स्प्रेड दर ५ % भन्दा तल झार्ने राष्ट्र बैंकको संकेत, विकास बैंक र फाइनान्स नरहने नै हुन्?

बिजमाण्डू
२०७४ असार ५ गते १५:५३ | Jun 19, 2017
काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंकहरुले निक्षेपमा दिने र कर्जामा लिने ब्याजको अन्तर (स्प्रेड) दर पाँच प्रतिशतभन्दा तल झार्ने संकेत गरेको छ। संवैधानिक निकायबाट आएको सुझाव र अन्तर्राष्ट्रिय अभ्यास अनुसार स्प्रेड दर घटाउने संकेत गरेको हो।
 
आगामी आर्थिक बर्षको मौद्रिक नीतिका लागि सोमबार सुझाव संकलनका लागि आयोजना गरेको कार्यक्रममा राष्ट्र बैंकले स्प्रेड दर घटाउने संकेत गरेको छ।
 
'अहिले पाँच प्रतिशत स्प्रेड दर छ। यो बढि भयो यसलाई घटाउनु पर्छ भनेर सुझाव आएको छ' राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक नरवहादुर थापाले भने, 'अन्तर्राष्ट्रिय अभ्यासमा पनि यो तीन प्रतिशत हाराहारी छ।'
 
उनले आगामी मौद्रिक नीतिमा स्प्रेडका बारेमा पनि आवश्यक संवोधन गर्नु पर्ने बताए। 'भारतमै पनि तीन प्रतिशत स्प्रेड दर छ' उनले भने, 'हामीले पनि यसलाई केही संवोधन गर्नु पर्छ। मौद्रिक नीतिमा यस बारेमा केही चर्चा गर्नु पर्ने देखिएको छ।'
 
उनले सरकारले ल्याएको पाँच बर्षे वित्तीय क्षेत्र रणनीति अनुसार युनिभर्सल बैंकिङमा जानु पर्ने भएकाले त्यसका लागि पनि मौद्रिक नीतिले केही चर्चा गर्नु पर्ने बताए।
 
यस अवधारणा अनुसार क वर्गको बाणिज्य बैंक र घ वर्गको लघुवित्त विकास बैंकको मात्र अस्तित्व हुने छ। 
 
युनिभर्सल बैंकिङको अवधारणा आएपछि विकास बैंक र फाइनान्स कम्पनी अस्तित्व के हुने भन्ने बारे अनिश्चताको अवस्था खड्केको फाइनान्स कम्पनी संघका अध्यक्ष सरोजकाजी तुलाधरले बताए।
 
'अब के हुन्छ त भनेर राष्ट्र बैंकले स्पष्ट पार्न जरुरी छ' उनले भने। 

Tata
GBIME
Nepal Life