विल गेट्सको कम्पनी २४ वर्षपछि घाटामा

बिजमाण्डू
२०६९ साउन ५ गते ००:०० | Jul 20, 2012

न्युयोर्क । विश्वको प्रमुख प्रविधी कम्पनी माइक्रोसफ्ट इतिहासमै पहिलो पटक नोक्सानी व्यहोरेको छ । सन् १९७५ मा स्थापित सूचना प्रविधि क्षेत्रको विग थ्रिमा पर्ने कम्पनीले २०१२ दोस्रो त्रैमासमा ४९ करोड २० लाख डलर  नोक्सानी व्योहोरेको छ ।

Tata
GBIME
Nepal Life

सन् १९८६ मासेयर बजारमा सूचीकृत भए यता कम्पनीले नोक्सानी व्योहोरेको थिएन । माइक्रोसफ्टले गुगलसँग प्रतिस्पर्धा गर्न सन् २००७ मा खरिद गरेको अनलाईन विज्ञापन कम्पनी एक्वान्टिभले अपेक्षित नाफा दिन नसक्दा कम्पनी नोक्सानीमा गएको हो ।
एक्वान्टिभलाई खरिद गर्दा तिर्नुपरेको ६.२ अर्ब डलर अपलेखन (राईट अफ) गर्दा कम्पनीलाई ऐतिहासिक घाटा भएको कम्पनीले जानकारी दिएको छ । सन् २०११ को दोस्रो त्रैमासमा कम्पनीले ५.९ अर्ब डलर नाफा आर्जन गरेको थियो ।
६.३ अर्ब डलर खर्चेर खरिद गरे पनि गुगल एडसँगको प्रतिस्पर्धामा एक्वान्टिभ कमजोर देखिए पछि माइक्रोसफ्टसँग अपलेखन गर्नुको विकल्प थिएन । नोक्सानीका वाबजुद कम्पनीको आम्दानीमा भने बृद्धि भएको छ । अप्रिलदेखि जुनसम्मको तीन महिने अवधिमा माइक्रोसफट्ले १८ अर्ब  डलर आम्दानी गरेको छ । जुन अघिल्लो वर्षको सोहि अवधिको तुलनामा ४ प्रतिशतको वृद्धि हो । नोक्सानीका बाबजुद माइक्रोसफ्टको सेयर मूल्य १.६ प्रतिशतले बढेको छ । कम्पनीले अक्टोबरको अन्तिम साता बजारमा ल्याउने घोषणा गरेको विण्डोज ८ प्रति लगानीकर्ताको उच्च विश्वास भएका कारण सेयर मूल्य बढेको बताइएको छ । यसैगरी कम्पनीले आफ्नै ट्याबलेट सर्फेस बजारमा ल्याउने घोषणा गरेको छ ।