एघार महिनामा चन्द्रागिरि केबलकारमा साढे पाँच लाख यात्रु चढे, राजस्व मात्रै ६ करोड तिरेको दाबी

बिजमाण्डू
२०७४ असार ८ गते ०७:५४ | Jun 22, 2017
काठमाडौ।नेपालको दोस्रो केबलकार चन्द्रागिरिमा एघार महिनाको अवधिमा साढे पाँच लाख यात्रु चढेका छन्।

Tata
GBIME
Nepal Life

मनकामना केबलकार निर्माण भएको झण्डै १७ वर्षपछि संचालनमा आएको दोस्रो केबलकारमा समेत यात्रुको आकर्षण उत्साहजनक देखिएको छ।यो केबलकारको औपचारिक उद्घाटन मंसिर ३० गते तात्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले गरेका थिए।औपचारिक उद्घाटन अघिदेखिनै यात्रुहरुलार्इ केबलकार चढ्न खुला गरिएको थियो।

चन्द्रागिरी हिल्सका अनुसार नयाँ वर्षको दिनमा मात्रै १० हजार यात्रुले केबलकार चढेका थिए।चन्द्रागिरि हिल्स एवं आर्इएमर्इ समूहका अध्यक्ष चन्द्र ढकालले ११ महिनाको अवधिमा साढे पाँच लाख यात्रुले केबलकारको यात्रा गरेको बताउँदै सरकारलार्इ ६ करोड रुपैयाँ राजस्व बुझाएको बताए।साढे तीन अर्ब रुपैयाँ लगानीमा निर्माण भएको चन्द्रागिरी केबलकारसहित विभिन्न संरचना उपत्यकाबासीका लागि घुम्ने गन्तब्य बनेको छ।आर्इएमर्इ र भाटभटेनी समूहको लगानीमा निर्माण भएको केबलकारसहित होटल समेत निर्माण हुँदैछ।


कम्पनीका संचालक अम्बिकाप्रसाद पौडेलले चन्द्रागिरि क्षेत्रको वनजंगल संरक्षण गरेर पूर्वाधार निर्माण गरिएको बताउँदै वनजंगल विना केवलकार लगायतका पूर्वाधारको कुनै अर्थ नरहेको समेत बताए।भाटभटेनी समूहका अध्यक्ष एवं चन्द्रागिरि हिल्सका संचालक मीनबहादुर गुरूङले चन्द्रागिरि केबलकार लगायत पूर्वाधारले पर्यटन प्रवर्द्धनसँगै मुलुकको अर्थतन्त्रमा समेत महत्वपूर्ण योगदान दिने बताए।
 
काठमाडौंको सबैभन्दा अग्लो स्थान चन्द्रगिरिको उचाइ २५५१ मिटर रहेको छ । चन्द्रागिरीको चुचुरोमा महादेव पुग्दा सतिदेवीको भाल अर्थात् निधार पतन भएको र शिवलिङ्ग उत्पति भएको हिमवत खण्डको ९८ र ९९ औं अध्यायमा वर्णन गरिएको छ। 
 
चन्द्रागिरी पहाड ऐतिहासिक रुपले महत्वपूर्ण स्थान समेत हो। नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहले सबैभन्दा पहिले चन्द्रागिरीबाट नै यो सुन्दर काठमाडौं उपत्यकाको अवलोकन गरेको ऐतिहासिक रुपमा उल्लेख छ।
 
चन्द्रागिरिको टिभिसी आयो
चन्द्रागिरि केबलकारको टेलिभिजन विज्ञापन बुधवार सार्वजनिक गरिएको छ।यो विज्ञापनमा मदनकृष्ण श्रेष्ठ,हरिवंश आचार्य,दीपकराज गिरी र दीपाश्री निरौलाले अभिनय गरेका छन्।