बिहारमा ‘सराब बन्दी’को फाइदा मधेसलाई, धमाधम खुल्न थाले मदिरा उद्योग, अर्बौँ लगानी

बिजमाण्डू
२०७४ असार १० गते १२:५६ | Jun 24, 2017
वीरगञ्ज । सिमावर्ती बिहारमा मदिरा प्रतिबन्ध लागेपछि नेपालको तराईका जिल्लालाई फाइदा पुगेको छ। बिहारमा मदिरा बिक्री वितरणमा रोक लागेसँगै एक बर्ष यता तराईमा कारोबार बढेको थियो। पछिल्लो समय मधेशका जिल्लामा मदिराजन्य उद्योगहरु धमाधम खुल्न थालेका छन्।
 
मध्य तराईको बारा, पर्सा र रौतहटमा १२ वटा मदिरा उद्योग सञ्चालनमा छन् भने र केही खुल्ने क्रममा छन्। एक वर्ष यता पर्सामा ३, बारामा एक गरी चार उद्योग थपिएका हुन् भने भने रौतहटमा छिटै नयाँ बियर उद्योग खुल्ने क्रममा छ।

Tata
GBIME
Nepal Life


पर्सामा नवलकिशोर चौरसिया सञ्चालक रहेको अरुणोदय डिस्टिलरी,  श्रीराम हल वीरगंजका सञ्चालक रामदेव प्रसाद कलवारको लगानी रहेको जयश्री धौलागीरी डिस्टीलरी र हिमालयन डिस्टीलरीका पुर्व इन्जिनियर प्रेम चौहानको लागनी रहेको एक्शन वाइन प्राली केही महिना अघि मात्रै सञ्चालनमा आएका छन्। २०५२ सालमा लिपनी विर्तामा जावलाखेल डिस्टीलरी समुहको हिमालयन डिस्टीलरी खुलेपछि पर्सामा मदिरा उद्योगको ढोका खुलेको थियो। 
 
त्यसयता एशियन डिस्टीलरी, स्नोलैण्ड डिस्टीलरी, उदयपुर डिस्टीलरी सञ्चालनमा आए। पर्साको राजस्व असुलीमा पनि मदिरा उद्योगको महत्वपुर्ण योगदान रहेको आन्तरिक राजस्व कार्यालय पर्साले जनाएको छ। हिमालयन डिस्टीलरी पर्साकै 'टप टेन' करदाता मध्येमा पर्छ।
 
बारामा हालै खुलेको बारा डिस्टीलरी र पहिल्यै स्थापित भवानी डिस्टीलरी गरी दुई उद्योग सञ्चालनमा छन्। बाराको सिमरामा अर्को एउटा मदिरा उद्योग खुल्न लागेको हो। रौतहटको गरुडामा एक बर्ष भित्र नयाँ बियर उद्योग सञ्चालनमा आउने भएको छ। कन्हैयालाल गुप्ता सञ्चालक रहेको ओम ब्रुअरीले लाइसेन्स पाइ सकेको हो। करिब ५ बिघा क्षेत्रफलमा खुल्ने उद्योगमा एक अर्ब रुपैयाँ बढी लगानी हुने सञ्चालक गुप्ताले जानकारी दिए। यो बियर उद्योगमा प्रत्यक्ष, अप्रत्यक्ष गरी करिब ३०० जनाले रोजगारी पाउने जनाइएको छ। उद्योगको भौतिक संरचनाको निर्माण चाँडै शुरु हुनेछ।

यस अघि रौतहटमा बाबा, एभरेस्ट र ज्योती गरी तीन मदिरा उद्योगमा थिए। प्रदीपशमशेर राणाको लगानी रहेको बाबा डिस्टीलरी जिल्लाको सबैभन्दा पुरानो मदिरा उद्योग हो। ज्योतीमा पनि राणाकै लगानी रहेको छ। एभरेष्ट भने व्यवसायी बैजु प्रसादले स्थापना गरेका हुन्।
 
बिहारमा मदिरा प्रतिवन्धसँगै पुराना कम्पनीको बिक्री बढेपछि नयाँ उद्योग खुल्ने क्रमले तिब्रता पाएको हो। तराईको जिल्लामा मदिरा बिक्री दैनिक रुपमा बढि रहेको वीरगञ्ज मदिरा व्यवसायी संघका अध्यक्ष रामाधार प्रसादले बताए। सानो पसल देखि ठुला होटलसम्म मदिराको कारोबार पछिल्लो एक वर्षयता ह्वातै बढेको उनले बताए। 
 
बिहारमा गत वर्ष देखि नितिश कुमार सरकारले मदिरा प्रतिबन्ध लगाएपछि तराईका जिल्लामा कारोबार व्यवसाय फस्टाएको हो। बिहारसँग जोडिएका तराईका जिल्लामा दिनहुँ हजारौँ भारतीय मदिरा पिउन नेपाल आउने गरेको छ। यसले तराईको होटल व्यवसायमा पनि सुधार आएको छ।