नयाँ स्टक एक्सचेञ्ज थप्ने बोर्ड अध्यक्षको भनाइमा गभर्नरको प्रत्युत्तर- ‘तत्काल चाहिन्न’

बिजमाण्डू
२०७४ जेठ २५ गते १४:०३ | Jun 8, 2017
काठमाडौं । पूँजी बजारको विकासकालागि निजी क्षेत्र  अगाडि बढ्नु पर्ने नवनियुक्त अर्थमन्त्री ज्ञानेन्द्र कार्कीले बताएका छन्। पूँजी बजारको माध्यमबाट रकम उठाएर आफुले पनि कमाउने र आम जनतालाई पनि धनी बनाउने उपायमा लाग्न उनले निजी क्षेत्रलाई आह्वान गरेका हुन्।
 
नेपाल धितोपत्र बोर्डको रजत जयन्ती अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री कार्कीले पूँजी बजारको विकास मुलुकको आर्थिक विकासको समेत प्रस्थान बिन्दु रहेको उल्लेख गरे। धितोपत्र बोर्डले पूँजी बजार विकासको सम्बन्धमा गरेको उपलब्धीको प्रशंसा गर्दै सरकारका तर्फबाट सक्दो सहयोग गर्ने बचन समेत उनले दिए। 

Tata
GBIME
Nepal Life


 

धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले अहिले बोर्डले ४१५ वटा संस्थालाई नियमन गरिरहेको जानकारी दिए। बजारको आकार निरन्तर रुपले बढिरहँदा नयाँ स्टक एक्सचेञ्जको आवश्यकतामा पनि सकारात्मक तवरले सोच्न उनले अनुरोध गरे। 
 
नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जिवी नेपालले राष्ट्र बैंकले आउँदो आर्थिक बर्षमानै नेपाल स्टक एकचेन्ज (नेप्से) मा रहेको आफ्नो शेयर बेच्ने घोषणा गरे। स्टक एक्सचेञ्जमा निजी क्षेत्रको प्रवेशकालागि सरकार र धितोपत्र बोर्डलाई सकारात्मक भूमिका खेल्न समेत उनले अनुरोध गरे। विश्वका धेरै मुलुकमा चालु रहेका स्टक एक्सचेञ्ज मर्ज भइरहेको सन्दर्भमा नेपालमा नयाँ एक्सचेञ्ज नचाहिने उनको भनाइ थियो।


 

अर्थ मन्त्रालयका राजश्व सचिव राजन खनालले नियामकको रुपमा विवेकसम्मत ढंगले आफ्नो जिम्मेवारी निर्वाह गर्न धितोपत्र बोर्डलाई सुझाव दिए। ‘सबै क्षेत्रमा सरकार  आफैंले नियमन गर्न सक्दैन, उनले भने- सोही कारण फरक फरक नियमनकारी संस्थाहरुको स्थापना भएको हो।’ 
 
पूँजी बजारको दीगो विकासकालागि सूचन प्रविधी र भौतिक पूर्वाधारमा जोड दिन समेत उनले आग्रह गरे। अहिले नयाँ स्टक एक्सचेञ्जको चर्चा सुरु भएको बेला भइरहेको संस्थालाई प्रतिश्पर्धी र क्षमतावान बनाउने जिम्मेवारी पनि बोर्डकै रहेको उनको भनाइ थियो। ‘एउटा संस्थालाई कमजोर बनाएर त्यसको प्रतिश्पर्धी ल्याउन सकिँदैन’ उनले भने।
 
सरकार पनि नेपाल स्टक एक्सचेञ्जमा रहेको आफ्नो शेयर बिक्रीकालागि तयार रहेको उनले जानकारी दिए। सरकारको स्वामित्वमा रहेको नेप्सेको शेयर कर्पोरेट क्षेत्रलाई बिक्रीकालागि पहल गर्न पनि उनले बोर्डलाई अनुरोध गरे।