अब घरबाटै प्रथामिक शेयर आबेदन, बैंक पनि पुग्नु नपर्ने सफ्टवेयर ल्यायो सिडिएससीले

बिजमाण्डू
२०७४ असार २ गते ०९:२३ | Jun 16, 2017
काठमाडौं । केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी)ले घरै बसी बसी प्राथमिक शेयर (आइपिओ) आबेदन दिन पाउने व्यवस्था लागु गर्ने भएको छ। आस्वा सुरु गरेसँगै शेयर भर्न लाइन बस्नु पर्ने झन्झटबाट मुक्ति पाएका लगानीकर्ताले अब बैंक समेत नपुगि घरैबाट आइपिओ आवेदन दिन पाउने भएका हुन्।
 
‘सेन्ट्रलाइज आस्वा’ नामक सफ्टवेयर निर्माण गरि लगानीकर्तालाई यस्तो सुविधा दिन लागेको सिडिएससीका प्रमुख कार्यकारी अधिकृत देबप्रकाश गुप्ताले जानकारी दिए। ‘प्राथमिक शेयर निष्काशन र बाँडफाँड सरलीकृत गर्न भर्खरै निर्माण गरेको ‘बिओआईडी भेरीफिकेसन’ सफ्टवेयर सफल भएको छ, उनले भने- हामीले त्यो भन्दा पनि ‘एडभान्स सफ्टवेयर’  निर्माण गरेका छौँ।’
 
अहिले आस्वा सेवा प्रदायक दुई बैंकले सफ्टवेयरको सफलतापूर्वक परिक्षण गरिसकेको उनले जानकारी दिए। अब चाँडै अरु सबै बैंकमा पुर्याउन लक्ष रहेको उनले बताए। आस्वा प्रदायक सबै बैंकले यो सफ्टवेयर चलाउन थालेसँगै प्राथमिक शेयर आबेदनकर्ताले घरबाटै अनलाइनमा निवेदन दिँदा पुग्ने उनको भनाइ छ।

Tata
GBIME
Nepal Life


 

लगानीकर्ताले एक पटक आफ्नो खाता रहेको बैंक गइ सफ्टवेयरको ‘युनिक कोड’ लिएपछि घरबाटै अनलाईन आबेदन दिन मिल्ने उनले बताए। आस्वा सेवा प्रदायक बैंकले ‘प्रि भेरिफिकेस’ गराइदिए घरबाटै आवेदन दिन मिल्ने व्यवस्था गरिएको हो। बैंकले सेन्ट्रलाइज आस्वा सफ्टवेयर मार्फत सीडीएससीमा भएको विवरण र बैंकमा भएको विवरण जाँच गर्छ। त्यसपछि बैंकले लगानीकर्तालाई एउटा ‘युनिक कोड’ दिन्छ। बैंकबाट एक पटक त्यस्तो कोड लिएपछि सधैँभरि घर बसि बसि आइपिओ हाल्न पाइन्छ।
 
एकजना आवेदकले एउटा निस्कासनमा एक पटकमात्र आबेदन दिन सक्ने ब्यबस्था सफ्टवेयरमा गरिएको छ। कसैले दोहोर्याएर आबेदन दिन खोजे सफ्टवेयरले अटोमेटिक रद्ध गरिदिन्छ। सफ्टवेयरमा पहिलेनै आवेदकको तिनपुस्ते, डिम्याट खाता नम्बर, बैंक खाता नम्बर र नागरिकता नम्बर हुने भएकोले एक जनाले दोहोरो आवेदन दिन सम्भव नहुने गुप्ताको भनाइ छ।
 
सिडीएससीले पछिल्लो समय निर्माण गरेको ‘बिओआईडी भेरीफिकेसन’ सफ्टवेयरले बाँडफाँड लाई छिटो बनएको थियो। साउनबाट कागजी आवेदन फाराम प्रणाली अन्त्य गरि आस्वा अनिबार्य बनाउने नेपाल धितोपत्र बोर्डको तयारी छ। त्यसपछि बाँडफाँड प्रक्रिया झन् छोटो हुने गुप्ताले बताए।

‘सेन्ट्रलाइज आस्वा सफ्टवेयर’ पूर्ण रुपमा प्रयोग भएपछी आबेदन मिति सकिएकै भोलिपल्ट वा पर्सिपल्ट शेयर बाँडफाँड गर्न सकिने उनले जानकारी दिए।