समस्या लामो समय रहन्छ जस्तो लाग्दैन।' उनले भने। तर आर्थिक नाकाबन्दी लम्बिएमा निर्माण क्षेत्रको कामदार प्रभावित हुने बताउँदै उनले सरकारले गम्भिर रुपमा नियालिरहेको बताए।


कतारमा करिब पाँच लाख नेपाली कार्यरत छन्। ती मध्ये अधिकांश नेपाली कतारले आयोजना गर्न लागेको सन् २०२२ को विश्वकपकालागि रङ्गशाला निर्माणमा कार्यरत छन्। कतारले निर्माण सामाग्री शतप्रतिशतनै आयात गर्ने भएकाले नाकाबन्दीका कारण ल्याउन नसकिए त्यसबाट निर्माण क्षेत्रमा प्रभाव पर्छ र त्यसको पहिलो प्रभाव नेपालीलार्इ पर्छ।पाण्डेले कतारको समस्या केही महिना लम्बिएमा त्यसको असर पर्ने बताउँदै तत्कालै आत्तिनुपर्ने अवस्था नरहेको बताए।