ढकालको हालिमुहालीले कमजोर बन्दै उद्योग बाणिज्य महासंघ, निर्वाचित पदाधिकारीमाथि चण्डी हावी

अनन्तराज न्यौपाने/बिजमाण्डू
२०७४ असार ९ गते ११:३२ | Jun 23, 2017
ढकालको हालिमुहालीले कमजोर बन्दै उद्योग बाणिज्य महासंघ, निर्वाचित पदाधिकारीमाथि चण्डी हावी
विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई) अध्यक्षमा दोस्रो कार्यकालका लागि चुनाव लड्दा हारेर ९ बर्ष अघि बाहिरिएका चण्डीराज ढकालको पछिल्लो समय संस्थामा हाली मुहाली बढेसँगै विवाद चर्किन थालेको छ। महासंघको प्रदेश निर्वाचनताका बिवाद सतहमा छताछुल्ल भएको हो। 

Tata
GBIME
Nepal Life


 

मुलुक संघीय स्वरुपमा गएपछि निजी क्षेत्रको सबैभन्दा ठूलो सञ्जाल रहेको महासंघले समेत संघीय संरचना अनुसार सांगठनिक ढाँचा परिवर्तन गरेको थियो। त्यस अनुरुप प्रदेशको निर्वाचन हुँदा भने विधान मिचेर पदाधिकारी चयन भएको खुलेको छ। पूर्व अध्यक्ष ढकालले आफु निकटका व्यक्तिलाई पदाधिकारीमा ल्याउन विधान मिचेकम हुन्।
 
महासंघको जिल्ला तथा नगर उद्योग बाणिज्य संघमा बलियो पकड बनाएर हरेक चुनावमा प्रभावशाली देखिएका ढकालले प्रदेश कार्यसमितिमा आफ्नो बर्चश्व गुम्ने डरले विधान मिचेको स्रोतको भनाइ छ। उनले महासंघ प्रदेश नम्बर १ को निर्वाचनमा उद्योग बाणिज्य संघले सिफारिस नै नगरेको व्यक्तिलार्इ उपाध्यक्ष र कोषाध्यक्षमा ल्याएका छन्।
 
मोरङ व्यापार संघले सिफारिस नगरेका व्यक्तिलार्इ उपाध्यक्ष र कोषाध्यक्ष ल्याएको भन्दै संघका अध्यक्ष पवनकुमार शारडाले छानविन समिति बनाउनुपर्ने माग गरेका छन्। गत जेठ २२ गते भएको निर्वाचनमा ढकालकै जोडबलमा राजेन्द्र राउत उपाध्यक्ष र रमेश राठी कोषाध्यक्ष चुनिएका थिए।
 
राउत मोरङ व्यापार संघका पूर्व वरिष्ठ उपाध्यक्ष र राठी पूर्व उपाध्यक्ष हुन् । ‘यो निर्वाचन विधान र नियमावली विपरीत छ’, अध्यक्ष शारडाको प्रश्न गर्छन्- ‘राउत र राठीलाई व्यापार संघले सिफारिस नै गरेको छैन । सिफारिस नै नगरी कसरी उहाँहरू प्रदेशको उपाध्यक्ष र कोषाध्यक्ष निर्वाचित हुनुभयो?’
 
महासंघको विधानअनुसार प्रदेशमा निर्वाचित हुने पदाधिकारीलाई सम्बन्धित उद्योग वाणिज्य संघले सिफारिस गरेको हुनु पर्ने उनको दावी छ। दुबै पदमा उम्मेद्वार हुने योग्यतामा सम्बन्धित जिल्ला, नगर वा वस्तुगत संघको पदाधिकारी हुनु पर्ने व्यवस्था विधानमा रहेको छ। त्यसको मतलव सम्बन्धित संघको सिफारिसनै भनेर बुझिने उनले दावी गरे। साथै प्रदेश १ चुनाव महासंघका कुनै पनि आधिकारिक प्रतिनिधि र पदाधिकारी बिना गरिएको समेत उनले बताए।
 
‘चण्डी ढकालले महासंघको आधिकारिक प्रतिनिधित्व गर्न सक्नुहुन्न’, उनको भने, ‘यस्ता पूर्व अध्यक्ष त धेरै जना हुनुन्छ। उहाँहरुले आफुलाई सधैं केन्द्रको प्रतिनिधित्व ठान्ने हो भने त नयाँ कार्यसमिति किन्न चुन्नु पर्यो र?’ ढकालले गुण्डागर्दीको शैलीमा निर्वाचन गराएको आरोप समेत उनले लगाए।
 
‘प्रहरी–प्रशासनलाई प्रभावमा पारेर, असहमति व्यक्त गर्न खोज्ने कसैलाई पनि पस्न नदिएर एकलौटी ढङ्गले यो निर्वाचन गरिएको हो’ उनले भने।
 
तर, महासंघका केन्द्रिय सदस्य एवं विराटनगरका अर्का व्यवसायी अविनाश बोहोराले भने विधान अनुसार निर्वाचन भएको बताउँदै प्रदेश पदाधिकारी हुन जिल्ला/नगर उद्योग वाणिज्य संघको सिफारिश नचाहिने दावी गरे। प्रदेश एकको निर्वाचनलाई अवैध भन्नेले प्रदेश उद्योग वाणिज्य महासंघको गठन तथा सञ्चालनसम्बन्धी नियमावली पढ्न  उनको सुझाव छ।
 
प्रदेशको उपाध्यक्ष र कोषाध्यक्ष हुने योग्यतामा कतै पनि सम्बन्धित जिल्ला नगर उद्योग बाणिज्य संघको सिफारिस चाहिन्छ भन्ने वाक्य नरहेको उनको दावी छ। 
 
प्रदेश चुनाव- ढकाललाई प्रभाव विस्तारको मौका
अध्यक्षको दोस्रो कार्यकालका लागि चुनाव लड्दा कुशकुमार जोशीसँग हारेर बाहिरिए पनि जिल्ला नगरमा रहेको पकडका कारण महासंघको राजनीतिमा ढकाल बलियो देखिँदै आएका छन्। प्रायः सबै पुर्व अध्यक्षहरु आ-आफ्नो व्यवसायमा सकृय रहि महासंघमा अविभावकको भूमिकामा सिमित रहे पनि ढकाल भने अप्रत्यक्ष रुपमा कार्यकारी सरहकै व्यवहार गर्दै आएका छन्। 


 

पछिल्लो समय भइ रहेको प्रदेश कार्यसमिति चुनावलाई उनले आफ्नो प्रभाव विस्तारको अवसरको रुपमा लिएका छन्। सबै प्रदेश निर्वाचनमा उनी प्रमुख अतिथिको रुपमा पुगि रहेका छन्। नयाँ नेतृत्व चुनिएसँगै उनी आफैंले जिते जसरी माला लगाएर फोटो खिचाउँछन्। जिल्ला नगर क्षेत्रमा आफुलाई तुरुपको एक्काको रुपमा राखि रहन र भोलीको नेतृत्वलाई समेत प्रभाव पार्न उनले यसो गरेको महासंघको अधिकारीहरु बताउँछन्।
 
महासंघ अध्यक्ष भवानी राणा लगायत पदाधिकारीले समेत ढकाललार्इ असिमित अधिकार दिएका छन्। सोही कारण उनको मनोबल बढेको हो। स्रोतका महासंघका हरेक निर्णयमा ढकाल हाबी हुने गरेका छन्। सदस्य नियक्ती देखि कारबाहीसम्मको निर्णयमा पदाधिकारीले ढकालको इसारामा मानेको स्रोतको भनाइ छ।