रानीपोखरीको पुनर्जन्म देखि माइतीघरको फ्लाइओभरसम्मले बदल्दैछन् राजधानीको मुहार

बिजमाण्डू
२०७४ असार ४ गते १६:४६ | Jun 18, 2017
काठमाडौं । उपत्यकामा अहिले जताततै भत्किएको दृश्य मात्र देखिन्छ। सहरमा धुलो, धुवाँ र प्रदूषण सामान्य बनिसकेको छ। मेलम्ची खानेपानी वितरणका पाइप बिछ्याउन खनिएका खाल्डा अझै पुरिएको छैन। 
 
साँघुरा र चर्को सवारी चापबीच घण्टौँको जाम पनि महानगरको अर्को चिनारी भइ सकेको छ। वैकल्पिक बाटो नपहिल्याउने हो भने सन् २०३० सम्म उपत्यकाका सडकमा सवारी साधन नअट्ने एक अध्ययनले देखाएको छ। 
 
यस्ता कैयन् चुनौतीबीच पनि काठमाडौं क्रमशः फेरिँदैछ। भूकम्पले ढलेका ऐतिहासिक धरोहर देखि भत्किएका सडकले पनि नयाँ स्वरुप पाउने क्रममा छन्। निर्माणाधिन बिभिन्न सम्पदाले केही बर्ष भित्रै काठमाडौंको स्वरुप बदल्ने अपेक्षा गरिएको छ।
 
ब्युँतिदै रानीपोखरी 
लामो समय विवादमा अल्झिएर निर्माण कार्य अघि बढ्न नसकेको रानीपोखरीको पुननिर्माणको अब हुने भएको छ। रानीपोखरीको फाइनल डिजाइन तयार भएसँगै पुननिर्माण अघि बढ्न लागेको काठमाडौं महानगरपालीकाका शहरी विकास विभागका प्रमुख उत्तरकुमार रेग्मीले बताए। 

Tata
GBIME
Nepal Life


 

महानगरले पोखरी र केन्द्रविन्दुको रुपमा रहेको गोपालेश्वर मन्दिर पुरातत्व विभागले निर्माण गर्ने टुङ्गो भएको हो। महानगरले मन्दिर निर्माणमा आरसीसी ढलान प्रयोग गरेकोमा युनेस्कोले आपत्ति जनाउँदै आएको थियो।
 
लामो विवादपछि पुरातत्व विभाग आफैँले एक करोड ४० लाख रुपैयाँको लागतमा मन्दिर बनाउन लागेको विभागका इन्जिनियर प्रेमराज पोखरेलले जानकारी दिए। आरसीसी ढलान गरेर बनाइएका सिमेन्टको पिलर काट्ने काम भइरहेको समेत उनले बताए। अब पुरातात्विक वस्तुहरुकै प्रयोगबाट मन्दिर निर्माण हुनेछ।


 

रानीपोखरीको सुन्दरतालाई कायम राख्दै हरियाली पार्कका रुपमा विकास गरिने गरि महानगरले डिजाइन समेत तयार गरि सकेको छ। एक बर्षभित्र करिब १० करोड रुपैयाँको लागतमा रानीपोखरीले नयाँ स्वरुप पाउने महानगरको शहरी विकास विभाग प्रमुख रेग्मीले बताए। 
 
काठमाडौं आएपछि घुम्न छुटाउनु नहुने ठाउँको रुपमा रानीपोखरीलाई विकास गर्ने उनले जानकारी दिए। शान्तिवाटिका नजिकै एउटा कफिशप खुल्नेछ। उक्त क्षेत्रमा सानोतिनो कार्यक्रम समेत गर्न मिल्ने गरि ठाउँ व्यवस्थापन गरिने रेग्मीको भनाइ छ। साँझपख घुम्ने उपत्यकाको उत्कृष्ठ ठाउँको रुपमा यसको विकास गरिने उनले दावी गरे।
 
 ‘लामो समयदेखि पुननिर्माण नभएको रानीपोखरीको मुहार नै परिवर्तन गर्ने गरि काम अघि बढाइएको छ’ उनले भने। अब पोखरी फोहोर हुन नदिने र पार्क बनाएपछि सर्वसाधरणका लागि सधैँ खुल्ला गरिने छ उनले जानकारी दिए। ‘दैनिक तीन हजार जनाले यो क्षेत्र भ्रमण गर्ने बताइएको छ’ उनले भने। एक बर्ष भित्रै म्युजिकल फाउन्टेन सहितको रानीपोखरीको उद्घाटन हुने महानगरको दावी छ।
 
ठडिँदै धरहरा 
काठमाडौको सुन्धारामा तीन अर्व ६७ करोड १९ लाख लागतमा धरहरा निर्माण हुने भएको छ। पुरातत्व विभागले बजेट सहितको नयाँ डिजाइन सार्वजनिक गरेसँगै धरहरा ठडिने निश्चित भएको हो। धरहरा निर्माणका लागि नेपाल टेलिकमले चासो देखाएको छ। करिव ४० रोपनीमा क्षेत्रमा बन्ने धरहराको डिजाइन टेलिकमलाई दिइ सकेको विभागको भनाइ छ।


 
सुन्धारमा रहेको नेपाल राष्ट्र बैंक र गोश्वारा हुलाक कार्यालयको जग्गालाई समेत समेटेर ४० रोपनी जमिनमा धराहरा निर्माण गर्न लागिएको हो। हुलाकको लागि चारखालमा रहेको जग्गा महानगरपालिकाले उपलब्ध गराइ सकेको छ।
 
राष्ट्र बैंकको टक्सार कार्यालयले पनि जग्गा माग गरेको छ। तर, आफुहरुले त्यसका लागि राष्ट्र बैंक आफै सक्षम रहेको हुँदा जग्गा खरिद गर्न भनेको महानगरका प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताए। धरहरा बनाउँदा त्यस वरिपरिका व्यापारिक क्षेत्रलाई समेत हुने गरि दुइतले पार्किङ भवन पनि निर्माण गर्ने उनले जानकारी दिए।
 
धरहरा टेलिकम र अन्य बिभिन्न निकाय एवं संस्थाको आर्थिक सहयोगमा बनेपनि सञ्चालन भने महानगरपालिकाले नै गर्नेछ।
 
तिनकुने फ्रि वाइफाइ क्षेत्र
लामो समय त्यत्तिकै खाली रहेको कोटेश्वर तिनकुने क्षेत्रमा फ्रि वाइफाइ सहितको पार्कका रुपमा विकास हुने भएको छ। डम्पिङ क्षेत्रजस्तो बनेको तीनकुनेमा पार्क निर्माण गरि मुहार बदल्न लागिएको महानगरका प्रवक्ता कार्कीले बताए। 


 

तीनकुनेमा विहान वेलुका गएर सुस्ताउन मिल्ने गरि बगैँचा निर्माण हुनेछ। यसअघि तिनकुनेमा सवा अर्ब रुपैयाँ लागतमा शान्ति मण्डला बनाउने निर्णय महानगरले गरेको थियो। मुआब्जा लगाएतका विवादले डिजाइन समेत तयार भइसकेको शान्ति मण्डलाको निर्माण कार्य अघि बढ्न सकेको छैन्।
 
थप समय त्यसै पर्ति राख्दा फोहोरको डङ्गुर थुप्रिन सक्ने डर बढेपछि दुरो रोपेर महानगरले पार्क बनाउन लागेको हो। तत्काल समान्य पार्कका रुपमा विकास गरिने र पछी अन्य योजना अघि बढाइने महानगरका प्रवक्ता कार्कीले बताए। 
 
हरियालीयुक्त सम्पदा मार्ग 
काठमाडौं महानगरपालिकाले टेकुको बाग्मती र विष्णुमतीको दोभानदेखि थापाथलीको कालमोचन घाटसम्म पदमार्ग निर्माण थालेको छ। यो पदमार्ग (हेरिटेज वाक वे) साढे २ किलोमिटर लामो हुने महानगरपालिकाले जनाएको छ। 
 
सन् २०१६ भित्रै सम्पन्न गर्ने गरि काम थालिएपनि केहि ढिला हुन गएको महानगरले जनाएको छ। अहिले धमाधम सम्पदा मार्गमा ढुङगा विछ्याउने काम भइरहेको छ। 


 

बाग्मतीको किनारमा हुर्किएको काठमाडौंको सभ्यता र ऐतिहासिकताको संरक्षण एवं प्रवर्द्धनका लागि सम्पदा मार्गको निर्माण थालिएको हो। महानगरमा हरियाली कम हुँदै गएको बेला सम्पदा मार्गले रुख जोगाउन समेत टेवा पुग्ने जनाइएको छ। यो पदमार्ग निर्माण भएपछि पुराना कला संस्कृतिको संरक्षणमा सहयोग पुग्ने तथा बाग्मती किनार हिँड्न मिल्ने हुने अपेक्षा गरिएको छ। 
 
यो क्षेत्रमा शताब्दिऔँ पुराना विभिन्न पुरातात्विक सम्पदा रहेका छन्। हिन्दु र बौद्ध धर्म सम्बद्ध मठमन्दिर र घाट यो क्षेत्रमा छन्। 


 

परियोजनाका लागि झण्डै ८ करोड रुपैयाँ खर्च हुने जनाइएको छ। एसियाली विकास बैकको ६८ र काठमाडौं महानगरपालिकाको ३२ प्रतिशतको लगानीमा यो सम्पदा मार्ग निर्माण भइ हरेको हो।
 
स्तरोन्नती गरिँदै बालाजु बाइसधारा पार्क 
काठमाडौं महानगरपालिकाले बालाजु बाइसधारा पार्कको समेत स्तरोन्नती गर्ने भएको छ। विगतमा उपत्यका घुम्नेका लागि अनिवार्य जस्तै बनेको बालाजु बाइसधारा पार्क भूकम्पपछि चर्चामा आएको छैन । 


 

प्राकृतिक, धार्मिक र साँस्कृतिक महत्वले भरिपुर्ण यो पार्कमा आन्तरिक पर्यटकको संख्या बढाउन स्तरोन्नती गरिने महानगरको भनाइ छ। पहिलो चरणमा भत्किएको वरिपरिको पर्खाल निर्माणको काम सुरु भएको छ। त्यसपछि पार्कोको भित्री भाग आकर्षक बनाउन गुरुयोजना नै तयार गर्न लागेको रेग्मीले जानकारी दिए। 
 
बन्दैछ काठमाडौं भ्यूटावर
लामो विवादपछि पुरानो बसपार्कमा काठमाडौं भ्युटावर निर्माण सुरु भएको छ। करिव चार बर्ष देखि चर्चामा रहेको बहुउदेश्यीय भवन निर्माणको जिम्मा जलेश्वर स्वच्छन्द विको विल्डर्स कम्पनीले पाएको छ। 
 
निर्माण, सञ्चालन र हस्तान्तरण (बुट) प्रणाली अन्तर्गत महानगरपालिकाले चार बर्ष अघि नै परियोजना निर्माणको जिम्मा कम्पनीलाई दिएको थियो । अख्तियार अनुसन्धान आयोगमा उजुरी परेपछि निर्माण प्रक्रियामा ढिलाइ भयो।


 

विभिन्न समस्या आए पनि सुल्झाउँदै लगेरको र अब यसलाई निर्माण गरिने कम्पनी जनाएको छ। टावरलाई व्यापारिक केन्द्रका रुपमा विकास गरिने छ। टावरभित्र मनोरञ्जन हल, बैंक, अस्पताल, फिल्म हल, रेष्टुरेण्ट, पुस्तकालय लगायत विभिन्न किसिम खाले पसलका सटर रहनेछन्। टावरका सबै तला २४ सै घण्टा खुल्ला रहने जनाइएको छ। अण्डर ग्राउण्डमा पार्किङको व्यवस्था गरिने छ।
 
काठमाडौं सहर हेर्ने गरि बनाइन भ्यू टावर १२ तलाको हुनेछ। निर्माण सामाग्रीहरु आइ सकेको हुँद अब छिट्टै टावर बन्न थाल्ने महानगर प्रवक्ता कार्कीले बताए। तीन बर्ष भित्र टावर निर्माण पुरा गर्ने लक्ष राखिएको छ।
 
त्रिपुरेश्वर-माइतीघर ४ लेनको फ्लाइ ओभर 
त्रिपुरेश्वर देखि माइतीघर मण्डलासम्म निर्माण हुन लागेको फ्लाइ ओभरको अध्ययन अन्तिम चरणमा पुगेको सडक विभागको वैदेशिक महाशाखाका प्रमुख सञ्जय श्रेष्ठले बताए। 
 
जापानी सहयोगमा सञ्चालित ‘अर्वन ट्रान्सपोर्टेसन इम्प्रुभमेन्ट फर काठमाडौं भ्याली’ योजना अन्तर्गत फ्लाइओभर निर्माण गर्न लागिएको हो। विभागले यसलाइ पाइलट प्रोजेक्ट रुपमा हेरेको  छ। त्यसपछि सन् २०३० पछि काठमाडौंको सडक आउन सक्ने सवारी चापलाई ध्यान दिएर अन्यत्र पनि यस्ता फ्लाइ ओभर निर्माण गर्ने बिभागले जनाएको छ।


 

कुल लम्बाइ १.४ किलोमिटर हुने यो फ्लाइ ओभर दुइलेनको बनाउने जापान सहयोग नियोग (जाइका)ले प्रस्ताव गरेको थियो। तर, विभागले चार लेनको बनाउनु पर्ने बताएपछि त्यही अनुसार अध्ययन भइ रहेको महाशाखा प्रमुख श्रेष्ठले बताएका छन्। 
 
फ्लार्इ ओभर त्रिपुरेश्वरबाट दशरथ रंगशालाको छेउ हुँदै आर्मी हेडक्वार्टर पुग्नेछ। त्यहाँबाट थापाथली क्याम्पस हुँदै माइतीघर मण्डलामा पुर्याइने जनाइएको छ। प्रारम्भिक अध्ययन अनुसार उक्त फ्लाइ ओभर निर्माण गर्न ४९ वटा भवन अधिग्रहण गर्नु पर्नेछ। 
 
विभाग र जाइकाले संयुक्त रुपमा फ्लाइ ओभर अध्ययन थालेको एक बर्ष भइसकेको छ। अब केहि महिनामै अध्ययन पुरा गर्ने श्रेष्ठले बताए। त्यस लगत्तै निर्माण प्रकृया सुरु हुने जनाइएको छ। यो फ्लाइ ओभर अमेरिका र युरोपमा जस्तै आधुनिक र सुविधा सम्पन्न हुने उनको भनाइ छ। फ्लाइ ओभरको लागत करिब ९ अर्ब रुपैयाँ पुग्ने उनले जानकारी दिए।
 
कलङकीमा नेपालकै पहिलो अण्डरपास  
राजधानी सहर छिर्ने प्रमुख नाका कलंकी चोकमा नैपालकै पहिलो अण्डरपास निर्माण भइ रहेको छ। अब एक बर्ष भित्र निर्माण सम्पन्न हुने गरि काम भइ रहेको चक्रपथ विस्तार आयोजना प्रमुख ज्ञानेन्द्र कुमार झाले बताए। 

भूकम्प र नाकाबन्दीका कारण आयोजनाले निर्माण समय थप गरेर २०१८ जुलाइसम्म पुर्याएको हो। अहिले लगभग ५० प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको छ। आयोजना सन् २०१३ मा स्थापना भएको थियो भने २०१७ सम्म कलंकी अण्डरपास निर्माण सक्ने योजना थियो। भूकम्प र नाकाबन्दीका कारण ढिला भएको प्रमुख झाले बताए। निर्माण सम्पन्न भएपछि काठमाडौंबाट भित्रिने/बाहिरिने एवं रिङरोडमा गुड्ने गाडीले पालो पर्खनु पर्दैन। 
 



चीन सरकारको अनुदानमा निर्माणाधिन अण्डरपास ८०० मिटर लामो छ। चीनको करिब पाँच अर्ब रुपैयाँ सहयोगमा चक्रपथ विस्तार आयोजना सुरु भएको थियो। 
 
यति मात्र होइन अहिले विस्तारै भूकम्पबाट भत्किएका काठमाडौंका मठमन्दिर र देवालय पनि पुनर्निर्माणको क्रममा छन्। काठमाडौंको मुख्य आकर्षण काष्ठमण्डपको पनि पुनर्निर्माण हुदै छ।
 
अरु सडक पनि क्रमशः विस्तार र स्तरोन्नती हुँदैछन्। काठमाडौं महानगरपालिकाले उज्यालो काठमाडौँ कार्यक्रम अन्तर्गत पाँच बर्षभित्र महानगरका सबै क्षेत्रमा सोलार बत्ती जडान गर्ने लक्ष्य लिएको छ।